वित्तीय संस्थाको नाफा २६ प्रतिशतले बढ्यो

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०७७/७८ को सात महिने अवधिमा ५ अर्ब ६५ करोड ६० लाख रुपैयाँ खुद नाफा गरेका छन् । यो नाफा गत आवको सोही महिनाको तुलनामा २५ दशमलव ८१ प्रतिशत बढि हो । गत आर्थिक वर्षको माघ महिनामा मात्र बैंक तथा वित्तीय संस्थाले ४ अर्ब ४९ करोड ६० लाख रुपैयाँ खुद नाफा गरेका थिए । तर, चालु आर्थिक वर्षको माघ महिनामा बैंक वित्तीय संस्थाले गरेको नाफा पुस महिनाको तुलनामा कम हो । चालु आवको पुसमा बैंक वित्तीय संस्थाले ८ अर्ब ३० करोड ९० लाख रुपैयाँ खुद नाफा गरेका थिए ।

पुस महिना चालु आर्थिक वर्षको दोस्रो त्रैमास समाप्तिको महिना भएकाले पनि बैंक वित्तीय संस्थाले साँवा ब्याज असुलिमा बढी ध्यान दिँदा नाफा बढी देखिएको हो । कोरोनाका कारण अर्थतन्त्रका अन्य क्षेत्र अझै पनि पुर्ववत रुपमा सञ्चालनमा आउन सकेका छैनन् । तर, अर्थतन्त्रको मध्यस्तता गर्ने वित्तीय क्षेत्रको भने नाफामा मात्र घटबढ भएको छ । आर्थिक गतिविधि बढेसंगै बैंक वित्तीय संस्थाले कर्जा प्रवाह बढाउन थालेपछि आगामी दिनमा बैंकहरुको नाफा बढ्ने आकलन बैकर्सहरुको छ ।
चालु आबको माघसम्ममा बैंक वित्तीय संस्थाले ४० अर्ब ६० करोड ६० लाख रुपैयाँ खुद नाफा गरेका छन । यो नाफा गत आवको सोही अवधिको तुलनामा थोरै हो । गत आर्थिक वर्षको सोही अवधिमा ४१ अर्ब २२ करोड ४० लाख रुपैयाँ खुद नाफा गरेका थिए । कोरोनाका कारण गिरावट आएको बैंक वित्तीय संस्थाको नाफा विगतका वर्षको तुलनामा कम भएपनि क्रमश सुधारको क्रममा रहेको छ ।

चालु आर्थिक वर्षको पुससम्ममा बैंक तथा वित्तीय संस्थाहरुले ३४ अर्ब ९५ करोड रुपैयाँ खुद नाफा गरेका थिए । यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम हो । गत आवको सोही अवधिमा बैंक वित्तीय संस्थाहरुले ३६ अर्ब ७२ करोड रुपैयाँ खुद नाफा गरेका थिए । चालु आर्थिक वर्षको माघसम्ममा वाणिज्य बैंकहरुले मात्रै ३५ अर्ब ९५ करोड ६० लाख रुपैयाँ खुद नाफा गरेको छन् । यो नाफा गत आवको सोही अवधिको तुलनामा ३.७ प्रतिशतले थोरै हो । गत आवको माघ महिनासम्ममा बैंकहरुले ३७ अर्ब ३३ करोड ४० लाख रुपैयाँ खुद नाफा गरेका थिए । त्यसैगरी चालु आर्थिक वर्षको माघसम्ममा विकास बैंकहरुले मात्रै ३ अर्ब ७८ करोड ५० लाख रुपैयाँ खुद नाफा गरेको छन् । यो नाफा गत आवको सोही अवधिको तुलनामा १८.२९ प्रतिशतले धेरै हो । गत आवको माघ महिनासम्ममा विकास बैंकहरुले ३ अर्ब २० करोड रुपैयाँ खुद नाफा गरेका थिए । यसैगरी, चालु आर्थिक वर्षको माघ सम्ममा सञ्चालनमा रहेका फाइनान्स कम्पनीले मात्र ८६ करोड ५० लाख रुपैयाँ खुद नाफा गरेका छन् । यो नाफा गत आर्थिक वर्षको माघसम्मको तुलनामा प्रतिशतले २६ धेरै हो । गत आवको सोही अवधिमा फाइनान्स कम्पनीले ६८ करोड ६० लाख रुपैयाँ खुद नाफा गरेका थिए ।

प्रतिक्रिया