२३ अंकले घट्यो सेयर बजार

काठमाडौं । सेयर बजार परिसुचक नेप्से २३ अंकले घटेको छ । ० दशमलव ९३ प्रतिशतले घटेर नेप्से २४६१ दशमलव ८८ बिन्दुमा पुगेको हो । जलविद्युत्, होटल र म्यूचुअल फन्डबाहेक सबै समूहको परिसुचक कमजोर छ । होटल तथा पर्यटन समूहमा करिब ३ प्रतिशत (२ दशमलव ९८ प्रतिशत) ले वृद्धि भएको छ । सोल्टी होटलको सेयर मूल्य प्रति कित्ता दुई सय ६ रुपैयाँ पुगेर बन्द भएको छ । ओरियन्टल होटलको सेयर मूल्य प्रति कित्ता ४८५ रुपैयाँ पुगेको छ । तारा गाउँ रिजेन्सी होटलको सेयर मूल्य समेत कित्ताको ३१९ रुपैयाँ पुगेको नेप्सेले जानकारी दिएको छ ।

अधिकांश समूहको परिसुचक १ प्रतिशतको दरले घटेको छ । नेप्सेमा २३ अंकको गिरावट आए पनि पाँच कम्पनीको सेयर मूल्य भने ९ प्रतिशतभन्दा उच्‍च दरमा वृद्धि भएका छन् । यसरी वृद्धि हुनेमा जलविद्युत कम्पनीहरु छन् । हिमालय ऊर्जा विकास कम्पनी, नेपाल हाइड्रो डेभलपर कम्पनी र रैराङ हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा उच्‍च वृद्धि भएको छ ।

प्रति कित्ता ३२ रुपैयाँले बढेर हिमालय ऊर्जा विकास कम्पनीको सेयर मूल्य ३५३ रुपैयाँ पुगेको छ । नेपाल हाइड्रो डेभलपर कम्पनीको सेयर मूल्य प्रति कित्ता ३२ रुपैयाँले बढेको छ । रैराङ हाइड्रोपावर कम्पनीको सेयर मूल्य ३१ रुपैयाँले बढेर ३४९ रुपैयाँमा कारोबार भएको छ ।

युनाइटेड फाइनान्स कम्पनीको सेयर मूल्य ३१ रुपैयाँले बढेर ३४९ रुपैयाँ पुगेको छ । मंगलबार सेयर कारोबार रकम चार अर्ब ७५ करोड रुपैयाँ पुगेको छ । ५२ हजार ५ सय ९१ पटकको कारोबारमा १ करोड २४ लाख ८२ हजार ४ सय २८ कित्ता सेयर किनबेच भएको छ ।

सबैभन्दा बढी शिखर इन्‍स्योरेन्सको सेयर किनबेच भएको छ । ६५ करोड ३५ लाख रुपैयाँ बराबर किनबेच भएको यो इन्‍स्योरेन्सको सेयर मूल्य २ हजार ६ सय २२ रुपैयाँ पुगेको छ । अपर तामाकोशीको २९ करोड ६७ लाख रुपैयाँ बराबर सेयर कारोबार भएको छ ।

प्रतिक्रिया