मेलम्चीको अन्तर्कथा र किशुनजीको नियती

वसन्त भुजेल

वर्तमान प्रधानमन्त्री केपी ओलीले राजधानी काठमाडौंमा चिनियाँ रेल, घरघरमा ग्याँस पाइप र एक महिनाभित्र पानीजहाज ल्याउने कुरा गरिरहँदा धेरै मान्छेले पत्याएका थिए । पत्याउनुपर्ने कारण मेलम्ची नै थियो । असंभव भनिएको मेलम्ची त संभव भयो भने रेल, ग्याँस पाइप र पानीजहाज कसरी संभव नहोला ? भन्दै जनताले ओली र उनको पार्टीलाई मत दिए ।

०५६ सालमा मेलम्ची आयोजनाको निर्माण सुरु हुँदा जन्मेका मान्छेहरू यतिबेला बालिग भइसकेका छन् । मेलम्चीको पानी काठमाडौं उपत्यकामा झर्दा जति खुसियाली छाएको छ, मेलम्चीको अन्तर्कथा त्यति नै पीडादायी छ । एउटा आयोजना सम्पन्न हुन २२ वर्ष लाग्नु भनेको सानो असफलता होइन । यसबीचमा निकै धेरै उल्झन आए । अझै केही उल्झनहरू बाँकी रहेका कारण ढुक्क हुन सक्ने अवस्था छैन । यही फागुन २२ गते शनिबार राजधानी काठामाडौं उपत्यकामा मेलम्ची नदीको पानी खसेको छ । मेलम्ची खानेपानी आयोजना सम्पन्न हुनु हाम्रो मुलुकका लागि ठूलो उपलव्धी हो । सायद ०४६ सालमा वहुदलीय व्यवस्था पुनवर्हाली यता नेपालमा स्मरण गर्न लायक कुनै काम भएको छ भने त्यो मेलम्ची खानेपानी आयोजना नै हो । निकै टाढाको दुरीबाट २७ किलोमिटर लामो सुरुङ निर्माण गरी खानेपानी ल्याउनु भनेको नेपालजस्तो गरिब र प्रविधि नभएको मुलुकका लागि सामान्य कुरा होइन ।

मेलम्ची खनोपानी आयोजनाका उज्याला पाटाहरू जति छन् अँधेरा पाटा त्यो भन्दा कम छैनन् । पहिलो कुरा त सात वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ ०५६ सालमा निर्माण थालिएको मेलम्ची खानेपानी आयोजनाको निर्माण सम्पन्न हुन २२ वर्ष अर्थात ०७८ साल पुग्यो । मेलम्ची खानेपानी आयोजनाको सपना द्रष्टा पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई हुन् । राजधानीवासीको तिर्खा मेटाउनकै लागि उनले मेलेम्ची खानेपानी आयोजना अघि बढाएका हुन्, तर काठमाडांैवासीले कहिले उनलाई यसको जस दिएनन् । भट्टराई तीनपटक काठमाडौंमा निर्वाचन लडे तीनैपटक जित्ने अवसर पाएनन् । प्रजातन्त्र सर्वोत्तम शासन व्यवस्था हो भनिन्छ, राजधानी काठमाडौं शिक्षित तथा सचेत जनता बस्ने ठाउँ पनि भनिन्छ, तर मेलम्ची खानेपानी आयोजनाको कुरा गरेकै कारण कृष्णप्रसाद भट्टराईलाई सधँै चुनाव हराइरहने जनता पनि काठमाडौंकै हुन् ।

मेलम्चीको कुरा गरिरहँदा कृष्णप्रसाद भट्टराईलाई काठमाडौंवासीले के कति अपमान र तिरस्कार गरे ? भन्ने कुरा संझेपमा उल्लेख गर्दछु । ०४८ सालको आमनिर्वाचनमा काठमाडौं–१ बाट प्रतिनिधिसभाका लागि उम्मेद्वार बनेका तत्कालीन प्रधानमन्त्री भट्टराईले नयाँ बानेश्वरमा आयोजित आमसभामा बोल्दै भनेका थिए, ‘राजधानी काठमाडौंको मुख्य समस्या खानेपानी हो, यसका लागि मैले धेरै स्रोत खोजेँ, उपत्यकाभित्र कुनै स्रोत देखिनँ, अब मेलम्चीबाट पानी ल्याएर म काठमाडौंवासीलाई खुवाउँछु ।’ भट्टराईले मेलम्चीको पानी ल्याउने घोषणा गर्दै गर्दा ताली पिट्ने र हाँस्नेहरू बराबरजस्तै थिए । मञ्चमा बस्नेहरू अरू धेरै हाँसेका थिए । मञ्चमा बस्नेहरू हाँसेको देखेपछि सन्त नेता भट्टराईले पनि हाँसो थाम्न सकेनन् उनी पनि एक छिन हाँसे । भोलिपल्टका मिडियामा उक्त समाचार हदैसम्मको ‘जोक’का रूपमा आयो ।

