दोस्रो चरणको खोप आजबाट

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप अभियानको दोस्रो चरण अन्तर्गत आजदेखि ६५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई कोरोना विरुद्धको खोप लगाउँदैछ । खोपको उपलब्धता र जोखिमको आधारमा आजदेखि देशभरका ६५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई खोप लगाइने मन्त्रालयले जनाएको छ । दोस्रो चरण सुरु भएको करिब १० दिनपछि ५५ देखि ६४ वर्षसम्मका ज्येष्ठ नागरिकलाई खोप दिइने कोभिड–१९ खोप विज्ञ सल्लाहकार समितिका संयोजक डा श्यामराज उप्रेतीले बताए । उनले भने, ‘यसअघि ५५ वर्ष माथिका समूहलाई खोप दिने तयारी थियो । तर जोखिम र खोपको उपलब्धताको आधारमा ६५ वर्ष माथिको ज्येष्ठ नागरिकलाई पहिलो प्राथमिकता दिएका हौँ ।’

कोरोनाको जोखिम धेरै हुनेहरुले नै पहिले कोरोना विरुद्धको खोप पाउने छन् । ६५ वर्ष माथिका करिब १७ लाख जनसंख्या रहेको सरकारी तथ्यांक छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बिहान १० बजे त्रिवि शिक्षण अस्पतालमा खोप लगाएपछि दोस्रो चरणको खोप अभियानको सुरुवात हुनेछ । दोस्रो चरणको खोप अभियान सञ्चालनका लागि ६ हजार खोप केन्द्रको स्थापना गरिएको मन्त्रालयका सचिव लक्ष्मण अर्यालले जानकारी दिए । प्रतिदिन २ देखि ३ लाख जनालाई खोप लक्ष्य राखिएको उनले बताए । सचिव अर्यालका अनुसार प्राथमिकता निर्धारण गरेका सबैले चैतसम्म पहिलो मात्रा पाउनेछन् । कोभिसिल्ड खोपको प्रभावकारिता ७१ प्रतिशत रहेको र यो खोप कम्तीमा आठ हप्ताको फरकमा दुई मात्रा लगाउनुपर्ने हुन्छ ।

यसैबीच, आज थप ३ लाख ४८ हजार डोज कोभिड–१९ विरुद्दको खोप आउने भएको छ । कोभ्याक्स फ्यासिलिटी अन्तरगत नेपालले निःशुल्क रुपमा उक्त खोप पाएको हो । कोभ्याक्सले नेपालको खोप लगाउने जनसंख्या मध्ये २० प्रतिशतलाई पुग्ने गरी एक करोड ३० लाख डोज खोप उपलब्ध गराउने छ । उक्त खोपमध्ये पहिलो चरणमा आज ३ लाख ४८ हजार डोज खोप नेपाल आइपुग्ने भएको हो । कोभ्याक्सले हाल नेपालमा प्रयोगमा ल्याइएको सिरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको कोभिसिल्ड खोप नेपाललाई उपलब्ध गराउने भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले आइतवार सवा ११ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पहिलो खेप अन्तरगतको खोप आइपुग्ने जानकारी दिए ।

प्रतिक्रिया