सडक पुगेपछि गाउँमा आएको खुशीयाली

बेनी । बाजागाजा घन्काइएको छ । मानिसहरु बाजातालमा नाचगानमा व्यस्त छन् । जिल्लाका ठाउँ ठाउँका मानिस यहाँ जम्मा भएका छन् । सयौँ मानिसले हर्षोल्लास मनाइरहेका बेला ९३ वर्षीया उडिमा कमिनि र ९६ वर्षीय दलबहादुर गर्वुजाको हातमा कैँची थमाइयो । मोटर बाटोको छेवैमा सिंगारिएको गेटमा रातो रिबन काट्न उडिमा र दलबहादुरको हातमा कैँची दिइएको हो । रघुगंगा गाउँपालिका–४ दर्मिजामा आयोजित भव्य समारोहबीच ज्येष्ठ नागरिकको तर्फबाट दुबै जनाले संयुक्त रुपमा रिबन काटेर सडकको उद्घाटन गरे । उनीहरुले रिबन काट्नासाथ यता कार्यक्रममा उपस्थित सबैले परर ताली बजाएर त्यस कार्यको स्वागत गरे । गलेश्वर–पिप्ले–मौवाफाँट–दग्नाम–चिमखोला कुइनेमंगले सडकखण्ड अन्तर्गत रघुगंगा गाउँपालिका–४ दग्नामको अजिंगर भिरमा पुगेर रोकिएको सडक यसै वर्ष मात्रै गाउँपालिका, जलविद्युत् निर्माण गर्ने तुँदी पावर र संयुक्त ऊर्जा कम्पनीको साझेदारीमा विष्फोटक पदार्थको सहायताले ट्र्याक निर्माण गरिएको छ । सडकको ट्र्याक निर्माण भएर नियमित रुपमा सवारी वारपार गर्न थालेसँगै भव्य समारोह आयोजना गरी बाजागाजासहित फागुन १७ गते सडकको उद्घाटन गरिएको हो । सडक उद्घाटनका लागि आयोजना गरिएको समारोह पनि भव्य थियो ।

सडक निर्मित अन्य संरचनाको उद्घाटनमा मन्त्री, सांसद र नेताहरुकै दौडधुप हुने गर्दछ । देशव्यापी रुपमा यस्तो प्रचलन रहेका बेला सडक उद्घाटनमा रघुगंगाले यो नयाँ प्रयोग गरेको हो । गाउँपालिकाकै गौरवको आयोजनाको रुपमा सम्पन्न भएको यस योजनाको उद्घाटनमा मन्त्रीदेखि नेतासम्म कसलाई लैजाने भन्ने लामै चर्चा चलेको थियो । तर गाउँपालिकाले सडक योजनाको प्रत्यक्ष लाभान्वित वडाका ज्येष्ठ नागरिकको हातबाट सडकको औपचारिक उद्घाटन गर्ने निर्णय लियो । रघुगंगा गाउँपालिका–८ कुइनेमंगलेकी दलित समुदायकी ज्येष्ठ नागरिक उडिमा र वडा नं ४ दर्मिजाका जनजाती ज्येष्ठ नागरिक दलबहादुरले रिबन काटेर सडकको उद्घाटन गरे ।

त्यस्तै सो समारोहको उद्घाटन भने वडा नं ७ चिमखोलाकी १० वर्षीया बालिका लिस्मा पुनले गरिन् । उनले दीप प्रज्वलन गरेर समारोहको उद्घाटन गरेकी थिइन् । गाउँबाटै गाडीमा चढेर आफन्तसँगको सहायताले उद्घाटनस्थलसम्म आएकी कुइनेमङगलेकी उडिमाले जीवनमै पहिलो पटक यसरी उद्घाटन गर्ने अवसर पाएको बताइन् । ‘मलाई आज अति नै खुशी लागेको छ, त्योभन्दा बढी धक पनि लागेको छ, जीवनको यो उमेरमा आएर यति ठूलो काममा सहभागी हुन पाएँ, भाग्यमानी नै रहेछु’, उनले भनिन् । खुसीले मुस्कुराएकी उडिमाले सडकमा रिबन काट्दै गर्दा विगतमा गाडी चढ्न सदरमुकाम बेनी पुगेको स्मरण पनि गरिन् ।

जीवनको लामो समय अजिंगर पहाडको अक्करे भिरमा डोरी र घाँस समातेर वारपार गरेका दलबहादुरले पनि आफ्नै पालामा गाउँमै मोटर आउने कल्पनासमेत नभए पनि त्यो सम्भव भएको भन्दै खुशी बाँडे । ‘भिरमा खुट्टा टेक्नसमेत मुस्किल थियो, त्यही भिरमा ज्यानलाई जोखिममा राखेर नियमितजसो वारपार पनि गरियो, अहिले यही भिरमा मोटर चल्ने सडक बन्यो, भाग्यबस सडकको रिबन काट्ने अवसर पनि पाएँ’ उनले भने ।

अक्करे पहाड अजिंगर भिरमा रोकिएको सडकलाई तीन वर्षको प्रयासपछि स्थानीय सरकारका साथै प्रदेश, संघ र जलविद्युत् निर्माण गर्ने कम्पनीसँगको साझेदारीमा सडकको ट्र्याक निर्माण सम्भव भएको हो । बेग हुँदै चिमखोला पु¥याइएको सडक घुमाउरो भएकाले ट्याक्टरमार्फत् सामान ढुवानी र अत्यावश्यक रुपमा मात्रै प्रयोग हुँदै आएको थियो । बेनीदेखि बेग हुँदै चिमखोला–घ्याँसीखर्क सडक ५६ किलोमिटर लामो रहेको छ ।

अहिले अजिंगर भिरमा सडक निर्माण भएपछि बेनी–मौवाफाँट–दग्नाम–दरमिजा– चिमखोला–घ्याँसीखर्क सडक जम्मा करीब ३६ किलोमिटरमै छोटिएको छ । सिधा सडक सञ्जालले करीब आधा दूरी छोटिएको छ भने नियमित आवतजावतले सडकको उपयोग र प्रभावकारितासमेत बढाएको छ । घुमाउरो बाटोबाट छ घण्टा लाग्ने यात्रा अब तीन घण्टामै पार गर्न सकिने भएको छ । आर्थिक वर्ष २०७४÷७५ देखि हालसम्म यस सडकखण्डमा रु १७ करोड बढी बजेट खर्च भएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले गाउँपालिका, प्रदेश र संघीय सरकारबाट यस सडकखण्डमा कूल रु चार करोड पाँच लाख ७२ हजार ६८७ खर्च भएको जानकारी दिए । त्यसमध्ये गाउँपालिबाट रु तीन करोड ६२ लाख ६० हजार ७५६, प्रदेश सरकारबाट रु २१ लाख ५४ हजार ४६६ र संघीय सरकारमार्फत् स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमअन्तर्गत रु २१ लाख ५७ हजार ४६५ खर्च भएको छ भने गाउँपालिकाका अध्यक्ष भण्डारीले समेत व्यक्तिगत रुपमा रु १० लाख परिचालन गरेका छन् । – रासस

प्रतिक्रिया