अस्तित्व हराउँदै कटाक्षे हाटबजार

कैलालीको जानकी गाउँपालिका–९ को कटाक्षे बजारको उत्साह बेग्लै थियो । पहाडी जिल्ला अछाम, दैलेख, कालिकोट, जुम्लालगायतका ठाउँबाट मानिस हाट भर्नका लागि सो बजार पुग्ने गर्थे । तत्कालीन बेलामा हाट लाग्ने कुरा निकै साहसी पनि मानिन्थ्यो । उक्त बजारबाट सामान लिएर अछाममा व्यापार गरिन्थ्यो । जुम्लामा समेत कटाक्षेकै नुन पुग्थ्यो । स्थानीय समाजसेवी भक्तप्रसाद खनाल सयौँ किलोमिटरको पैदलयात्रा, हप्ता दिन लगाएर पिठ्युँमा सामानको भारी बोक्नुपर्ने, जंगलमा बाँस बस्नुपर्ने, त्यही जंगलमै खाना खानुपर्नेजस्ता कष्टकर यात्राका बारेमा अहिलेको पुस्तालाई सुनाए कहानीजस्तो लाग्ने गरेको बताउछन् । ‘मैले राजापुर, कटाक्षेबाट धेरैपटक हाट लाएको छु । त्यहाँबाट सामान ल्याएर अछाममा व्यापार गरिन्थ्यो ।’ उनले भने, ‘अहिलेकालाई त्यो कुरा सुनाउँदा कहानी सुनाएजस्तो लाग्छ ।’ उनले गाउँभरिका मानिस एकैपटक हाट ल्याउन जाँदा रमाइलो पनि हुने र बाटो कटेको पनि थाहै नभई हाट ल्याएर घर पुग्ने गरेको बताउँछन् । उति बेला बजारबाट आवश्यक समाग्री खरिद गरेर लानुलाई हाट भनिन्थ्यो ।

अहिले पनि बूढापाका कटाक्षे, राजापुरको हाट बोकेको कुरा सुनाउँदा अहिलेको पुस्तालाई कहानीजस्तो लाग्ने गर्छ । पहाडी जिल्लाबाट एक हप्ताभन्दा लामो पैदलयात्रासहित मानिस कटाक्षे बजार पुग्ने गर्थे । तत्कालीन बेला कटाक्षे बजारको मुहार चम्किलो ताराजस्तै थियो, ०२९ सालदेखि बस्दै आएका स्थानीय दलबहादुर रावलले बताए । उनले ०३२ सालमा समिति गठन भई बजार व्यवस्थापन गर्नुपर्ने भन्दै बजार बसेको भए पनि ०५० साल नपुग्दै बजार तितरवितर भएको बताए ।
‘कटाक्षे बजारको अवस्था यस्तो होला भन्ने कसैले कल्पना पनि गरेका थिएनन् । दैनिक त्यो बेलाकै लाखौँको व्यापार कटाक्षेमा हुन्थ्यो,’ रावलले भने, ‘बजारभरि पहाडबाट ल्याएको घ्यूको सुगन्ध आउँथ्यो । मान्छेको भीडभाड मात्र देखिन्थ्यो । कटाक्षेबाट हटेरुले नून, मट्टितेल, फलामलगायतका सामान लिएर जाने गर्थे ।’ उनले कैलालीको पूर्वी क्षेत्रमा रहेका अधिकांश व्यापारीलाई कटाक्षे बजारले नै स्थापित गरेको बताए । ‘अहिले बजार उजाड भइसकेको छ । एक÷दुई पसलबाहेक केही छैन,’ रावलले भने, ‘अहिले बजार टुहुरो बनेको छ । कटाक्षेबाट व्यापारीले चाहिने जति पैसा कामाए । अहिले कटाक्षे बिर्सेर गए ।’

तत्कालीन समयमा कटाक्षे बजारमा एक हजारभन्दा बढी पसल रहेको स्थानीय बताउँछन् । दशभन्दा बढी गल्लीमा पसल थिए । बजार क्षेत्रमा मानिसको चहलपहल हुन्थ्यो भने छेउछाउमा जुम्लीहरूका भेडाको बथान हुने गरेको स्थानीय व्यापारी रञ्जन थापाले बताए । जुम्ला, कालिकोटलगायतका जिल्लाबाट सामान ढुवानीका लागि जुम्लीले भेडाको प्रयोग गर्थे । छेउछाउका जंगल सेता भेडाले सेताम्य हुन्थे । ०२८ सालमा अछामको दर्नाबाट बसाइँ सरी कटाक्षे पुगेका थापाको परिवारले त्यहाँ होटल व्यवसाय शुरु गरेको जानकारी दिए । ‘हामी पनि व्यापार गर्ने उद्देश्यले कटाक्षे आएका थियाँै । पैसा पनि कमाइयो तर लगानी पनि यतै गरियो,’ उनले भने, ‘अहिले चाहेर पनि छाडेर जाने अवस्था छैन । जे जति सम्पत्ति जोडियो कटाक्षेमै जोडियो । अहिले बिक्री गर्न चाहेर पनि बिक्री हुने अवस्था छैन ।’

