प्रधानमन्त्री ओलीले सम्झिए झापा आन्दोलन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको जीवनमा समृद्धि, समानता, सामाजिक न्याय र सुखका साथ देशको स्वाधीनता, अखण्डता र स्वाभिमान हासिल गर्ने कार्यमा सक्रिय भएर लाग्ने बताएका छन् । झापा आन्दोलनको ४८ वर्ष पूरा भएको अवसरमा झापा आन्दोलनमा शहीदहरुको स्मृति दिवसका अवसरमा आज श्रद्धाञ्जलि वक्तव्य जारी गर्दै प्रधानमन्त्री ओलीले त्यस्तो बताएका हुन् ।

त्यस्तै सरकारले राजनीतिक स्थिरता कायम गर्दै जनताको जीवनमा परिवर्तन ल्याउन र स्थिरता कायम गर्ने लक्ष्यसहित अविचलित रुपमा काम गरिरहेको बताए । आफूले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सरकारले शहीदहरुको सपना साकार पार्दै देशलाई समृद्ध र जनतालाई सुखी बनाउँने काम गरिरहेको बताए ।

जनताले आफ्ना माग शान्तिपूर्ण रुपमा राख्न पाउने संवैधानिक बाटाहरु बन्द रहेको अवस्थामा जनताको आन्दोलनमाथि निरङ्कुश सत्ताले गरेको दमनको प्रतिवादस्वरुप झापा आन्दोलनको उदय भएको प्रधानमन्त्री ओलीले उल्लेख गरेका छन् ।

प्रधानमन्त्री ओलीद्वारा जारी वक्तव्यमा भनिएको छ, ‘कम्युनिस्ट पार्टीले आफ्नो स्थापना कालमा सैद्धान्तिक रुपमा राखेको गणतन्त्रको मागलाई जनस्तरमा विस्तार गर्दै विभाजित कम्युनिस्ट आन्दोलनलाई सवल बनाउन यो आन्दोलन एउटा गौरवपूर्ण प्रस्थान बिन्दु थियो।’

साथै झापा आन्दोलन सञ्चालन गरिरहँदा नेपालमा पञ्चायती व्यवस्था र निरंकुश राजतन्त्रलाई उखेलेर फाल्ने र सामाजिक न्यायसहितको समतामूलक समाज तथा गणतन्त्र स्थापना गर्ने उदेश्य राखेको र त्यो पूरा भएको बताए ‘त्यस आन्दोलनको सञ्चालन गरिरहँदा हामीले नेपालमा पञ्चायती व्यवस्था र निरङ्कुश राजतन्त्रलाई उखेलेर फाल्ने र सामाजिक न्यायसहितको समतामूलक समाज तथा गणतन्त्र स्थापना गर्ने उद्घोष गरेका थियौँ । हामीले त्यस उद्घोषलाई सार्थक बनाउँदै गणतन्त्र स्थापना गरेका छौँ ।’ प्रधानमन्त्री ओलीले भने ।

तत्कालीन नक्सलवादी सशस्त्र विद्रोहबाट प्रत्यक्ष प्रभावित हुँदै वि।सं २०२८ मा युवा कम्युनिष्टहरुले झापाको ग्रामीण क्षेत्रबाट शुरु गरेको किसान आन्दोलनलाई इतिहासकारहरुले कतै ‘झापा विद्रोह’ र कतै ‘झापा वर्ग सङ्घर्ष’को संज्ञा दिएका छन् ।

झापा विद्रोहमा लागेर चन्द्रगढी कारागारमा थुनिएका योद्धा रामनाथ दाहाल, नेत्र घिमिरे, कृष्ण कुइँकेल, नारायण श्रेष्ठ र वीरेन राजवंशीलाई वि।सं २०२९ फागुन २१ गते जेल सार्ने निहुँमा पञ्चायती शासकले इलामको सिमानामा पर्ने सुखानी जङ्गलमा गोली हानी हत्या गरेका थिए । त्यही दिनको सम्झनामा हरेक वर्ष फागुन २१ गते ‘सुखानी शहीद स्मृति दिवस’ मनाउने गरिन्छ ।

प्रतिक्रिया