१० मेगावाट भन्दा साना आयोजनामा पुर्नकर्जा

काठमाडौं । नेपाल राष्ट्र बैंकले १० मेगावाट भन्दा साना जलविद्युत आयोजनामा विशेष पुनर्कर्जा दिने निर्णय भएको छ । पुनर्कर्जा कार्यविधि संशोधन गर्दै केन्द्रिय बैंकले यस्तो व्यवस्था गरेको हो ।यो व्यवस्थाअनुसार पुनर्कर्जा दिने संस्थाले ग्राहकसँग ३ प्रतिशत ब्याजमा पुनर्कर्जा दिनेछन् । यस किसिमको पुनर्कर्जाका लागि राष्ट्र बैंकले १ प्रतिशत ब्याजदर उठाउने व्यवस्था रहेको छ ।

तर विशेष पुनर्कर्जामा यसअघि कुनै कर्जा विशेषलाई छुट्टै पुनर्कर्जा दर तोकिएको छ भने सोही दर कायम हुने राष्ट्र बैंकले बताएको छ । यो सुविधाको लागि राष्ट्र बैंकसमक्ष पुनर्कर्जा आवश्यकता सम्बन्धमा बैंक तथा वित्तीय क्षेत्रको सिफारिसपत्र ल्याउनुपुर्ने संशोधित कार्यविधिमा उल्लेख छ । पुनर्कर्जाको सीमा हेरफेर गर्न मिल्ने गरी कार्यविधिले गभर्नरलाई अधिकार दिएको छ ।

अहिलेसम्म एकमुष्ट प्रदान हुने प्रति ग्राहक पुनर्कर्जाको अधिकतम सीमा पाँच करोड रुपैयाँ रहेको छ । यसरी एकमुष्ट प्रदान गरिने पुनर्कर्जा रकम कुल पुनर्कर्जा प्रदान गर्न सकिने रकमको ७० प्रतिशतभन्दा बढी नहुने व्यवस्था रहेको छ । बैंकले ग्राहक अनुसार मूल्यांकन गरी उपलब्ध गराउने पुनर्कर्जाको प्रति ग्राहक अधिकतम सीमा २० करोड रुपैयाँसम्म छ । यसरी ग्राहक अनुसार प्रदान गरिने पुनर्कर्जा रकम कुल पुनर्कर्जा प्रदान गर्न सकिने रकमको २० प्रतिशतभन्दा बढि हुदैन । लघुवित्त वित्तीय संस्थालाई प्रदान गरिने पुनरकर्जा रकम कुल पुनर्कर्जा प्रदान गर्न सकिने रकमको १० प्रतिशतभन्दा बढी नहुने प्रावधान रहेको छ ।

प्रतिक्रिया