बी डिभिजन लिगमा बाँसबारी र मध्यपुर विजयी

काठमाडौं । शहीद स्मारक बी डिभिजन लिगमा बाँसबारी युथ क्लब र मध्यपुर युथ एसोसिएसन विजयी भएका छन् । निशान सुनारको दुई गोल मद्दतमा एराउन्ड दि हिमालय बाँसबारी क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा रेलिगेसन जोनमा संघर्ष गरिरहेको पुल्चोक स्पोर्टिङ क्लबलाई २–० ले पराजित गरेको हो । एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो । खेलको ३८औं मिनेटमा भिष्मराज घिमिरेले पेनाल्टी बक्सभित्र मिलाइदिएको पासमा निशान सुनारले बललाई नियन्त्रणमा लिन नसक्दा बाँसबारी अग्रता लिनबाट चुक्यो ।

पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा भिष्मकै पासमा निशान सुनारले अवसर पाएपनि सदुपयोग गर्न सकेनन् । ४७औं मिनेटमा निशान सुनारले गोल गर्दै बाँसबारीलाई १–० को अग्रता दिलाए । सब्सिच्युट गोलरक्षक छेवाङ झाक्री अघि बढेको अवस्थामा प्रतिकार राउतको पासमा निशानले पेनाल्टी बक्सबाहिरबाट गरेको प्रहारलाई पुल्चोकका कप्तान शंकर राईले बचाउने प्रयास गरेपनि सफल भएन ।

६९औं मिनेटमा निशान सुनारले व्यक्तिगत दोस्रो गोल गर्दै बाँसबारीको जित पक्का गरे । प्रतिकार राउतको पासमा निशानले गरेको प्रहारलाई गोलरक्षक छेवाङ झाक्रीले बचाउने प्रयास गरेपनि हातमा लाग्दै गोलमा परिणत भएको थियो । जितपछि बाँसबारीले शीर्षस्थानको सातदोबाटो र खुमलटार युथ क्लबसँगको अंक दुरी छोट्याउदै उपाधि सम्भावनालाई जीवितै राखेको छ । बाँसबारीको ८ खेलबाट १८ अंक पुगेको छ ।

शीर्षस्थानको सातदोबाटोको २२ तथा खुमलटारको १९ अंक छ । पराजित पुल्चोक २ अंक जोडेर पुछारमा रहँदा रेलिगेसनको सम्भावना बढेको छ । लिगमा अब तीन राउन्डको खेल बाँकी छ । लिगमा बुधबार दुई खेल हुनेछ । पहिलो खेलमा नयाँबस्ती युथ क्लब र टुसाल क्लब तथा दोस्रो खेलमा खुमलटार युथ क्लब र ब्वाइज युनियनबीच प्रतिस्पर्धा हुनेछ ।

यस्तै मध्यपुर युथ एसोसिएसनले श्री कुमारी क्लबमाथि २–१ को पूनरागमन जित निकालेको छ । मध्यपुरले एक गोलले पछि परेको अवस्थामा पूनरागमन जित हात पारेको हो । मध्यपुरको जितमा कैलाश लामिछाने खत्री र कप्तान धिरज श्रेष्ठले गोल गरे । श्री कुमारीका आशिष राईको गोल सान्त्वना बन्यो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा मंगलबार भएको प्रतिस्पर्धात्मक खेलको ४०औं मिनेटमा आशिष राईले गोल गर्दै श्री कुमारीलाई १–० को अग्रता दिलाए । मिसन लामाको क्रसलाई सोनित दाहालले क्लियर गर्न नसकेको बललाई आशिष पेनाल्टी बक्समा दुई डिफेन्डरलाई बिट गर्दै गोल गर्न सफल भएका थिए । ४५औं मिनेटमा कैलाश लामिछाने खत्रीले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । भुपाल सिंह गुरुङको क्रसमा कैलाशले पेनाल्टी बक्सभित्रबाट चेस्टले सहजै गोल गरेका थिए ।

दोस्रो हाफमा सुरुमै कप्तान धिरज श्रेष्ठको गोलमार्फत मध्यपुरले खेलमा २–१ को अग्रता लिन सफल भयो । धिरजले सन्जीव थापा मगरको पासमा धिरजले एक डिफेन्डरलाई बिट गर्दै गरेको प्रहार गोलरक्षकले रोक्ने कुनै मौका नै पाएन । त्यसपछि पनि मध्यपुरले श्री कुमारीलाई दवावमा राखेपनि थप गोल निस्कन नसक्दा मध्यपुर २–१ को विजयी हुन सफल भयो । जितसँगै मध्यपुर ८ खेलबाट ७ अंक जोडेर आठौं स्थानमा उक्लिएको छ । पराजित श्री कुमारी ७ अंक जोडेर नै नवौं स्थानमा झरेको छ ।

प्रतिक्रिया