मत-विमत

पुँजी र श्रम बीचको अन्तरविरोध – विश्वको ठूलो चुनौती

सौर्य अनलाइन २०७७ फागुन १८ गते ७:३२ मा प्रकाशित

लोकनारायण सुबेदी

विकसित देशहरू हुन् वा विकासशील देश सर्वत्र नै मजदुरलाई प्राप्त हुने सकल घरेलु उत्पादनको हिस्सेदारी घटेको छ । एउटा आँकलनका अनुसार १९८० को दशकको आरम्भिक वर्षहरूदेखि लिएर हालसम्म मजदुर वर्गको हिस्सेदारीमा झण्डै पाँच प्रतिशत घटेको छ । २००० देखि २०११ को बीचमा अमेरिकी व्युरो अफ लेबर स्ट्याटिस्टिकका अनुसार प्रतिमजदुर वास्तविक उत्पादन २ दशमलव ५ प्रतिशत प्रतिवर्षका दरले बढेको छ जबकि वास्तविक मजदुरीमा प्रतिवर्ष वृद्धि भने एक प्रतिशतभन्दा पनि कम छ ।

ब्रिटेनमा १८औँ शताब्दीको उत्तराद्र्धमा अनेक अभूतपूर्व परिवर्तनहरू भए, जसबाट आधुनिक आर्थिक समृद्धिको आरम्भ भयो । तर, वर्षौंपछि मात्र त्यसलाई ‘औद्योगिक क्रान्ति’कोे संंज्ञा दिइएको थियो । त्यो नाम दिने काम अर्नाल्ड टायन्बी (१८५२–८३०) ले गरेका थिए । ती व्यक्तित्व यसै नामबाट चर्चित एक जना इतिहासकारका काका थिए । तिनको देहावसानपछि १८८४ मा ‘लेक्चर्स अन दि इन्डस्ट्रियल रिभोल्युसन अफ दि एट्टिन्थ सेन्चुरी’ भन्ने किताब बेलायतमा छापियो । जसले ‘औद्योगिक क्रान्ति’ शब्दलाई लोकप्रिय तुल्यायो ।

वस्तुतः त्यो औद्योगिक क्रान्ति कतिपय परस्पर सम्वद्ध प्रविधिहरूको परिवर्तनको परिणाम थियो । ती परिवर्तनहरू त्यतिबेला मूलतः तीन क्षेत्रमा देखिएका थिए । सर्वप्रथम, त्यसले मानवीय कौशलको स्थानमा यान्त्रिक उपायहरू प्रयोगमा ल्यायो । दोस्रो, मानिस र जनावरको शक्तिको स्थानमा बाफ, कोइला आदि गैरजैविक तत्वको उपयोग त्यस क्रममा बढीभन्दा बढी हुन थाल्यो । अन्त्यमा तेस्रो तर महत्वपूर्ण कुरा ती दुवै तत्वको परिणामस्वरूप धातु तथा रसायनसँग जोडिएका उद्योगमा कच्चा पदार्थ प्राप्त गर्ने र तिनबाट हुने उत्पादनमा अभूतपूर्व परिवर्तन देखापर्न थाल्यो । डियस ल्यान्ड्स्ले को ५० वर्षअघि सन् १९६९ मा प्रकाशित पुस्तक ‘दि अन्डबाउन्ड प्रोमिथियस’मा माथि उल्लिखित परिघटनाहरूको विस्तारपूर्वक उल्लेख गरिएको पाइन्छ ।

पहिलो औद्योगिक क्रान्तिले युगौँदेखि चल्दै आइरहेको उत्पादन व्यवस्थामा आमूल परिवर्तन गरिदियो । पहिलोपटक कारखानाको व्यवस्था अस्तित्वमा आयो । त्यसले गर्दा सहरको चरित्र पनि बदलियो । गाउँहरूबाट सामन्ती व्यवस्थाको अवसानका कारण ठूलो संख्यामा मजदुर सहरतर्पm धकेलिए । भनिरहनु नपर्ला कि जहाँ केही मानिसहरू (मजदुर) त तत्कालै लाभान्वित पनि भए तर धेरै मानिसहरू सहरमा भौंतारिएर रहनुपर्ने स्थिति कायम रह्यो । गाउँघरका हातले चलाउने चर्खालाई कारखानाका कार्टराइट पावर लुमहरूले विस्थापित गरिदिए ।

