कच्चा तेलको भाउमा उच्च बृद्धि

एजेन्सी । साउदी अरबको तेल प्रतिस्ठानमा आक्रमण भएको प्रतिवेदनसंगै कच्चा तेल (ब्रेन्ट अयल) को भाउ प्रतिब्यारेल ७० डलरका दरभन्दा माथि पुगेको छ । अमेरिकामा पनि कच्चा तेलको भाउ विगत दुई वर्षकै सबैभन्दा उच्च विन्दुमा पुगेको छ । समाचार एजेन्सी रोयटर्सलाई उधृत गर्दै बीबीसीले जनाएअनुसार कच्चा तेलको मूल्य सोमबार प्रतिब्यारेल ७१ दशलमव ३८ डलर पुगेको छ । यो गत जनवरी २०२० यताको सबैभन्दा उच्च दर हो । यमनको हुती विद्रोहीले साउदी अरबको कच्चा तेल उद्योगमा आइतबार ड्रोन र मिसाइल आक्रमण गरेको थियो । आक्रमणमा साउदी अरामको तेल भण्डारलाई निशाना बनाइएको अनुमान गरिएको छ । तर साउदी अरबले यो आक्रमणलाई ‘असफल प्रयास’ भनेको छ ।

मार्च ४ मा पनि साउदी अरबको जेद्दाहमा आक्रमण भएको थियो । तेल उत्पादकहरुको समूह ओपेक र उसका सहयोगीहरुको उत्पादन कटौतिको निर्णयपछि कच्चा तेलको मूल्य बढेको हो । उता चीनमा कच्चा तेलको माग २०२१ को सुरुवाती दुई महिनामा गत वर्षको भन्दा ४ दशमलव १ प्रतिशतले बढेको छ । चीन संसारको सबैभन्दा ठूलो तेल आयात गर्ने देश हो ।

चीनले आफ्नो प्रशोधन क्षमतालाई बढाएसँगै तेलको माग पनि लगातार बढाउँदै गएको छ । कच्चा तेलको मूल्य वृद्धिका बाबजुद साउदी अरबका तेलमन्त्रीले कच्चा तेलको मागमा आएको कमी छिटै टर्ने दाबी समाचार एजेन्सीहरुले बताएका छन । कच्चा तेलको मूल्य बढेसँगै संसारभर पेट्रोलियम पदार्थको मूल्य केही बढ्नसक्ने आकलन गरिएको छ ।

प्रतिक्रिया