नेपाली कांग्रेसका सभापति, बहालवाला तथा भावी प्रधानमन्त्री भट्टराई २ सय ५ निर्वाचन क्षेत्रमध्ये त्यतिबेला जहाँबाट पनि उम्मेद्वार हुन सक्थे । उम्मेद्वार बनिदिन अनुरोध गर्दै उनी कहाँ धेरै निर्वाचन क्षेत्रबाट डेलिगेसन आएको थियो, तर उनले काठमाडौं क्षेत्र नं १ नै रोजे । केही ठूला नेताहरू दुई–दुई ठाउँबाट उम्मेद्वार बने तर उनी काठमाडौं क्षेत्र नं १ बाट मात्रै उम्मेद्वार बने । मुलकका सबैभन्दा सचेत मतदाता बस्ने क्षेत्र भएका कारण आफूलाई धोका हुँदैन भन्ने ठम्याईका साथ भट्टराईले यो जोखिम लिए । तर, बानेश्वरको आमसभामा मेलम्चीको पानी ल्याउने घोषणा गर्दा मञ्चमा बस्नेहरूसमेत हाँसेको देखेपछि भट्टराईको मनमा चिसो पसेको थियो । सचेत मतदाता भनिए पनि उनीहरूले भट्टराईको मेलम्ची सपनालाई हावादारी ठाने । कसैले गम्भीर रूपमा लिएनन् । पढेलेखेका र प्रविधि बुझेकाहरूले समेत प्रश्न उठाए, ‘२७ किलोमिटर लामो सुरुङ बनाएर पानी ल्याउने घोषणा सम्भव छैन ।’

नभन्दै भट्टराईले चुनाव हारे । त्यसपछि मुलुकमा गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारी, शेरबहादुर देउवा, लोकेन्द्रबहादुर चन्द, सूर्यबहादुर थापा र फेरी गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री बने । मेलम्चीको कुरा उच्चारणमा सम्म आएन । ०५६ सालको आमनिर्वाचनमा भट्टराई भावी प्रधानमन्त्रीको रूपमा फेरी काठमाडौं–१ मा उम्मेद्वार बने । उनले बानेश्वरमा आयोजित चुनावी आमसभामा फेरी त्यो कुरा दोहो¥याए । यसपटक भने मान्छे नहाँसेको देखेपछि भट्टराईले भने, ‘म प्रधानमन्त्री भएकै बेला पिउन मात्रै होइन सडक पखाल्ने गरी मेलम्चीको पानी आउनेछ, म आपैmँ अघि सरेर सडक पखाल्नेछु, वरिपरि कम्युनिस्टहरू देखापरे भने तिनका आँखामा पानी छ्यापिदिनेछु ।’ यसपछि भने आमसभामा निकैबेर हाँसो र तालीको पर्रा छुट्यो । दोस्रोपटक प्रधानमन्त्री हुनासाथ भट्टराईले मेलम्ची खानेपानी आयोजनाको काम अघि बढाइहाले । अनेक प्रतिकूलताका बाबजुद २१ वर्षपछि अब सन्त नेता भट्टराईको मेलम्ची सपना पूरा हुनै लागेको छ ।

यदि, काठमाडौं–१ का मतदाताले ०४८ सालको निर्वाचनका क्रममा भट्टराईले गरेको उक्त घोषणालाई जोकका रूपमा नलिइदिएको भए आजभन्दा १० वर्षअघि नै मेलम्चीको पानी काठमाडौं आइसक्ने थियो । खासगरी काठमाडौं महानगरपालिकाको बानेश्वर तथा कोटेश्वर क्षेत्र नेपाली कांग्रेसको पहिलेदेखिको गढ मानिन्छ । कांग्रेसका कार्यकर्ता मात्रै इमानदार भइदिएको भए पनि भट्टराईले चुनाव हार्ने अवस्था थिएन । हरेक चुनावमा काठमाडौंको बानेश्वर कोटेश्वर क्षेत्रमा कांग्रेसको झण्डा नगाडिएका घर कमै हुन्छन् । तर, परिणाम भने केही अपवादलाई छाडेर सधैँ कांग्रेसको विपक्षमा देखिने गरेको छ ।