पहिलो औद्योगिक क्रान्ति भएको झण्डै सय वर्षपछि बल्ल विश्वमा विद्युत्को प्रचलन आयो । त्यसले प्रकाश मात्र दिएन, अझ बढी कारखानाको सञ्चालनका लागि नयाँ ऊर्जा प्रदान ग¥यो र उत्पादनमा ठूलो वृद्धि भयो । अनि मोटर गाडीहरू अस्तित्वमा आए, जसले बग्गीहरूलाई प्रायः पूरै मात्रमा विस्थापित गरिदिए । इस्पातको उत्पादन ठूलो स्तरमा हुन थाल्यो । हवाइजहाज पनि अस्तित्वमा आयो भने टेलिफोनले सञ्चार क्षेत्रमा ठूलो क्रान्ति ल्यायो । त्यसभन्दा पहिला टेलिग्राफले विश्वका विभिन्न भागलाई एकअर्कासँग जोडिदिएको थियो । पछिल्लो समयमा औद्योगिक क्रान्तिले तेस्रो लहरमा प्रवेश गरेको मानिएको छ । २०औँ शताब्दीको आखिरी दशकको कालखण्डमा कम्प्युटर तथा सूचना र सञ्चार क्रान्तिसँग सम्बन्धित प्रविधिमा तीव्रतररुपले भइरहेका परिवर्तनले धेरै कुरामा अभूतपूर्व फेरबदल ल्याइदिएको छ । टेलिग्राफको साथै पुराना टाइपराइटर तथा छापाखाना अब अतीतको गर्भमा समाहित भइसके वा हुँदै गएका छन् । ल्यान्डलाइन फोनको ठाउँमा मोबाइल फोन आइसकेको छ । अहिले त ‘चालकविनाका गाडी गुड्ने’, ‘मानवरहित ड्रोन विमान उड्ने’ जस्ता प्रविधिका साथै यस्ता यन्त्रहरू विकास भएका छन्, जसले सयौं भाषालाई एकैछिनमा अन्य भाषामा अनुवाद गर्न सक्ने प्रविधि–क्षमता पनि आइसकेको छ ।

हुँदाहुँदा नयाँ मोबाइलको पछिल्लो प्रविधिले बिरामी र डाक्टर तथा विद्यार्थी र शिक्षक बीचको दुरी समाप्त पारिदिन थालेको छ । आउँदा वर्षमा रोजगारका अवसर र आम जनसाधारणमाथि यसको के असर पर्ने हो तत्काल केही भन्न सकिने स्थिति छैन । आज पोस्ट अफिस वा हुलाकको अवस्थालाई मात्र हेर्ने हो भने पनि त्यहाँ दुई दशकयता तिनको अवसान कति तीव्र गतिमा हुँदै आएको छ प्रष्ट देख्न सकिन्छ । पहिलो र दोस्रो औद्योगिक क्रान्तिकालमा जस्तै तेस्रो औद्योगिक लहरको बेलामा पनि मानिसको जीवनस्तर माथि उठ्नेछ र मानव कल्याणमा वृद्धि हुनेछ तर यस अन्तरिम कालमा पनि समाजका धेरैधेरै मानिसले बदलिएको परिस्थिति अनुरूप आफूलाई ढाल्ने क्रममा धेरै कठिनाइहरूको सामना गर्नुपर्ने स्थिति आउन सक्छ । अक्सफोर्ड विश्वविद्यालयका दुई स्थापित अर्थशास्त्री कार्ल बेनेडिक्ट र माइकल आसबार्नले सात सयभन्दा बढी पेसा र व्यवसायको विश्लेषण गरेर के नतिजामा पुगेका छन् भने अमेरिकामा ४७ प्रतिशत पेसाव्यवसाय आउँदो समयमा खतरामा पर्न सक्छन् । किनभने त्यहाँ यन्त्रको बढी मात्रामा उपयोग बढ्नाले मजदुरको माग तीव्ररूपमा घट्न सक्छ ।

समाजमा दक्ष र सम्पन्न मजदुर र समाजका अन्य मजदुरबीच ठूलो अलगावको स्थिति उत्पन्न हुन सक्छ । पुँजीपति र श्रमजीवीबीच अझ ठूलो विषमताको खाडल पर्न सक्छ । साथै क्षमताभन्दा कम रोजगारको संख्या बढ्न सक्छ । जसबाट लगानीमाथि खराब असर पर्न सक्छ । यो विकसित प्रविधिको असर व्यापारिक क्षेत्रमा पनि परेको देखिँदैछ । हालसम्म के मानिँदै आएको थियो भने विदेश व्यापारको माध्यमबाट गरीब देश आफ्नो निर्यात बढाएर विकासको दिशामा अघि बढ्न सक्छन् तर विकसित प्रविधिले ल्याएको परिवर्तनका कारण विनिर्माण कार्य स्वचालित हुँदै गइरहेका छन् र श्रमको माग घट्दै गइरहेको छ । कतिपय अर्थशास्त्रीले यसलाई समय पूर्वको ‘अ–औद्योगिकरण’ अर्थात् ‘डि–इन्डस्ट्रियलाइजेसन’ भन्ने संज्ञा पनि दिएका छन् । यसरी विकासशील देशका सरकार गाउँबाट सहरतर्पm पलायन भइरहेका मजदुरलाई विनिर्माणको क्षेत्रमा लगाउन नसक्ने स्थिति बन्दै गएको प्रष्ट छ ।

