अनुदान सुविधामा किसानको न्यून सहभागिता

वीरगञ्ज । कृषि ज्ञान केन्द्र पर्साका अनुसार विगत एक महिनादेखि विभिन्न शीर्षकमा अनुदान सुविधाका लागि १२÷१३ वटा सूचना प्रकाशित गर्दा पनि किसानहरूको आकर्षण देखिएको छैन । केन्द्रका निमित्त प्रमुख मुनीलाल प्रसादका अनुसार चालु आवमा कृषि यान्त्रीकरण शीर्षकमा विकासको क्षेत्रमा ४ करोड ४० लाख बजेट भएता पनि किसानहरूको न्यून सहभागिताले गर्दा ठूलो रकमको बजेट फ्रिज हुने अवस्थामा पुगेको छ । उनका अनुसार किसानहरूले अनुदानको सुविधा उपभोग गर्न श्रमदानको रकम दिने डरले निवेदन नदिने गरेको र निवेदन नदिँदा छनोट प्रक्रियाबाट वञ्चित हुँदै अनुदान सुविधा खेर जाने अवस्था सिर्जना भएको छ । उनले भने, ‘सरकारले किसानका लागि ट्रयाक्टरमा जोडेर प्रयोग गर्ने थुप्रै यन्त्रहरू जस्तै हैरो, कल्टिभेटर, फार, लेभलर, थ्रेसर, स्वचालित रिपर, बोरिङ (स्यालो ट्युबवेल) लगायतका लागि सूचना प्रकाशित गरेको छ । तर फाटफुट किसानले मात्र निवेदन दिएका छन् ।’

श्रमदानको रकम दिने डरले निवेदन नदिँदा बजेट नै फ्रिज हुने अवस्था आएकोले सम्पूर्ण किसानलाई समयमै निवेदन दिन उनले अपिल गरे । उनका अनुसार किसानले श्रमदान रकमको डरले निवेदन दिँदैनन् तर त्योभन्दा महँगो मूल्यमा निजी पसलबाट यन्त्र खरिद गर्ने रवैया दुःखदायी भएको जानकारी गराए । यस्तै, प्राविधिक तथा पूर्वप्रमुख डा. यादवको उदासीनताका कारण करिब १४ करोडको बजेट पोहोर साल पनि फ्रिज भएको कृषि ज्ञान केन्द्र पर्साका कर्मचारी बताउँछन् ।

निवेदन दिँदा करिब एक बिघा जग्गाको लालपुर्जा, नागरिकताको प्रतिलिपि र ट्रयाक्टरमा लाग्ने उपकरणको हकमा ट्याक्टरधनीको ब्लुबुक आवश्यक पर्छ तर यी सबै कुराका बारेमा सर्वसाधारण किसानलाई ग्रामीण भेगमा सही समयमा सही सूचना नपुग्दा उनीहरू निवेदन दिन हिचकिचाउने गरेको बताइन्छ ।

श्रमदानको रकम ५० प्रतिशतदेखि ७५ प्रतिशतसम्म रहने गर्दा रीतपूर्वक निवेदन दिएर सेवा उपभोग गर्न आउने किसानहरूले कम्तीमा आधा मूल्यबराबर अनुदान सहयोग पाउने भएता पनि उनीहरू यो सेवाबारे गम्भीर नभएको केन्द्रका निमित्त प्रमुख मुनीलाल प्रसादको भनाइ छ । केन्द्रले बोरिङ (स्यालो ट्युबवेल), कृषि यान्त्रीकरण, फलफूल तथा तरकारी बजारीकरण, बिउबिजन, हाटबजार शुद्धीकरण, पर्यावरण, ग्रेडिङ–प्याकेजिङ, गोदाम व्यवस्थापन तथा किसानलाई उपयुक्त तालिम र मर्मत संभारजस्ता शीर्षकमा बजेट रहेको बताएको छ ।

प्रतिक्रिया