कटाक्षे बजार स्थापनाका लागि तत्कालीन समयमा टीकाराम भाट, गगनसिंह थापा, रंगनाथ ढकाल, टेकबहादुर थापाको भूमिका महत्वपूर्ण रहेको स्थानीय बताउँछन् । साना–साना बजारलाई एकै ठाउँमा ल्याएर कटाक्षे बजार बनेको थियो । पूर्व–पश्चिम राजमार्ग बनी नसकेको बेला कटाक्षेको भविष्य सबैले उज्ज्वल देखेका थिए । कर्णाली चिसापानीमा पुल निर्माण बनेपछि कटाक्षेका व्यापारी राजमार्ग केन्द्रित हुन थाले । कटाक्षे बजार सबैका लागि बिरानो लाग्न थालेपछि अहिले बजार उजाडिन पुगेको स्थानीय गंगाराम भाटले बताए । ‘पहिले मानिसको आवागमन चापले एकातर्फ चोरी, डकैतीको त्रास बढाउँथ्यो भने अहिले आँगनसँगै जंगल जोडिँदा जंगली जनावरको त्रास बढ्नै गएको छ,’ उनले भने, ‘अझै पनि विकास भयो भने कटाक्षेको मुहार फेरिन्छ कि ? भन्ने आशामा त्यही व्यापार कुरेर बसिरहेका छौँ ।’

राष्ट्रिय गौरवको आयोजना रानी जमरा कुलरिया सिँचाइ आयोजनाअन्तर्गत निर्माण भइरहेको विद्युत्गृह कटाक्षे बजारबाट करिब एक किलोमीटर टाढा छ । त्यस्तै सती भन्सारबाट चिसापानी हुँदै सुर्खेत अछाम जोड्ने सडक निर्माण हुन सके बजारको चहलपहल बढ्न सक्ने भाटले बताए । कटाक्षे बजारमै रहेको प्रहरी चौकी बजार बिस्थापित भएसँगै लम्की सरेको छ भने त्यही भएको हुलाक कार्यालय जानकी गाउँपालिका–८ को पथरैयामा सरेको छ । त्यसबेला स्थापना भएको राष्ट्रिय वाणिज्य बैंकको शाखा पनि अहिले लम्की स्थानान्तरण भएको स्थानीय व्यापारीहरू बताउँछन् । पहिला त्यहाँ भएको चहलपहल सुनाउँदा नयाँ पुस्ताका लागि कथा जस्तो हुने उनीहरू सुनाउँछन् ।

०४७ सालदेखि किराना व्यवसाय गर्दै आएका सूर्यप्रसाद शर्मा भने उधारो व्यापारकै कारण त्यहाँबाट स्थानान्तरण हुन नसकेको बताउछन् । ०४७ सालमा मैले व्यवसाय सुरु गरेँ, ०५० मा बजार खाली हुन थाल्यो,’ उनले भने, ‘बजार खाली हुँदा मेरो एक लाख रुपैयाँजति उधारो उठ्न बाँकी थियो । त्यही उधारो उठाउने आसमा बसियो । अहिले त्यो उधारो ३० देखि ४० लाखभन्दा बढी पुगिसकेको छ । अब उठेर जाने कुनै ठाउँ पनि छैन ।’ केही आशाहरू जीवितै रहँदा आफूहरू त्यहाँ बस्न बाध्य भएको बताउँदै अब कटाक्षेबाट अन्यत्र सर्ने कुनै योजना नभएको उनले बताए । त्यहाँ भएका अधिकांश घरहरूसमेत उठिसकेका छन । केहीले सस्तोमा त्यहीका स्थानीयलाई घर जग्गा बिक्री पनि गरेका छन् । कटाक्षे बजार विस्थापित हुनुको अर्को कारण ०४० सालको बाढी पनि भएको स्थानीयको भनाइ छ । ०४० सालको बाढीले केही व्यवसायीलाई विस्थापित गर्नुका साथै कयौँका सपना त्यही बाढीले बगाएर लगेको उनीहरू बताउँछन् । त्यहाँ स्थापित भएर बसेकाहरू टीकापुर, लम्की, चिसापानी, नेपाललगञ्ज लगायतका क्षेत्रमा बसाइँ सरी जाँदा अहिले कटाक्षे बजार सुनसान बनेको छ । पहिले त्यहाँ लाखौँको व्यापार गर्ने व्यापारीलाई अहिले एक गिलास चिया बिक्री गर्न पनि मुस्किल हुने गरेको बताउछन् । कटाक्षे हाटबजारको तत्कालीन अवस्थाका बारेमा स्व गगनसिंह थापाको ‘कर्णालीको छेउछाउ’ र बुद्धिसागरको ‘कर्णाली बुलुज’मा उपन्यासमा समेत उल्लेख गरिएको छ ।

प्रतिक्रिया