दोस्रो विश्व युद्धपछि युरोप र अमेरिकामा तीव्र समृद्धिको जुन कालखण्ड आरम्भ भएको थियो त्यो १९७० दशक आउँदाआउँदै रोकियो । १९९० को दशकयता त जापानमा पनि आर्थिक जडताको आरम्भ हुन पुग्यो । अन्य युरोपेली देशहरू तथा अमेरिकामा पनि उतारचढाव देखियो । विकसित देशहरू २००८ मा आरम्भ भएको वित्तीय अतिमन्दीको कालखण्डबाट एक दशकको उत्तराद्र्धमा पुग्दा पनि राम्रोसँग अझै उत्रिन सकेका छैनन् । ब्रिटेन र अमेरिकामा मजदुर वर्गमाथि ठूलो बोझ बढिरहेको छ । १९९१ र २०१२ का बीच ब्रिटेनमा १ दशमलव ५ प्रतिशत तथा अमेरिकामा मात्र एक प्रतिशत प्रतिवर्षका दरले वास्तविक मजदुरी बढेको छ । आर्थिक समृद्धि दरको तुलनामा मजदुरीको यो वृद्धि धेरै नै कम रहेको छ ।

जर्मनीको हालत पनि निकै नै खराब छ । वर्ष १९९२ र २०१२ का बीच वास्तविक मजदुरीमा मात्र शून्य दशमलव ६ प्रतिशत वार्षिक वृद्धि भइरहेको थियो । इटली र जापानमा त यस कालखण्डमा खास कुनै वृद्धि नै भएको देखिएको छैन । आर्थिक इतिहासकार के बताउँछन् भने पहिलो र दोस्रो औद्योगिक क्रान्ति पछाडि पनि मजदुर वर्गमाथि सबैभन्दा बढी बोझ प¥यो । मजदुर वर्गको जीवन स्तरमा कुनै सुधार पनि आएन । यही अवस्था अहिलेको तेस्रो औद्योगिकरणको कालखण्डमा कायमै छ ।

अमेरिकामा विनिर्माण उद्योग अन्यत्र जाने तथा सेवा क्षेत्रको प्रमुखता बढ्नाले पनि अमेरिकी मजदुर वर्गको स्थितिमा कुनै सुधार देखिएको छैन । अर्थशास्त्री रबर्ट सोलोको के मान्यता छ भने सूचना र सञ्चारको क्षेत्रमा आएका परिवर्तनले दोस्रो औद्योगिक क्रान्तिपछि विद्युतीकरण, मोटर गाडीको आगमन तथा बेतारको सञ्चारले जत्तिको परिवर्तन ग¥यो, त्यत्तिको परिवर्तन अहिलेको तेस्रो औद्योगिकीकरणको तेस्रो चरणमा आइरहेको छैन । कतिपय विज्ञको भनाइअनुसार नयाँ प्रविधिले ल्याउने परिवर्तनको असर उत्पादकता र मजदुरी दरमा देखिनका लागि धेरै लामो समय लाग्न सक्नेछ । शिक्षा र स्वास्थ्य क्षेत्रमा परिवर्तन देखिन थालेको छ । अनलाइन पाठ्यक्रम क्षेत्रमा ठूलो परिवर्तन देखिन थालेको छ । एक जना प्रोफेसरले धरै व्यक्तिको काम गर्न सक्ने स्थिति विकसित भएको छ । उसले अनलाइन कोर्स विकसित गरेर अमेरिकामा बसेर देश–विदेशका विद्यार्थीलाई शिक्षा दिन सक्छन् । यसरी नै चिकित्सा क्षेत्रमा डाक्टरले एकै ठाउँमा बसेर बिरामीसँग कुराकानी गरेर उचित उपचारको विधि र उपाय बताउन र उपचार गर्न सक्छन् । यस पूरा प्रक्रियामा पहिलाको अपेक्षा धेरै कम खर्च हुने पनि देखिएको छ । टाढा बसेका डाक्टरले गम्भीर प्रकृतिका बिमारीलाई पनि सरसल्लाह र उपचारका उपाय बताएर उपचार गरिरहेका छन् ।

