सर्वाेच्चको पछिल्लो फैसलाले ल्याएको तरंग

ईश्वरी काफ्ले

सम्मानित सर्वोच्च अदालतले लामो समयदेखि विचाराधिन रहेको नेपाल कम्युनिस्ट पार्टीसम्बन्धी मुद्दामा फैसला सुनाउँदै पूर्व नेकपा (एमाले) र माओवादी केन्द्रलाई ब्युताइदिएपछि मुलुकको राजनीति फेरि अर्को ढंगले तरंगित भएको छ । सर्वोच्चले नेपाल कम्युनिस्ट पार्टी, त्यसका वास्तविक हकदारलाई मात्र दिएन । झण्डै कर्नरमा पुगिसकेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई जीवनदान दिएको छ । ओलीले पाएको यो जीवनदानले सबैभन्दा निरीह पुष्पकमल दाहाल (प्रचण्ड) भएका छन् । साच्चै भन्नुपर्दा प्रचण्डलाई अहिले ‘भुइँको टिप्न खोज्दा पोल्टाको खस्यो’ भन्ने उखान चरितार्थ भएको छ ।

एमाले र माओवादी ब्युतिएसँगै प्रचण्डको साथ रहेका पूर्व एमाले आफ्नै घर फर्कने र ओली पक्षमा लागेका पूर्वमाओवादी केन्द्रका नेता भने उतै ओलीसँगै रहने भएपछि प्रचण्डका लागि यो उखान चरितार्थ भएको हो । अब प्रचण्डले कांग्रेस, राजपासँग मिलेर सत्ता यात्रा गरे पनि ओलीलाई कुनै नोक्सान नहुने भएको छ । उनीसँग रहेका केही सांसद पनि अब ओलीतिरै लागेपछि वा एमालेमा समाहित भएपछि उनको हालत खराब नै रहनेछ ।

सर्वोच्चले प्रतिनिधिसभा पुनःस्थापना गरिदिँदा ओली लगभग कर्नरमा परेका थिए । उनी एककिसिमले घेराबन्दीमा परेका थिए । उनले जति नै आत्मविश्वास व्यक्त देखाए पनि अविश्वासको प्रस्ताव आउँदा वा विश्वासको मत लिनुपर्दा उनले सत्ता छाड्नुपर्ने पक्काजस्तै थियो । तर, सर्वोच्चको पछिल्लो फैसलाले ओली मात्र होइन नेपाली राजनीतिमा ठूलो पराकम्प ल्याएको छ । यद्यपि यसका केही कानुनी जटिलता अवश्य छन् ।

माधव नेपालको अवस्था
नेपालमा एमालेका नेता माधव नेपाल अन्यभन्दा निष्ठाको राजनीति, नैतिकवान, सादगी जीवनशैलीले परिचित छन् । मदन भण्डारीको अवसानपछि उनले लामो समय एमालेको बागडोर सम्हाल्दा खासै विवादास्पद काम गरेका थिएनन् । पहिलो प्रतिनिधिसभाको निर्वाचनमा उनी दुई स्थान (रौतहट र काठमाडौं) बाट चुनाव हारे पनि संविधानसभामा मनोनीत भएर प्रधानमन्त्रीसम्म बन्न भ्याएका थिए । यस मानेमा एमालेका उनी एमालेमा भाग्यमानी नेताका रूपमासमेत चिनिन्छन् । जबकी उनलाई प्रधानमन्त्री बनाउन केपी शर्मा ओलीको बलियो साथ थियो । तर, पछिल्लो समयमा उनको यो लोकप्रियता स्वात्तै घटेको छ । यसको उदाहरण उनी प्रचण्डको साथ लागेर नेकपा फुटाउँदा उनलाई यसअघि साथ दिँदै आएका धेरैले निको मानेनन्, उनलाई साथ दिएनन् । हुन त उनको लोकप्रियताको ग्राफ एकैपटक पछिल्लो घटनाक्रमले स्वात्तै घटेको भने होइन ।

जतिबेला पहिलो संविधानसभाको पछिल्लो समय, जब नेपालले आफ्नो संविधान आपैmँ बनायो भारतले नेपालमा नाकाबन्दी लगायो । नाकाबन्दीकैबीच ओली प्रधानमन्त्री बने । ओलीले नाकाबन्दीविरुद्ध लिएको अडानले उनको लोकप्रियता शिखरमा पुगेको थियो । माधव नेपालले आलीले पाएको त्यो लोकप्रियता पचेको देखिएन । जुन ओलीविरुद्ध अविश्वास प्रस्तावमा उनले संसद्मा बोलेका कुराले देखियो । त्यतिबेलै माधव नेपालको राम्रो पक्षलाई उनको अरूको प्रगति देख्न नसक्ने, ईष्र्या, डाह गर्ने र कुण्ठा पाल्ने कामले ओझेलमा पारेको देखियो । जब प्रतिनिधिसभाको निर्वाचन सकियो उनले आफूलाई सधैँभरी साथ दिँदै आएका ओलीलाई संसदीय दलको नेता बन्न नदिने नीति अख्तियार गरे । नेपालसँग कहिल्यै नमिलेका झलनाथ खनाललाई उचालेर उनी ओलीमाथि खनिए । त्यसमा उनको नराम्रो हार भयो । त्यसपछि एमाले नवौं महाधिवेशनमा उनी फेरि ओलीसँगै हारे । यो दुईपटकको हारलाई उनले लोकतान्त्रिक प्रक्रियामा यस्तै हुन्छ भनेर चुप लागेर बसेनन् । ओलीसँग बदलाको भावना भित्रभित्रै पालेको प्रष्ट देखियो ।

