गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला : सहयोग घोषणा ६९ करोड, उठ्यो ९ करोड

काठमाडौं । धुर्मुस सुन्तली फाउण्डेसनले जनस्तरबाट चितवनको भरतपुरमा निर्माण गरि रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको सोमबार आम्दानी र खर्चको विवरण सार्वजनिक गरेको छ । रंगशाला निर्माणको लागि गतवर्ष माघमा धन धान्याचल महोत्वस आयोजना गरिएको थियो । उक्त महोत्वसमा विभिन्न संघ संस्था र व्यक्तिहरुबाट ६९ करोड रुपैयाँ सहयोग गर्ने वाचा गरिएको थियो । तर वाचा गरेको अनुसार रकम भने संकलन नभएको बताइएको छ ।

फाउण्डेसनले सोमबार हाम्रो रंगशालामा मेरो कुर्सी भन्ने अवधारणा सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा घोषणा भएमध्ये बाट अहिले सम्म ८ करोड ६९ लाख ६२ हजार मात्र उठेको जानकारी गराएको छ । रंगशाला निर्माणमा हालसम्म ४३ करोड ४८ लाख ६ हजार खर्च भएको छ । संकलन भने ३२ करोड ३० लाख २४ हजार छ । समग्रमा रंगशाला निर्माणमा ११ करोड १७ लाख ८२ हजार ऋणमा हरेको बताइएको छ । रंगशाला निर्माणको लागि कुल ३ अर्ब ५५ करोड लाग्ने अनुमान गरिएको छ । कुल लागत रकमको ९.१० प्रतिशत उठेको छ ।

धन धान्याचलमा घोषणा गरेर रकम दिन बाँकी मध्येकाले अब कुर्सीमा आफ्नो वा संघ संस्थाको नाम लेखाउने गरि भूक्तानी पनि गर्न मिल्ने फाउन्डेसका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’ले जानकारी दिए । ‘त्यो बेला मनन र रकम हन्तान्तरण गर्ने सबैलाई धन्यवाद’, उनले भने,‘बाँकी रकम उठ्नेक्रममा छ । कबोल भएको रकम चाँडै उठ्नेमा आशावादी छौं ।’ रंगशालामा निर्माणमा आफूहरुले संयोजनको भूमिका मात्र निर्वाह गरेको कट्टेलले दोहोराएका छन् ।

‘यो अभियान राष्ट्रका लागि केहि गर्ने एउटा अवसर हो । सबैले मैले सहयोग गरेको खण्डमा मात्र सफल हुन्छ भन्ने भावना लिन आग्रह गर्दछु । तपाईंहरुले दिएको सद्भाव, माया, सहयोग र हौसलाले कुनैपनि समय निराश नभई काम गरि रहेका छौं, उनले भने,‘ यो एउटा यस्तो परियोजना हो जसले आत्मा सन्तुष्टि दिन्छ । सबै नेपालीको रंगशाला हो । खेलकुदको एउटा मन्दिर हो । इच्छा र शक्ति भएमा यो देशमा असफल भन्ने केहि कुरा छैन ।’

उनले थपे, ‘यो एउटा इमान्दारिताको यात्रा हो । हामीले अपनत्व गरेको खण्डमा मात्र रंगशाला निर्माणको लागि सम्भव छ । रंगशालामा मात्र नभएर हरेक नेपालीको मन, भावना, इच्छा र शक्ति पनि ठडिने हो ।’ रंगशाला निर्माण समिति सल्लाहकार हरिवंश आचार्यले यो साच्चिँकै महान काम भएको बताए । हाम्रो रंगशालामा मेरो कुर्सी भन्ने अवधारणाले आर्थिक सहयोग गर्न धेरै सहज हुने हरिवंशले बताए । अर्का सल्लाहकार मदनकृष्ण श्रेष्ठले उक्त अवधारणले हाम्रो र मेरो मिसिएपछि झन बलियो हुने विश्वास ब्यक्त गरे ।

रंगशाला खेलकुद समितिका संयोजकत्व तथा तेक्वान्दोका कीर्तिमानी पदकधारी दिपक विष्टले आफूहरुले गर्नुपर्ने काम धुर्मुस सुन्तलीे गरेकोमा धन्यावाद दिए । पत्रकार सम्मेलनमा बोल्दै विष्टले रंगशाला निर्माणमा सहयोग गर्न देश विदेशमा रहने सम्पूर्ण नेपालीमा अनुरोध पनि गरे ।

प्रतिक्रिया