टाइगर कप भलिबलबाट १९ लाख बचत

पोखरा । टाइगर ग्रुप पोखराको आयोजनामा भएको प्रथम टाइगरकप राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताबाट १९ लाख बचत भएको छ । पोखरा रंगशालामा माघ २७ देखि फागुन १ गते सम्म भएको प्रतियोगिताबाट ५४ लाख, ४१ हजार ८ सय ३५ रुपैयाँ आम्दानी भएको छ । प्रतियोगितामा ३५ लाख ११ हजार ७ सय ९४ रुपैयाँ खर्च भएको छ । प्रतियोगिताबाट १९ लाख ३० हजार ४१ रुपैयाँ बचत भएको शनिवार आयव्यय सार्वजानिक गर्दै आयोजक टाइगर ग्रुपका अध्यक्ष नारायण शर्माले जानकारी दिए ।

प्रतियोगिताका लागि गण्डकी प्रदेश सरकारले १ लाख ५० हजार, राष्ट्रिय खेलकुद परिषद्ले १ लाख, पोखरा महानगरपालिकाले १ लाख, अन्नपुर्ण गाउँपालिकाले १ लाख सहयोग गरेको थियो । हाम्रो खेलकुद डट कमले पनि प्रतियोगिताको प्रसारण अधिकार खरिद गर्ने क्रममा १ लाख रुपैयाँ प्रदान गरेको थियो । यस्तै प्रतियोगिताको टिकटबाट १० लाख ५५ हजार आम्दानी भएको अध्यक्ष शर्माले जानकारी दिए ।

ग्रुपले बचत भएको रकमबाट गण्डकी प्रदेशमा भलिबल खेलाडी उत्पादनका लागि आवश्यक सहयोग गर्ने भएको छ । ‘हामीले भलिबल खेल र खेलाडीको विकासका लागि आवश्यक सहयोग गर्नेर्छौ । ग्रुपले स्थापनाकाल देखि नै विभिन्न सामाजिक कार्य गर्दै आइरहेको थियो । खेलकुदका व्यक्तिहरुको समुह रहेकाले पनि खेलकुदलाई प्राथमिकतामा राख्दै आगामी वर्षदेखि प्रतियोगितालाई निरन्तरता दिनेछौं,’उनले बताए । ग्रुपमा खेलकुदकर्मी, संचारकर्मी, सरकारी कर्मचारीदेखि व्यवसायी सम्म रहेका छन् ।

पहिलो प्रतियोगितालाई नै दर्शकले सोच भन्दा बढि सहयोग गरेको शर्माको भनाइ छ । दर्शकको साथकै कारण प्रतियोगिता सफल भएकाले आगामी दिनमा थप व्यवस्थित गरि लैजाने उनको भनाइ रहेको छ । दर्शकको उपस्थितिले भलिबल प्यारापिट साघुरोँ भएको महसुस आयोजकलाई गराएको छ । पहिलो प्रतियोगितामै दर्शक र घरेलु टोलीको ऐतिहासिक जितले भलिबल खेल प्रति गण्डकी प्रदेश सरकारले समेत चासो दिन आवश्यक रहेको अध्यक्ष शर्माले भने ।

फागुन १ गते सम्पन्न फाइनल खेलको पुरुष तर्फ गण्डकी प्रदेश र महिला तर्फ नेपाल पुलिसले उपाधी जितेको थियो । विजेता महिला तथा पुरुष टोलीले नगद १ लाख ५० हजार रुपैयाँ प्राप्त गरेका थिए । यस्तै उपविजेता पुरुष तर्फ त्रिभुवन आर्मी र महिला तर्फ एपिएफले समान ७५ हजार रुपैयाँ प्राप्त गरेको थियो ।

प्रतिक्रिया