मेयर–११ को विजयी सुरुवात

काठमाडौं । कप्तान सन्दीप लामिछानेको उत्कृष्ट अलराउन्ड प्रर्दशनमा काठमाडौं मेयर–११ ले मेयर कप २०७७ एकदिवसिय क्रिकेट लिगमा सानदार विजयी सुरुवात गरेको छ । आइतबार बागमती प्रदेशलाई ९४ रनले हराउँदै मेयर–११ ले सानदार विजयी सुरुवात गरेको हो । जितको लागि २ सय ४५ रनको विजयी लक्ष्य पछ्याएको बागमती प्रदेश ३४.३ ओभरमा १ सय ५० रन अल आउट भयो । बागमतीका उपकप्तान पृथु बास्कोटाले ७९ बलमा ८ चौका सहित सर्वाधिक ६० रनको योगदान दिए ।
छैटौं ओभरको पाँचौं बलमा विपिन खत्रीले कप्तान ज्ञानेन्द्र मल्ललाई १७ रनमा एलबिडब्लू आउट गर्दै पहिलो सफलता दिलाएका थिए । ज्ञानेन्द्रले १९ बलमा २ चौका र १ छक्का प्रहार गरे । तीव्र गतिका बलर कृष्ण कार्कीले अर्का ओपनर आदिल खानलाई १५ रनमा विवेक यादवबाट क्याच आउट गराए । दशौं ओभरको पाँचौं बलमा विपिनले पारस खड्कालाई १० रनमा कट एण्ड बोल्ड आउट गरेपछि बागमती समस्या परेको थियो ।

२४ औं ओभरका कप्तान सन्दीप लामिछानेले लगातार दुई विकेट लिएपछि बागमतीको जितको सम्भावना टाढिएको थियो । चौथो बलमा ईशान पान्डेलाई १७ रनमा बोल्ड आउट गरेका सन्दीपले अर्को बलमा विपिन आचार्यलाई शून्यमा एलबिडब्लू आउट गर्दै ९९–५ को कमजोर अवस्थामा पु¥याए । आकाश थापा १ र नन्दन यादव ७ रनमा आउट भए । सन्दीप लामिछानेले ९ ओभरमा ४० रन खर्चेर ३ विकेट लिए । विपिन खत्रीले ६ ओभरमा २६ रन खर्चेर २ विकेट लिए । अनिल खरेलले २ र कृष्ण कार्कीले १ विकेट लिए ।

त्यसअघि मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको मेयर–११ ले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ४४ रन बनाएको थियो । सौरभ खनाल ५८ बलमा ६ चौका र १ छक्का सहित ४९ रनमा अविजित रहे । कप्तान सन्दीप लामिछानेले २० बलमा ६ छक्का ४२ रनमा क्याच आउट भए । सन्दीप नन्दन यादवको ४० औं ओभरको तेस्रो बलमा ठूलो सट खेल्ने धुनमा मिडअफमा ज्ञानेन्द्र मल्लबाट समातिन पुगे । तल्लोक्रमका विपिन खत्री ३० बलमा १ चौका र २ छक्का सहित ३२ रनमा रनमा आउट भए । एक समय ४३–५ को कमजोर अवस्थाबाट मेयर–११ ले उत्कृष्ट पूनरागमन गर्दै राम्रो योगफल बनाएको थियो ।

तीव्र गतिका बलर रामनरेश गिरीले पाँचौं ओभरको तेस्रो बलमा ओपनर हरि शंकर शालाई विकेटकिपर आकाश थापाबाट ६ रनमा क्याच गराउँदै पहिलो सफलता दिलाए । दशौं ओभरको चौथो बलमा विपिन रावल ईशान पाण्डेबाट ११ रनमा समातिन पुगे । तीव्र गतिका बलर नन्दन यादवको बलमा विपिन क्याच हुन पुगे । एक बलपछि नन्दनले युवा ओपनर अर्जुन कुमाललाई ८ रनमा बोल्ड आउट गरे । १३ औं ओभरको पहिलो बलमा रामनरेश गिरीले कृष्ण कार्कीलाई शून्यमा एलबिडब्लू आउट गर्दै ३७–४ को अवस्थामा पुर्याए । नन्दनले विवेक यादवलाई १४ औं ओभरको तेस्रो बलमा एक रनमा विकेटकिपर आकाश थापाबाट क्याच गराउँदै पेभिलिएन फर्काएपछि मेयर–११ को टोली ४३–५ को संकट अवस्थामा पुगेको थियो ।

छैटौं विकेटका लागि सिद्धान्त लोहनी र सन्दीप रजालीले ७१ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । स्पिनर अरियो पौडेलले ३२ औं ओभरको पहिलो बलमा सिद्धान्तलाई ३४ रनमा बोल्ड गर्दै साझेदारी तोडे । सिद्धान्तले ६७ बलमा ३ चौका प्रहार गरे । सन्दीप रजालीले ५८ बलमा ४ चौका प्रहार गरे ।
तीव्र गतिका बलर नन्दन यादवले १० ओभरमा १ मेडन सहित ४१ रन खर्चेर ४ विकेट लिए । रामनरेश गिरी र अरियो पौडेलले २–२ विकेट लिए । दीपेश श्रेष्ठले १ विकेट लिए ।
काठमाडौं मेयर (११ ले दोस्रो खेल सोमबार टियु मैदानमा त्रिभुवन आर्मी क्लबसँग खेल्ने छ । यो बागमती प्रदेशको लगातार दोस्रो हार हो । पहिलो खेलमा पुलिससँग २ रनले पराजित भएको थियो । बागमतीले आफ्नो तेस्रो खेल मंगलबार एपिएफसँग खेल्ने छ ।

प्रतिक्रिया