प्रचण्डको अवस्था
उनको अवस्थामाथि नै केही विवेचना गरियो । प्रचण्डले कहिल्यै लोकतन्त्र, बहुदलीयतालाई मानेको देखिएन । भलै बोलीमा उनले आफू फेरिएको बताउने गरेका छन् । संसद् पुनःस्थापना हुँदा ओलीले अदालतको मानहानी हुने गरी केही बोलेको वा त्यस फैसलाकाविरुद्ध कुनै कदम चालेका भए अहिले प्रचण्डले अदालतको फैसला पटक्कै मानेका थिएनन् । यसमा माधव नेपाल लगायतको साथ रहने थियो । वा प्रतिनिधिसभा विघटनको मुद्दामा अदालतले अहिलेभन्दा फरक फैसला गरेको भए, प्रचण्डले मुलुकमा सहज अवस्था रहन दिने थिएनन् । यहाँ बन्द हड्तालको सिलसिला सुरु हुन्थ्यो । जसको ट्रेलर देखिइसकेको थियो । प्रचण्ड कहिल्यै महाधिवेशनद्वारा निर्वाचित अध्यक्ष भएनन् । जबकी उनको पार्टीको प्रमुख रहेको ३३ वर्ष पुगेको छ ।

उनले घोषित रूपमै संसदीय व्यवस्थालाई ‘बोकाको टाउको झुन्ड्याएर कुकुरको मासु बेच्ने थलो’ भनेका छन् । उनी ०५१ सालमै बन्दुकको नालबाट राज्य सत्ता कब्जा गर्न हिँडेका हुन् । उनले राज्यविरुद्ध सशस्त्र विद्रोह गर्दा धेरै अनाहकमा ज्यान गुमाएका छन् । उनले त्यसप्रति क्षमा याचना गरेका छैनन्, बरु अझै फागुन १ गते कथित जनयुद्ध दिवस मनाउँदै आएका छन् । उनी अझै सो कथित ‘जनयुद्ध’ लाई ‘महान’ नै भनिरहेका छन् । पछिल्लो अवस्थामा एमालेमा एकीकरण हुनु र त्यसलाई फोर्ने उनको रणनीति संसदीय व्यवस्थालाई पंगु बनाउने दिसातर्फ नै अग्रसर थियो ।

एमालेका एकीकरण भएपछि उनले पार्टीको कार्यकारी अध्यक्ष पाएकै थिए । हरेक राजनीतिक नियुक्तिमा ४० प्रतिशतको हिस्सा पाएकै थिए । उनले नपाएको केही थिएन । कार्यसम्पादन मूल्यांकनमा सबैभन्दा कमजोर उनकी बुहारी खानेपानी मन्त्री बिना मगरले मन्त्री पदको निरन्तरता पाएकै थिइन् । ज्वाइँ र भाइलाई राजदूत दिलाएकै थिए । उनले ओलीसँग वैमनस्य राख्नुपर्ने कारण केही थिएन । तर, उनले यही संसदीय व्यवस्थालाई पंगु बनाउनकै लागि केही कर्नरमा पारिएका माधव नेपालको महात्वाकांक्षा जागृत गराएर फुटको दिसामा डो¥याए । यसले उनी नेपालमा यो व्यवस्था नै अफाप छ, ‘जुन जोगी आए पनि कान चिरेका’, जसले बहुमत ल्याए पनि यो व्यवस्थै यस्तैको स्थायित्व हँुदैन भन्ने जनमानसमा वितृष्णा छर्न चाहन्थे, जुन केही हदसम्म सफल पनि भएका थिए । तर, ओलीको बुद्धिमत्ता र अदालतको निर्णयले उनी आफूले खनेको खाडलमा आफैँ खसेका छन् ।

ओलीको दुवै हातमा लड्डु
एमाले र माओवादी केन्द्र ब्युतिएसँगै ओलीको दुवै हातमा लड्डु देखिएको छ । झन् नेपाली काँग्रेसको पछिल्लो अभिव्यक्तिले ओलीलाई नै दूरदर्शी र नैतिकवान नेता ठह¥याएको छ । अहिले एमालेमा ओली शक्तिशाली नेता हुन् । संसदीय दल र पार्टी दुवैतिर उनको प्रचण्ड बहुमत छ । माधव नेपालसँग भएका ४० प्रतिशत केन्द्रीय सदस्य पनि उनले प्रचण्डको साथ दिएपछि ओलीतिरै रहेका कारणले अब नेपालसँग पहिलेको ४० प्रतिशत रहेन । संसदीय दलमा उनलाई हटाउने क्षमता कसैको छैन । यसो हुँदा स्वभाविकरूपमा प्रधानमन्त्रीका दावेदारमा उनकै पहिलो हक हुन्छ । एमाले नै यस्तो पार्टी हो जसले राजपा र कांग्रेस कुनै एकलाई साथ लिँदा सुविधाजनक बहुमत पुग्छ । एमालेबाहेक गर्दा सबै मिल्नुपर्छ । यदि, यस्तो हुन सकेन भने कसैको बहुमत नपुगेको खण्डमा ओलीले नै मध्यावधि निर्वाचनको सिफारिस गर्न पाउनेछन् । यो उनको अर्को जित हुनेछ । कांग्रेसले अहिले भनेजस्तो मध्यावधि निर्वाचनमा गए पनि ओलीकै नैतिक विजय हुनेछ, किनभने उनले यही कारण देखाउँदै प्रतिनिधिसभा विघटन गरी निर्वाचनको घोषणा गरेका थिए । असंवैधानिक भन्दै आन्दोलन गर्नेमा कांग्रेस पनि थियो । कसैले बहुमत सिद्ध गरेर प्रधानमन्त्री भएमा त्यो ओली नै हुनेछन्, किनभने उनलाई नै अन्यको भन्दा सहज छ ।

प्रतिक्रिया