नेकपा सबै सांसद एउटै लाइनमा

काठमाडौं । सर्वोच्च अदालतको आदेशपछि बस्ने प्रतिनिधिसभाको बैठकमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेताहरु एउटै लाइनमा बस्ने भएका छन् । विपक्षी भन्दा एकअर्का प्रति निक्कै कडा भएका दुई समुह संसदमा बस्दा भने एउटै लाइनमा रहने भएका हुन् । जुन निक्कै दुर्लभ दृश्य हुनेछ । सत्तारुढ नेकपा औपचारिक रुपमा विभाजन नभएपनि अहिले केपी शर्मा ओली समुह र दाहाल–नेपाल समुहका रुपमा सक्रिय रहेका छन् । दुवै समुहले आफुलाई आधिकारिक नेकपा दावी गरेपनि निर्वाचन आयोगले अहिलेसम्म दुवै समुहलाई बैधानिकता दिएको छैन । यही अन्यौलका बीचमा सर्वोच्च अदालतको आदेशअनुसार फागुन २४ गतेभित्र प्रतिनिधिसभा बैठक बस्नुपर्नेछ । सरकारले फागुन २३ गते संसद बैठक आव्हान गरेको समाचार आएपनि अहिलेसम्म आधिकारिक रुपमा जानकारी आएको छैन ।

संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अनुसार सत्तापक्ष नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसदहरु एकै लाइनमा बस्नेछन् । कानुनी रुपमा नेकपा विभाजित नभएकाले संसद सचिवालयले कुर्सीको व्यवस्थापन गर्दा नेकपाका सांसदहरु सत्तापक्षकै लाइनमा बस्ने गरी मिलाएको छ । ‘दल विभाजन भएको जानकारी छैन । कसरी फरक फरक लाइन भनेर मिलाउनु ?’ प्रवक्ता पाण्डेले प्रश्न गरे । स्रोतका अनुसार सभामुख अग्निप्रसाद सापकोटाले संसद सचिवालयलाई सत्तापक्षका सांसदहरुसमेत फरक फरक लाइनमा बस्ने गरी व्यवस्थापन गर्न आग्रह गरेका थिए । तर, सचिवालयले त्यसअनुसार व्यवस्थापन गर्न नसकिने जवाफ सभामुखलाई दिएको छ ।

संघीय संसद् सचिवालयले प्रतिनिधिसभा बैठक सञ्चालनको तयारीलाई तिव्र बनाएको छ । संघीय संसद् सचिवालयको सहायक प्रवक्ता दशरथ धमलाले सचिवालयले प्रतिनिधिसभाको बैठक व्यवस्थापनलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए । कोरोना महामारी विद्यामान रहेको अवस्थामा स्वास्थ्य सतर्कतालाई पनि ध्यान दिइएको उनको भनाइ छ । कर्मचारी व्यवस्थापन तथा प्रशासनिक कामहरुको पनि तयारी गरिएको उनले बताए ।

उनले भने, ‘सचिवालयका धेरै काममध्ये बैठकहरुको व्यवस्थापन पनि एउटा महत्त्वपूर्ण काम हो । यसलाई सचिवालयले प्राथमिकतामा राखेर काम गरिरहेको छ । विशेषगरी अहिले हामीले विभिन्न आयामबाट हेरेका छौँ । अहिले पनि कोरोना महामारीको अवस्था छँदै छ । त्यसलाई पनि मध्यनजर गर्नुपर्नेछ । प्रशासनिक व्यवस्थापनअन्तर्गत एजेन्डाहरु के–के हुनसक्छन् ? विधेयकहरुको अवस्था कस्तो छ ? कुन कर्मचारी कहाँ खटाउने, कसरी अवस्था छ ? लगायतका कुरालाई प्रशासनिक व्यवस्थाअन्तर्गत हामीले काम गरिरहेका छौँ ।’

स्वास्थ्य मापदण्ड पालना गराउँदै सचिवालयको कमी–कमजोरीका कारण कोरोना फैलिन नदिन ध्यानपूर्वक काम गरिरहेको सुनाए । संसद् सचिवालयले विधेयकहरुको अवस्थाको विषयमा पनि अध्ययन गरिरहेको बताएको छ । समितिको बैठक सञ्चालन गर्ने सन्दर्भमा पनि सचिवालयको तयारी रहेको भन्दै आवश्यक परे समितिहरुको बैठक सञ्चालन गर्न पनि प्रशासनिक तवरबाट तयारी अवस्थामा रहेको सहायक प्रवक्ता धमलाले बताए । बैठकको व्यवस्थापन सहज, सुरक्षित र कुनै पनि झन्झट र कठिनाइबिना अप्ठ्यारो नआओस् भनेर तयारी गरिरहेको पनि उनले बताए ।

प्रतिक्रिया