जसका लागि आफ्नो जीवन अर्पण गरे उसैबाट सबैभन्दा बढी धोका पाए कृष्णप्रसाद भट्टराईले । उनले नेपाली कांग्रेसकै लागि आफ्नो सारा जीवन अर्पण गरे । तर कांग्रेसकै अन्तरघातका कारण चुनाव हारिरहे । एकपटक पनि जननिर्वाचित प्रधानमन्त्री नवनी दिवंगत हुने अवस्था उत्पन्न भए पछि मात्रै उनी चुनाव लड्न वीरगञ्ज पुगे । वीरगञ्जमा पनि भट्टराईले मेलम्ची खानेपानी आयोजनाकै कुरा गरे । वीरगञ्जवासीका लागि मेलम्ची खासै सरोकारको विषय थिएन, तर वीरगञ्जवासीले काठमाडौंवासीको जस्तो कृतघ्नता देखाएनन् । चुनाव जिताइदिए ।

वर्तमान प्रधानमन्त्री केपी ओलीले राजधानी काठमाडौंमा चिनियाँ रेल, घरघरमा ग्याँस पाइप र एक महिनाभित्र पानीजहाज ल्याउने कुरा गरिरहँदा धेरै मान्छेले पत्याएका थिए । पत्याउनु पर्ने कारण मेलम्ची नै थियो । असंभव भनिएको मेलम्ची त संभव भयो भने रेल, ग्याँस पाइप र पानीजहाज कसरी संभव नहोला ? भन्दै जनताले ओली र उनको पार्टीलाई मत दिए । करिव दुईतिहाइ बहुमतका साथ ओली प्रधानमन्त्री निर्वाचित भए । तीन वर्ष नाघिसकेको यो कार्यकालमा रेल, घरघरमा ग्याँस पाइप र पानीजहाजको योजना गर्भाधानसमेत हुन सकेको छैन । ओली प्रधानमन्त्री हुँदै गर्दा ९८ प्रतिशत काम सम्पन्न भएको मेलम्ची खानेपानी आयोजनाको यो तीन वर्षको अवधिमा निर्माणको गति अत्यान्त सुस्त रह्यो । यो तीन वर्षका मेलम्चीले धेरै हण्डर बेहो¥यो । आयोजना करिबकरिब बेवारिसे बन्यो । तर धेरै ठूलो जनदबाबका कारण आयोजना तुहाउन भने कम्युनिस्टहरूले सकेनन् ।

मेलम्चीको पानी सुन्दरीजलस्थित बाग्मती नदीमा झार्ने समारोहको शानिबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘यो आयोजना सुरु हुँदा मेरो कपालका रौँ सबै काला थिए, एउटा पनि सेतो थिएन, तर अहिले. सबै सेतो भइसकेको छ, एउटा पनि कालो छैन ।’ ओलीको यो भनाई सत्य हो । यो २२ वर्षको घामपानीले ओलीको कपाल सेतो भएको हो । ओलीको उमेर निकै छिप्पियो तर उमेर अनुसार उनको बुद्धि पनि छिपिएको भए देश र जनताले यति दुःख पाउने थिएनन् ।

मेलम्चीको पानी काठामाडौं झार्ने समारोहमा प्रधानमन्त्री ओलीले ठ्याक्कै ३३ मिनेट भाषण गरे । तर कृष्णप्रसाद भट्टराईको नाम भने उच्चारणसमेत गरेनन् । मेलम्ची आयोजना आपैmँले सुरुआत गरेको र आफ्नै कारण सम्पन्न भएको दावी प्रधानमन्त्री ओलीले गरे । राजनीति गर्नेहरूको दिमाग कतिसम्म खराब हुँदो रहेछ ? भन्ने कुराको ज्वलन्त उदाहरण बने ओली । ईश्वरले यति खराब मान्छेसमेत सृष्टि गरेका रहेछन् भन्ने उदाहरणका रूपमा ओलीले आपैmँलाई प्रस्तुत गरे । बास्तवमा भन्ने हो भने मेलम्चीको पानी खस्ने ठाउँ सुन्दरीजलमा कृष्णप्रसाद भट्टराईको शालिक राख्ने काम गर्नुपथ्यो । उक्त योजनालाई कृष्णप्रसाद भट्टराई खानेपानी आयोजना भनेर नाम राख्नुपथ्र्यो । मध्यपहाडी लोकमार्ग निर्माणमा पुष्पलालको के योगदान छ ? तर कम्युनिस्टहरूले पुष्पलाल लोकमार्ग भनेर नाम राखे । पूर्व–पश्चिम भित्री मधेस मार्गमा मदन भण्डारीको के योगदान छ ? तर उक्त मार्गलाई कम्युनिस्टहरूले मदन भण्डारी मार्ग भनेर नाम राखे । तर, मेलम्ची खानेपानी आयोजनाका जन्मदाता कृष्णप्रसाद भट्टराई हुन् । उनको नाममा यो आयोजनाको नामाकरण गरिनुपर्छ । तर, प्रधानमन्त्री ओलीले ३३ मिनेट बोल्दा नामसम्म लिएनन् ।

प्रतिक्रिया