सुजनको नयाँ गीत ‘लजाएर’

काठमाडौं । गायक सुजन चापागाईंको ‘लजाएर’ बोलको गीत सार्वजनिक भएको छ । करिब दुई वर्षअघि निर्देशक नवीन चौहानलाई गायक सुजनले ‘लजाएर’ बोलको गीत गाएर सुनाएका थिए । नवीन सुजनको गायकीबाट निकै प्रभावित भएका थिए । सो गीत सुनेपछि निर्देशक नवीनले गायक सुजनलाई ‘तीनपाते’ गीत गाउने प्रस्ताव राखेका थिए । जुन गीत पछि धेरैले रुचाए । जसको भिडियोले करोडभन्दा बढी युट्युब भ्युज पाउन सफल भयो । त्यसपछि नवीन र सुजनले फेरि अर्को गीतमा गाउने सहकार्य गरेका छन् । पछिल्लो पटक गायक सुजनको आवाज र नवीनको निर्देशनमा ‘लजाएर’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । गायक सुजनको युट्युब च्यालनमार्फत् गीतको भिडियो सार्वजनिक गरिएको छ । शैलेश गिरीको शब्द रहेको उक्त गीतमा गायक सुजनले नै संगीत भरेका छन् । गीतको भिडियोमा नयाँ प्रयोग गर्न रुचाउने निर्देशक नवीनको यो छैटौं भिडियो हो ।

नवीनले संवाद र दृश्यलाई कलात्मक र मौलिक बनाउन भिडियोमा केही नयाँ प्रयोग पनि गरेका छन् । गायक सुजनले यसअघिका गीत ‘तीनपाते’ र ‘गाला पुक्क’ भन्दा केही भिन्न देखाउने कोशिस गरेका छन् । गीतको भिडियोमा गायक सुजनसँगै प्रिया लिम्बूको अभिनय छ । भिडियोमा गायक र ‘फ्यान’ बीच गाँसिने प्रेमसम्बन्धलाई आकर्षक रुपमा देखाइएको छ । भिडियोमा ‘तीनपाते’ बाट चर्चामा आएको जोडी मिलन खत्री र अनु काफ्लेको समेत अभिनय छ । त्यस्तै, भिडियोमा सरिना गुरुङ, शिव थापा, सुजन भट्टराई लगायतका कलाकारको समेत अभिनय छ ।

प्रतिक्रिया