मेयर कप महिला क्रिकेट प्रतियोगता हुने !

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले ललितपुर महानगरपालिका सहयोगमा ललितपुर मेयर कप–२०७७ महिला टि२० क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ । काठमाडौं मेयर कप–२०७७ पुरुष एकदिवसिय क्रिकेट प्रतियोगिता सकिए लगत्तै चैत्र पहिलो सातादेखि ललितपुर मेयर कप महिला क्रिकेट प्रतियोगिता गर्ने तयारी गरि रहेको क्यान निकट स्रोतले जानकारी दिएको छ । ललितपुर मेयर कप महिला क्रिकेट प्रतियोगितामा पनि ५ टोली नै हुने छन् ।

प्रतियोगितामा गत पुषमा दाङको लमहीमा सम्पन्न प्रधानमन्त्री राष्ट्रिय महिला टि२० क्रिकेट प्रतियोगिता सेमिफाइनलमा पुगेका चार टोलीहरु प्रदेश एक, नेपाल एपिएफ क्लब, सुदूरपश्चिम र लुम्बिनी प्रदेशसँगै ललितपुर महानगरको एउटा टोली बन्ने छ । ललितपुरको टोलीमा समूह चरणबाटै बाहिरिएका प्रदेश २, बागमती, गण्डकी र कर्णाली प्रदेशबाट खेल्दै उत्कृष्ट प्रर्दशन गर्ने खेलाडीहरु छनोट गरि टोली निर्माण हुने छ । यस प्रतियोगिताले आगमी सेप्टेम्बरमा मलेसियामा नेपालले खेल्ने एसिया छनोट टि२० विश्वकपलाई धेरै सहयोग पुग्ने आशा गरिएको छ । नेपालले खेल्ने एसिया छनोट सन् २०२३ मा दक्षिण अफ्रिकामा हुने टि२० विश्वकपको लागि ग्लोबल छनोटमा पुग्ने सुरुवाती यात्रा हो । उक्त एसिया कप छनोट जित्न सके नेपालले ग्लोबल छनोटमा स्थान बनाउने छ ।

पुसमा भएको प्रधानमन्त्री महिला कपको फाइनलमा विभागीय टोली एपिएफलाई ६ रनले हराउँदै प्रदेश नम्बर एक इतिहासमा पहिलो पटक राष्ट्रिय च्याम्पियन बनेको थियो । काठमाडौं मेयर कप पुरुष प्रतियोगिता फागुन २२ देखि २९ सम्म हुँदै छ । माघमा सम्पन्न प्रधानमन्त्री कप पुरुष एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताका चार वटा सेमिफाइनलिस्ट टिमहरू त्रिभुवन आर्मी क्लब, नेपाल एपीएफ क्लब, नेपाल पुलिस क्लब र बागमती प्रदेशसँगै काठमाडौं महानगरपालिकाको टिमबीच प्रतिस्पर्धा हुँदै छ । काठमाडौंका महानगरपालिका टोलीमा बागमती बाहेक अन्य ६ प्रदेशका खेलाडी मिलाएर बनाइएको छ ।

प्रतिक्रिया