राहदानी बनाउने बढ्दै

काठमाडौं । कोरोना महामारीले गर्दा वैदेशिक रोजगारीमा जानेको संख्या ह्वातै घटेको थियो । कोरोना महामारी विस्तारै नियन्त्रणमा आउन थालेपछि अहिले फेरी बैदेशिक रोजगारीमा जाने युवाहरुको संख्या बढ्न थालेको छ । राजधानी भित्र र बाहिर रहेका म्यानपावर कम्पनीमा युवायुवतिहरुको चहलपहल बढ्न थालेको छ । रोजगारीका लागि मागपत्रहरु आउन थालेको वैदेशिक रोजगार व्यावसायीहरुले बताएका छन् । रोजगारीका लागि मागपत्र आउन थालेपछि अहिले राहदानी विभागमा पासपोर्ट बनाउनेको संख्या ह्वातै बढ्न थालेको छ । कोरोनाको संक्रमणको दर घटे संगै राहदानी बनाउने नेपालीको संख्या बढ्न थालेको छ ।

काठमाडौंको नारायणहिटीस्थित राहदानी विभागका अनुसार वैदेशिक रोजगारीमा जान चाहने युवाको संख्या बढेसँगै राहदानीका लागि आवेदन दिनेको संख्या क्रमिक रुपमा बढ्न थालेको विभागको भनाई छ । राहदानी विभागका निर्देशक (प्रवक्ता) राजेन्द्र पाण्डे राहदानी बनाउनेको संख्या पछिल्लो समय बढदै गएको बताए । खास गरि वैदेशिक रोजगारीमा जाने यूवा राहदानी बनाउन आवेदन दिने गरेको पाइएको विभागको भनाई छ । पछिल्लो समय विभागमा राहदानीको लागि आवेदन दिने भन्दा जिल्लाबाट आवेदन दिनेको संख्यामा वृद्वि भएको प्रवक्ता पाण्डे बताउछन् ।

यसअघि डिभी भर्नका लागि राहदानी बनाउनेको संख्या निक्कै उच्च थियो । त्यसबेला दैनिक पाँच हजार भन्दा बढिले राहदानी बनाउने आवेदन दिने गरेका थिए । अहिले दैनिक पाँचदेखी सात सय जनाले राहदानी बनाउन आवेदन दिने गरेको विभागको भनाई छ । हालसम्म नेपालमा कुल जनसंख्याको करिव साढे २१ प्रतिशतले राहदानी लिएका छन् । विभागका अनुसार सन्२०२० सम्म ६४ लाख ८४ हजार ६२ जनाले राहदानी लिएका छन् । यस्तै, आर्थिक वर्ष २०७६/७७ मा ३ लाख ९८ हजार ८४२ जनाले राहदानी लिएको विभागले जानकारी दिएको छ ।

प्रतिक्रिया