चन्दका केन्द्रीय नेता धर्मेन्द्र बास्तोला रिहा

काभ्रेपलाञ्चोक । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका केन्द्रीय नेता धर्मेन्द्र बाँस्तोलालाई आज यहाँबाट रिहाइ गरिएको छ । सरकार र उक्त पार्टीबीच भएको सहमति घोषणा गर्ने आजकै दिन पार्टीका पश्चिम कमाण्ड तथा विदेश विभाग प्रमुख बास्तोलालाई जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको हो ।

करिब दुई सातादेखि धुलिखेलस्थित प्रहरी हिरासतमा रहेका बास्तोलालाई जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक भूपेन्द्रबहादुर खत्रीले स्थानीय सञ्चारकर्मीसामु बिहान १०ः०० बजे सार्वजनिक गरेका थिए ।

पार्टीका सचिवालय सदस्यसमेत रहेका बास्तोला गत पुस अन्तिम साता ललितपुर र मकवानपुरको सीमावर्ती क्षेत्रबाट पक्राउ परेका थिए । पक्राउपछि विभिन्न प्रहरी हिरासतमा राख्दै धुलिखेल ल्याइएको हो ।

रिहा गरेपछि बास्तोलाका शुभेच्छुकले ‘वैज्ञानिक समाजवाद जिन्दावाद, वीर शहीद लालसलाम’ जस्ता विभिन्न नाराबाजी गरेका थिए । बास्तोलाले सार्वजनिक भएलगत्तै सञ्चारकर्मीसँग कुरा गर्दै सरकारले राजनीतिक तवरले देशका समस्या समाधान गरौँ भन्ने विषय न्यायको सम्मान भएको उल्लेख गर्दै देशको समस्या समाधान गर्न आफूहरु लाग्ने प्रतिबद्धता जनाए । ‘देशको समस्या समाधान गर्न हामी अगाडि बढ्छौँ र सफल पनि हुनेछौँ’, उनले भने ।

बास्तोलालाई सार्वजनिक गरिएलगत्तै प्रहरीकै सुरक्षामा काठमाडौं लगिएको छ । सरकारसँग भएको सहमति घोषणा कार्यक्रममा सहभागी गराउन बास्तोलालाई काठमाडौं लगिएको हो ।

सरकार र चन्द नेतृत्वको नेकपाले बिहीबार तीनबुँदे सहमति गर्दै सो पार्टीले आफ्ना सम्पूर्ण राजनीतिक विषयको समाधान संवादका माध्यमबाट गर्ने, आफ्ना सम्पूर्ण राजनीतिक क्रियाकलाप शान्तिपूर्णरुपमा सञ्चालन गर्ने र नेपाल सरकारका तर्फबाट लगाइएको पार्टीमाथिको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजीलगायत सहमतिमा समेटिएको छ । यसअघि सरकारले चन्द नेतृत्वको नेकपामाथि २०७५ फागुन २८ गते प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

प्रतिक्रिया