मुख्य भूमिकामा छन्दे र खबपु

काठमाडौं । हाँस्यकलाकारद्वय गोपाल ढकाल ‘छन्दे’ र खड्गबहादुर पुनमगर ‘खबपु’ लाई चलचित्रको मुख्य अभिनेताको अफर मिलेको छ । निर्देशक माधवराज खरेलले निर्देशन गर्ने चलचित्रमा उनीहरुलाई उक्त अफर मिलेको हो । पिम नेपालको प्रस्तुतिमा रहने चलचित्रको नाम भने जुर्न बाँकी रहेको निर्देशक खरेलले जानकारी दिए । कमेडी च्याम्पियनका सेकेण्ड रनरअप खबपु र हाँस्यकलाकार ‘छन्दे’ को मुख्य भूमिका रहने उक्त चलचित्रमा नवराज थापा, मुस्कान लामा लगायतका कलाकारको समेत भूमिका रहेको निर्देशक खरेलले बताए ।

कमेडी जनारामा बन्ने उक्त चलचित्रमा सस्पेन्स र थ्रिलरसमेत हुने बताइएको छ । यसअघि हाँस्य कलाकारको भूमिका निर्वाह गर्दै आएका छन्दे र खबपुले यसै चलचित्रमार्फत नायकको रुपमा डेब्यु गर्दै छन् । यस्तै, चलचित्र निर्देशक तथा लेखक मोहन निरौलासमेत यस चलचित्रमा देखिने भएका छन् । निर्माण पक्षका अनुसार चलचित्रमा अन्य नयाँ तथा पुराना कलाकारको छनोट प्रक्रिया बाँकी रहेको छ ।

यसअघि नेपालको पहिलो मौन चलचित्र ‘ढुङ्गेयुुग’ को निर्देशन गरेका खरेलले त्यसपछि बिरानो माया, कुइनेटो, ढुङ्गेयुग–२, दुर्गामाण्डौको निर्देशन गरिसकेका छन् । द हिमालयन गोल्डको निर्देशनको तयारी गरेका खरेलले कोभिड–१९ का कारणले उक्त चलचित्रको निर्माण दुई वर्षपछि मात्रै हुने बताए । आफ्नो नयाँ चलचित्र कमेडी स्टार र अन्य थ्रिएटर कलाकारका कारणले पनि उत्कृष्ट बन्नेमा उनी उत्साहित देखिएका छन् । पत्रकार शान्तिप्रिय कास्टिङ डाइरेक्टर रहने सो चलचित्रमा साहिल चौधरीको छायांकन, किरण दाहालको द्वन्द्व रहने छ । चलचित्रमा सञ्चारकर्मी कमला जोशीको लगानी रहने जनाइएको छ । बैशाखको तेस्रो साताबाट चलचित्र छायांकनमा जाने निर्देशक खरेलले जानकारी दिए ।

प्रतिक्रिया