पूरा हुँदै मेलम्चीको सपना

मेलम्ची नदीको पानी शनिबार काठमाडौं उपत्यकामा झरेसँगै राजधानी काठमाडौंवासीको लामो प्रतिक्षा करिबकरिब समाप्त भएको छ । खानेपानीको अभावमा काकाकुलको नियती भोगिरहेका काठमाडौंवासीको मेलम्ची पर्खाइ कतिसम्म लामो थियो भन्ने कुरा प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्तिले पनि पुष्टि गर्छ । मेलम्चीको पानी काठमाडौं खसाल्नका लागि शनिबार सुन्दरीजलमा आयोजित समारोहलाई संबोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले भने, ‘यो आयोजना निर्माण सुरु हुँदा मेरो कपालका सबै रौँ काला थिए, अहिले सबै रौँ सेता भइसकेका छन् ।’ हुन पनि ०५६ सालमा मेलम्ची आयोजनाको निर्माण सुरु हुँदा जन्मेका मान्छेहरू यतिबेला बालिग भइसकेका छन् । मेलम्चीको पानी काठमाडौं उपत्यकामा झर्दा जति खुसियाली छाएको छ, मेलम्चीको अन्तर्कथा त्यति नै पीडादायी छ । एउटा आयोजना सम्पन्न हुन २२ वर्ष लाग्नु भनेको सानो असफलता होइन । यसबीचमा निकै उल्झन आए । अझै केही उल्झनहरू बाँकी रहेका कारण ढुक्क हुन सक्ने अवस्था छैन । सात वर्षभित्र मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी काठमाडौं उपत्यका झार्ने र त्यसको तीन वर्षभित्र यांग्री र लार्केबाट थप १७÷१७ करोड लिटर पानी मेलम्चीकै सुरुङबाट काठमाडौं झार्ने लक्ष्यका साथ ०५६ सालमा यो आयोजना सुरु गरिएको हो । तर, २२ वर्षको यो अवधिमा काठमाडौं उपत्यकामा खानेपानीको माग तेब्बर भइसकेको छ । यांग्री र लार्केको काम अझै सुरु भएको छैन ।

करिब ४० लाख जनसंख्या रहेको राजधानी काठमाडौंमा खानेपानी लिमिटेडको संयन्त्रमार्फत हाल दैनिक आठ करोड लिटर पानी उपलव्ध छ । तर, माग भनेको दैनिक ४० करोड लिटर हो । मेलम्चीबाट आउने १७ कोरोड लिटरले माग धान्न सक्ने अवस्था छैन । यांग्री र लार्के सम्पन्न भयो भने मात्रै अबको २५ वर्षसम्मका लागि काठमाडौं उपत्यकामा खानेपानीको माग धान्न सक्छ । त्यसपछि अर्को विकल्प खोज्नुपर्ने हुन्छ । विकल्पका रूपमा त्रिशूलीलाई हेरिएको छ । स्याफ्रुवेँसीस्थित त्रिशूली नदीबाट १८ किलोमिटर सुरुङ निर्माण गर्ने हो भने मेलम्चीको मुहानमा दैनिक ५० करोड लिटर पानी खसाल्न सकिने प्रक्षेपण विज्ञहरूले गरेका छन् । त्यसैले मेलम्ची आयोजना सम्पन्न हुनु भनेको काठमाडौं उपत्यकाको खानेपानीको समस्या दीर्घकालसमम्मका लागि समाधान हुनु हो ।

मेलम्ची खानेपानी आयोजना काठमाडौं उपत्यकाका लागि जीवनदायिनी हो भन्ने कुरामा दुईमत छैन । यो आयोजनाले खानेपानीको समस्या मात्रै समाधान गर्ने होइन कि, काठमाडौं उपत्यकाको भूमिगत जलकोे सतह क्षयीकरण हुनबाट रोक्छ । काठमाडौं उपत्यकाका नदीनाला सफाइमा महत्वपूर्ण भूमिका खेल्छ भने तराईमा सिँचाइका लागि थप पानी उपलव्ध हुन्छ । यो महत्वपूर्ण आयोजनाका सूत्रधार सन्तनेता कृष्णप्रसाद भट्टराई हुन् । ०४७ सालमा उनले यो आयोजना अघि बढाउने उद्घोष गर्दा असंभव भन्दै धेरै मान्छे हाँसेका थिए । स्वयं राजधानीवासीले समेत उनलाई चुनाव जिताएनन् उनी चुनाव हारेसँगै यो आयोजनाको चर्चा सेलायो । वीरगञ्जबाट चुनाव जितेर ०५६ सालमा दोस्रोपटक प्रधानमन्त्री हुनासाथ मेलम्ची अघि बढाए । प्रधानमन्त्रीका रूपमा ६ महिना बिताउन पाउँदान पाउँदै उनलाई राजीनामा दिन वाध्य पारियो ।

उनको बर्हिगमनसँगै मेलम्ची आयोजना बेवारिसजस्तै बन्यो । अनेकथरी उल्झनका बाबजुद मेलम्ची करिबकरिब सम्पन्न भएको छ, तर मेलम्चीको श्रेय भट्टराईलाई दिन प्रधानमन्त्री ओलीले ठूलो कन्जुस्याइँ गरे । शनिबार उनले सुन्दरीजलमा पुगेर आधा घण्टाभन्दा बढी भाषण गर्दा भट्टराईको नाम उच्चारणसमेत गरेनन् । आफ्नै कारण आयोजना सम्पन्न भएको दाबी गरे । बास्तवमा भन्ने हो भने मेलम्ची आयोजना निर्माणको गति सबैभन्दा बढी रोकिएको शाही शासनको चार वर्ष र प्रधानमन्त्री ओली सरकारको तीन वर्षको अवधिमा हो । यो तीन वर्षमा कति काम भयो ? भन्ने कुरा जगजाहेर छ । मेलम्चीमा ओलीको होइन भट्टराईको शालिक राख्नुपर्छ ।

प्रतिक्रिया