विकसित देशमा उन्नत प्रविधिको क्षेत्रमा भइरहेका परिवर्तनले सबैभन्दा बढी मजदुरहरू प्रभावित भएका छन् । उनीहरूको पुरानो पेशा समाप्त हुँदै गइरहेका छन् । त्यसले गर्दा त्यहाँका सरकारले त्यस्ता मजदुरलाई उपयुक्त प्रशिक्षण दिएर अन्य उपयुक्त काममा लगाउनुपर्ने दायित्व छ तर सरकारले यो उत्तरदायित्वको निर्वाह सायदै गर्छन् । फलतः मजदुरका लागि निरन्तर बेरोजगारीको वृद्धि भइरहन्छ । जस्तो कि चालकविहीन रुपमा चल्ने गाडीको निर्माणले लाखौंलाख चालक बेरोजगार हुने र त्यसरी विस्थापित भएका चालकलाई अन्यत्र लगाउन त्यति उच्च शिक्षा र लामो प्रशिक्षणको आवश्यकता नपर्ने भएकाले पनि उनीहरू विस्थापित भएर सडकमा आउँदा अन्यत्र सहजै लाग्न सक्ने स्थिति पनि रहेको हुँदैन ।

एक सयम थियो जहाँ बग्गीहरूको खुब प्रचलन थियो तर जीप र बसको चलन आएपछि बग्गी विस्थापित भए । बग्गी चलाउने र घोडाको हेरचाह गर्ने मानिस बेरोजगार बने भने गाडी चालकको माग बढ्यो । प्रस्ट छ कि प्रविधिको विकास र परिवर्तनबाट सबैभन्दा पहिला मजदुर नै प्रभावित हुने गर्छन् । उनीहरूले बेरोजगारी तथा आयमा कटौतीको सामना गर्नुपर्छ । बितेको ३० वर्षको कालखण्डलाई केलाउँदा तेस्रो औद्योगिक क्रान्तिको प्रविधिको विकासको क्रममा मजदुर वर्ग नै सबैभन्दा बढी प्रभावित भएको देखिन्छ ।

विकसित देशहरू हुन् वा विकासशील देश सर्वत्र नै मजदुरलाई प्राप्त हुने सकल घरेलु उत्पादनको हिस्सेदारी घटेको छ । एउटा आँकलनका अनुसार १९८० को दशकको आरम्भिक वर्षहरूदेखि लिएर हालसम्म मजदुर वर्गको हिस्सेदारीमा झण्डै पाँच प्रतिशत घटेको छ । २००० देखि २०११ को बीचमा अमेरिकी ब्युरो अफ लेबर स्ट्याटिस्टिकका अनुसार प्रतिमजदुर वास्तविक उत्पादन २ दशमलव ५ प्रतिशत प्रतिवर्षका दरले बढेको छ जबकि वास्तविक मजदुरीमा प्रतिवर्ष वृद्धि भने एक प्रतिशतभन्दा पनि कम छ । यसरी सकल घरेलु उत्पादनको वितरण स्पष्टरूपमा पुँजीको पक्षमा रहन्छ । थोमस पिकेट्टीका अनुसार बितेको सय वर्षको कालखण्डमा असमानताको चरित्रमा परिवर्तन आएको छ । आजका धनाढ्य मानिस पनि उत्पादनमा सक्रिय सहभागी हुने गर्छन् र मजदुर वर्गले पाउने एउटा ठूलो हिस्सा तिनकै झोलीमा पर्दछ ।

आज मजदुर वर्गलाई मिल्ने उत्पादनको हिस्सा एकदमै धेरै कम भएको या हुँदै गएको छ । १९९० को दशकयतादेखि दक्ष मजदुर वर्गको माग त बढेको छ तर कम प्रशिक्षित मजदुरको माग घट्दै गएको छ । यता केही वर्षदेखि शारीरिक काम गर्ने मजदुरको माग बढेको छ । कार्यालयमा सरसफाइ, ट्रक सञ्चालन जस्ता आदि क्षेत्रमा यस्ता मजदुरको माग एक हदसम्म बढेको छ । निश्चय नै कम दक्षता, कम उत्पादकता र कम मजदुरी भएका मजदुरको माग बढेको छ तर साथै यस क्षेत्रमा मजदुरबीच प्रतिद्वन्दी बढ्न गएकाले मजदुरीमा अत्यन्तै कम वृद्धि भएको देखिएको छ । नयाँ–नयाँ उन्नत प्रविधिको विकास र तिनको विस्तार तथा उपयोगका कारण प्रशिक्षित मजदुरको संख्यामा तीव्र गतिले बढ्दै गएको छ । तिनलाई विकसित स्वचालित प्रविधिका कारण आफ्नो कामबाट बाहिर धकेलिँदै लगेको छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय