शेयर बजारमा लगानी समूह थपियो

काठमाडौं । आइतवारदेखि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले समूहगत परिसूचकमा लगानी समूह थप गर्ने भएको छ । म्यचुअल फण्ड वाहेक ११ समूहगत परिसूचक गणना हुदैं आएको लगानी समूह थप गर्ने नेप्सेका प्रबक्ता मुराहरी पराजुलीले बताएका छन । उनका अनुसार थप एक समूहगत परिसूचक सहित आइतवारदेखिको कारोबारमा १७ ओटा परिसूचक गणना हुनेछ ।

पराजुलीले हाल नेप्सेमा सूचीकृत २ सय १८ कम्पनीलाई ११ समूहमा विभाजन गरी समूहगत परिसूचक गणना गर्दै आएकोमा आइतवारदेखि लगानी समूह थप गरी १२ समूहगत परिसूचक गणना गरिने भएको बताए । यस अघि म्यचुअल फण्डलाई पनि समूहगत परिसूचकमै गणना गरिदै आइने गरिएको थियो । सूचीकृत २ सय १८ कम्पनीभित्र म्चुचुअल फण्ड रहेको थिएन ।

समूहगत परिसूचकमै देखिएपनि म्यचुअल फण्डलाई कम्पनीको रुपमा गणना गर्न नमिल्ने उनको भनाई छ । सूचीकृत कम्पनीको समूहगत परिसूचकका रुपमा ११ समूहलाई मात्र गणना गरिने पनि नेप्सेले जनाएको छ । आइतवारदेखि समूहगत १२ परिसूचकसँगै म्युचुअल फण्ड, नेप्से परिसूचक, नेप्से फ्लोट, सेन्सेटिभ इन्डेक्स र सेन्सेटिफ फ्लोट गरी १७ परिसूचक गणना गर्न लागिएको हो । हाल अन्य समूहमा रहेका ८ कम्पनीमध्य चार कम्पनीलाई नयाँ थपिएको लगानी समूहमा राखी कारोबार गरिने समेत नेप्सेले जानकारी दिएको छ । नागरिक लगानी कोष, हाइड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेण्ट एण्ड डेभलपमेण्ट कम्पनी, नेपाल इन्फ्रास्ट्रक्चर बैंक र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेण्ट लिमिटेडको लगानी समूह अन्तर्गत कारोबार हुनेछ ।

यो संगै साविकको होटल्स समूहको नाम परिवर्तन गरी होटल्स तथा पर्यटन समूह बनाईएको छ । होटल्स तथा पर्यटन समूहमा हाल अन्य समूहमा रहेको चन्द्रागिरी हिल्सलाई समेत समावेश गरिएको छ । चन्द्रागिरी हिल्ससँगै होटल तथा पर्यटन समूहमा यस अघि होटल्स समूहमा रहेका ओरियण्टल होटल्स लिमिटेड, तारागाउँ रिजेन्सी होटल र याक एण्ड यति होटल लिमिटेड होटल्स रहने नेप्सेले जनाएको छ ।

प्रतिक्रिया