शारदा र होल्याण्ड विजयी

धनगढी । यहाँ जारी विद्यालयस्तरीय राष्ट्रिय क्रिकेट प्रतियोगिता चण्डिका ग्रुप लिटल फ्लावर प्रिमियर लिगमा आइतबार शारदा विद्या निकेतन र होल्याण्ड स्कुल विजयी भएका छन् । आइतबार पहिलो खेलमा धनगढीको शारदा विद्या निकेतनले कञ्चनपुरको लिटल बुद्धलाई २६ रनले पराजित गर्यो । टस जितेर ब्याटिङ गरेको शारदाले निर्धारित २० ओभरमा ९ विकेटको गुमाउँदै १ सय ६६ रन बनायो ।शीर्षक्रमका ब्याट्सम्यान दिनेश ओडले सर्वाधिक ९२ रनको पारी खेले । अर्जुन साउँदले २५ र विराट सेवाले १६ रन बनाए । लिटल बुद्धका लागि सागर भण्डारीले ३ र सागर थापाले २ विकेट लिए ।

जितका लागि १ सय ६७ रनको विजयी लक्ष्य पछ्याएको लिटल बुद्धले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४० रन बनाउन सक्यो । लिटल बुद्धका लागि रोयल बमले सर्वाधिक ४६ रन बनाए । कप्तान आयुष्मान बम र सागर भण्डारीले २०÷२० रन बनाए । शारदाको जितमा दीपक रोकायाले ३ विकेट लिए । खेलका म्यान अफ द म्याच शारदाका दिनेश ओड चुनिए । आईतवार दोस्रो खेलमा होल्याण्ड स्कुलले स्टेपिङ स्टोनलाई ९ विकेटले पराजित गर्यो । टस हारेर ब्याटिङको निम्तो पाएको स्टेपिङले १५.५ ओभरमा ८६ रनमा अल आउट भयो । उस्का अभिषेक कुँवरले २६ र आर्यन दानपालीले १३ रन बनाए । होल्याण्डका अशोक धामीले ४ र श्याम साउँदले २ विकेट लिए ।

जितका लागि ८७ रनको विजयी लक्ष्य पछ्याएको होल्याण्डले ८ दशमलव २ ओभरमा १ विकटको क्षतीमा लक्ष्य भट्टायो । होल्याण्डको जितमा गौरवसिंह रावतले अविजित रहदै ५५ रन बनाए । खेलका म्यान अफ द म्याच होल्याण्डका अशोक धामी भए । लिटल फ्लावर स्पोर्टस एन्ड इभेन्टसको आयोजनामा धनगढीको सङ्घीय प्रहरी इकाई कार्यालयको खेल मैदानमा भईरहेको पाँचौ संस्करणको प्रतियोगितामा सोमबार दुई खेल हुने छन् । प्रतियोगितामा देशभरका १६ विद्यालयको सहभागिता छ ।

प्रतियोगिताको विजेताले एक लाख २० हजार नगदसहित ट्रफी र प्रमाणपत्र पाउने छ भने उपविजेताले ६० हजार प्राप्त गर्ने छ । सर्वोत्कृष्ट खेलाडीले १० हजार पाउने छन् । यस्तै उत्कृष्ट ब्याट्सम्यान, बलर र उदीयमान खेलाडीलाई जनही ५–५ हजार प्रदान गरिने छ । म्यान अफ दि म्याचले १ हजार ५ सय पाउने छन् ।

प्रतिक्रिया