दुर्गमका कर्मचारी र सर्वसाधारणका दुःख

जाजरकोट । फागुन महिना शुरु हुँदै गर्दा सबैलाई तातो मौसमको शुरुआत भएको अनुभूति हुने गर्छ । निम्न तथा गरिब परिवारका स्थानीयवासीको घरमा एकखालको खुशी नै आउने गर्दछ । चिसो मौसम सबैका लागि उस्तै खालको भए पनि हुनेखाने र आर्थिक रूपमा पछि परेकाहरूको जीवनशैलीमा भने फरक पर्दै आएको छ । कर्णाली प्रदेशका हिमाली जिल्लामा बस्ने स्थानीयवासीलाई भने चिसो र गर्मी मौसम दुवै खास थाहा नहुने गरेको छ । छ महिनाभन्दा बढी समय हिमपातका कारण एक गाउँबाट अर्को गाउँमा जानसमेत प्राकृतिक नाकाबन्दी हुने ठाउँमा चिसो र तातो मौसम कस्तो हुन्छ भन्ने अनुभूति गर्न खासै नपाउने गरेको शे–फोक्सुण्डो गाउँपालिका डोल्पाका प्रमुख प्रशासकीय अधिकृत विष्णु न्यौपानेले बताए ।

चिसो मौसममा ज्यान जोगाउन सदरमुकाम दुनैलगायतका ठाउँमा आफ्नो थातथलो छाडेर अधिकांश मानिस आउने गर्छन् । जब तातो मौसम शुरु हुन्छ (हिउँ पग्लिन्छ), अनि सर्वसाधारण आफ्नो थातथलोमा फर्किने गरेको अधिकृत न्यौपानेको भनाइ छ । केही स्थानीयवासी सोही हिमपात र प्राकृतिक नाकाबन्दीको बीचमै थातथलो नछाड्ने भएकाले सरकारी सेवा पुर्याउनका लागि भए पनि दुई दिन पैदल हिँडेर कार्यक्षेत्रमा जानुपर्ने बाध्यता रहेको न्यौपानेले पीडा सुनाए । ‘जनताको काम हो, जान्न भन्न कहाँ पाइयो र ?’, उनले भने । उपल्लो डोल्पाका अधिकांश सरकारीले कार्यालयका कर्मचारी उपल्लो डोल्पामा विकास निर्माणका काम गर्न निकै मुस्किल भएको बताउँदै आएका छन् । जानु मात्र ठूलो कुरा नभएको बताउँदै उनीहरू खाना, आवासको व्यवस्थापन अर्को चुनौती भएको पीडा सुनाउँछन् ।

कर्णालीका हुम्ला र मुगुमा समेत यही समस्या हुँदै आएको छ । बिरामी हुँदा उपचार गर्ने स्वास्थ्य संस्थासमेत नहुँदा ज्यान अचानोमा राखेर सेवा प्रवाह गरिरहेको जस्तो अनुभूति हुने कर्मचारी बताउँछन् । अक्सिजन अभावका साथै आवश्यक बन्दोबस्तीका सामग्री लैजानसमेत मुस्किल हुँदा सेवा प्रवाह निकै खर्चिलो हुँदै आएको छ । छिमेकी मुलुक चीनसँग सीमा जोडिएको र भाषासमेत नबुझ्दा काम गर्न मुस्किल हुने कर्मचारी बताउँछन् । सदरमुकाम दुनैमा रु एक हजार ९०० मा पाइने एक बोरा (२५ केजी) चामल उपल्लो डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका प्रशासकीय केन्द्र सालदाङमा रु पाँच हजार मूल्य पर्दछ । गाउँपालिकाको केन्द्रमा बत्ती नहुँदा काम गर्न मुस्किल हुँदै आएको कर्मचारी बताउँछन् । फोन, इन्टरनेट त धेरै ठूलो कुरा भएको अधिकृत न्यौपानेले बताए । मौसम छिनछिनमै परिवर्तन हुँदा कतिखेर के हुन्छ थाहा नहुने उनले जानकारी दिए । एक वडाबाट अर्को वडामा जानका लागि मात्र दुई दिन बढी लाग्ने भएकाले सेवा दिनसमेत मुस्किल मात्र होइन, कहाँ के भइरहेको छ भन्ने सूचनासमेत सजिलै दिन र लिन सक्ने अवस्था नरहेको उनको भनाइ छ ।

बाटोमा बस्ने बासदेखि उपचार गर्ने स्वास्थ्य संस्था नहुँदा भगवान् भरोसामा यात्रा गर्नुपर्ने पर्ने पीडा यहाँका कर्मचारीदेखि सर्वसाधारणसम्मलाई हुँदै आएको छ । शे–फोक्सुण्डो गाउँपालिकाको प्रशासकीय केन्द्र पुगेपछि मात्र टेलिफोनको पहुँचमा पुग्ने अवस्था रहन्छ । कात्तिकदेखि हिमपात शुरु हुन्छ भने फागुनको अन्तिममा हिमपात बन्द हुन्छ । विकास निर्माणको काम गर्दा सिमेन्ट, बालुवा ढुंगासमेत चौँरीमा बोकाएर लिँदा भारी खर्च हुने गरेको छ । सामानको मूल्यभन्दा ढुवानी भाडा बढी खर्च हुँदा हैरान हुने गरेको छ । भौतिक पूर्वाधारको काम गर्नका लागि आवश्यक पर्ने काठ निकुञ्जको अनुमति भएपछि मात्र पाइन्छ ।

त्यस्तै कम पीडा छैन डोल्पोबुद्ध गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौतम पङ्ज्ञानीलाई पनि । सुविधासम्पन्न ठाउँमा बसेको आफूलाई दुर्गमको पनि अनुभव र सेवा लिनका लागि आफैँ रोजेर डोल्पा आएको बताउने पङ्ज्ञानी विकासमा राज्यको स्रोतसाधन समानुपातिकरूपमा वितरण नहुँदा पिछडिएका जिल्ला विकासको मूल प्रवाहमा आउन समय लागेको बताउछन् । फोन गर्नसमेत निश्चित ठाउँ तथा अग्ला डाँडामा जानुपर्ने त्यो पनि पालो पर्खनुपर्ने पीडाको बीचबाट उपल्लो डोल्पाका सर्वसाधारणले हैरानी खेपेको यथार्थ उनले सुनाए ।
सर्वसाधारण बिरामी हुँदा हेलिकोप्टरमा उद्धारबाहेक अन्य उपाय नभएको गौतमको भनाइ छ । हुनेखाने मानिस हेलिकोप्टरमार्फत उद्धार गरी उपचार गर्छन् तर गरिबहरू भने मृत्यु कुरेर बस्नुपर्ने बाध्यता छ । डोल्पोबुद्ध गाउँपालिकाका स्थानीयवासी शुद्ध पानी पिउनसमेत समय हेरेर पानी जम्मा गर्नुपर्ने पीडामा छन् । – रासस

प्रतिक्रिया