शिवरात्रिको दिन वाग्मतीमा सुन्दरीजलको सफा पानी बग्ने

काठमाडौं । मेलम्चीको पानी सुन्दरीजलमा आएसँगै शिवरात्रिका (बिहीबार) दिन वाग्मतीमा सफा पानी बगाउने योजना बनाइएको छ । सो दिनमा धेरै भक्तजन खोलामा नुहाउने भएकाले सफा पानी बगाउने योजना बनाइएको खानेपानी मन्त्रालयले जनाएको छ ।

सुन्दरीजलमा मेलम्चीको पानी आएसँगै अहिले नै वाग्मतीमा पानीको बहाब बढिरहेको मन्त्रालयका प्रवक्ता रमेश न्यौपानेले बताए । गत १० गतेबाट सुरुङमा पानी पठाउन थालिएकोमा अहिले सुरुङ पूरै पार गरेर गत शनिबारबाट सुन्दरीजलमा आउन थालेको हो । सुरुङमा जम्मा भएको पानी खसाल्न थालिएको उनले बताए । उनले भने, ‘पानी व्यवस्थापन गरेर खसाल्ने योजना छ ।’

पानी आएको केही समयसम्म सुरुङ सफा गर्ने योजना बनाइएको छ । अझै एक डेढ महिनासम्म सुरुङ सफा गर्न र सुरुङको परीक्षण गर्न लाग्ने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । सुरुङ परीक्षणका क्रममा कुनै समस्या पाइएमा त्यसको समाधान गरेर उपत्यकामा नियमित रुपमा पानी वितरण हुनेछ ।

तीन खण्डबाट सुरुङ पखाल्ने (फल्सिङ) को व्यवस्था मिलाइएको मेलम्ची खानपानी विकास समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले बताए । उनका अनुसार सुरुको खण्ड अम्बाथानबाट ग्यालथुमसम्मको खण्ड रहेको छ । करीब पाँच किमी लम्बाइको उक्त खण्ड उकालो रहेको छ । सो खण्ड भरिएपछि पानी ग्यालथुमबाट सिन्धुतिर दोस्रो खण्डमा प्रवेश गर्ने उनले जानकारी दिए ।

सो खण्डको लम्बाई आठ दशमलव दुई किमी छ । तेस्रो खण्डका रुपमा रहेको सिन्धुबाट सुन्दरीजलसम्मको खण्ड सबैभन्दा लामो छ । झण्डै १० किमी लम्बाईको सो खण्ड पार गरेर पानी सुन्दरीजल आइपुगेको हो । एकैपटक नभरिए पनि एउटा तहसम्म पुगेपछि अर्को खण्डमा पानी पुग्ने उनको भनाइ छ ।

प्रतिक्रिया