मत-विमत

कति उपेक्षित महिला मानसिक स्वास्थ्य ?

प्रेक्षा थापा २०७७ फागुन १४ गते ७:२१ मा प्रकाशित

प्रेक्षा थापा

लिंग मानसिक स्वास्थ्यको महत्वपूर्ण पाटो हो । महिला र पुरुषको भिन्नता भौतिक संरचनामा मात्रै नभएर मनोवैज्ञानिक बनावटमा पनि छ । वास्तवमा महिला र पुरुषको मनोवैज्ञानिक संरचना फरक किसिमको हुन्छ र उनीहरूले घटनाहरू र अवस्थाहरूमा प्रतिक्रिया दिने तरिका पनि फरक हुन्छ । जस्तै– महिला र पुरुषको कुराकानी गर्ने शैली, सम्बन्ध, सम्झौता, भावना व्यक्त गर्नमा र तनावमा देखाउने प्रतिक्रिया आदिमा निकै फरक हुने गर्छ ।

विश्व स्वास्थ्य संगठनले स्वास्थ्यका विषयमा परिभाषा गर्दै भनेको छ, ‘शारीरिक रोग वा समस्याविहीन अवस्था मात्र नभई समग्र रूपमा शारीरिक, मानसिक तथा सामाजिक कुशलताको स्थिति ।’ तसर्थ मानसिक स्वास्थ्य पनि हाम्रो समग्र स्वास्थ्यको एक अभिन्न पाटो हो । मानसिक स्वास्थ्यलाई ‘त्यस्तो अवस्था जसमा व्यक्तिले आफ्नो क्षमताको पहिचान गर्न सक्छ, जीवनका सामान्य तनावको सहजतापूर्वक सामना गर्न सक्छ, उत्पादनमूलक तथा फलदायी रूपमा काम गर्न सक्छ अनि आफ्नो समुदायका निम्ति केही योगदान दिन सक्छ’ भनि परिभाषित गरिएको छ । तर विडम्बना विश्वभर नै मानसिक स्वास्थ्य तुलनात्मक रूपमा उपेक्षित छ र हाम्रो जस्तो विकासशील मुलुकहरूमा त यो पाटो झनै उपेक्षित छ । अनि आधा आकाश ओगटेका महिलाहरूको मानसिक स्वास्थ्यको पाटो त झनै उपेक्षित छ ।

लिंग मानसिक स्वास्थ्यको महत्वपूर्ण पाटो हो । महिला र पुरुषको भिन्नता भौतिक संरचनामा मात्रै नभएर मनोवैज्ञानिक बनावटमा पनि छ । वास्तवमा महिला र पुरुषको मनोवैज्ञानिक संरचना फरक किसिमको हुन्छ र उनीहरूले घटनाहरू र अवस्थाहरूमा प्रतिक्रिया दिने तरिका पनि फरक हुन्छ । जस्तै– महिला र पुरुषको कुराकानी गर्ने शैली, सम्बन्ध, सम्झौता, भावना व्यक्त गर्नमा र तनावमा देखाउने प्रतिक्रिया आदिमा निकै फरक हुने गर्छ । यसरी लिंग भेदहरू भौतिक, शारीरिक, र मनोवैज्ञाक विशेषताहरूमा आधारित छन् ।

त्यसै गरी यो लिंग भेद विभिन्न मानसिक समस्याहरू, जस्तै– डिप्रेसन, एन्जाइटी र मनोशारीरिक समस्या– आदिको दरमा पनि देखिन्छ । यी रोगहरू अक्सर महिलामा बढी देखिएका छन् । अझै आधुनिक समाजमा महिलाहरूको सबलता बढेसँगै घर बाहिर काम गर्ने क्रम बढेको छ तर बच्चा जन्माउने, हुर्काउने देखि लिएर घरायसी काम सम्हाल्ने सम्मका कामहरू अक्सर महिलाकै जिम्मेवारीमा रहने गरेको छ, जसका कारण पनि उनीहरू बढी मानसिक बोझमा पर्दछन् । एकातिर मानसिक स्वास्थ्य नै कम प्राथमिकतामा परेको स्थिति छ भने यसमा महिला मानसिक स्वास्थ्य त झनै ओझेलमा परेको छ ।

यस्तो छ तथ्यांक
वयस्कहरूको मानसिक स्वास्थ्य समस्याहरूको अग्रस्थानमा डिप्रेसनको मनोरोग छ जसमा महिलाहरू पुरुषको तुलनामा झन्डै दुई गुणा बढी प्रभावित छन् । तथ्यांकहरूका अनुसार हरेक चार महिलामध्ये एक महिला आफ्नो जीवनकाल भरीमा डिप्रेसनको मनोरोगको जोखिममा हुन्छिन् । विश्वभर बर्सेनि ५० लाख मानिसहरू जो हिंसात्मक द्वन्द्व, युद्ध र विस्थापनका सिकार हुन्छन् ती मध्ये अनुमानित ८० प्रतिशत महिला र बच्चाहरू छन् । विभिन्न अध्ययनको तथ्यांकहरूका अनुसार १६ देखि ५० प्रतिशत महिला आफ्नो जीवनकालमा हिंसाको सिकार हुने गरेका छन् । जीवनभरमा कम से कम पाँच महिला मध्ये एक जना बलात्कार वा बलात्कारको प्रयासको सिकार भएका छन् ।

मासिक महिनावारीसँगै महिलामा मुड र व्यवहार परिवर्तन हुने गर्छ । झर्को लाग्ने, छटपटी हुने, तनाव हुने, उदासी, निन्द्रामा समस्या, एकाग्रताको कमी आदि लक्षणहरू महिनावारी हुनु केही समय अगाडिबाट देखा पर्छन् । प्रायः जसो गर्भवती बेलाको पछिल्लो समय र सुत्केरी अवस्थामा केही मानसिक असन्तुलन देखिने गर्छ । त्यसैगरी सुत्केरी अवस्थामा हुने एक किसिमको मानसिक समस्या जसलाई ‘पोस्टपार्टम ब्लुज’ भनिन्छ, जसले ५० देखि ८० प्रतिशतसम्म सुत्केरी आमाहरूलाई असर गरेको पाइन्छ । त्यस्तै गरी ‘पोस्टपार्टम डिप्रेसन’ भन्ने समस्या सुत्केरी आमाहरूमा ६ हप्ता भित्रमा देखा पर्न सक्छ । जसमा आमालाई निरन्तर उदासी हुने, बच्चाप्रति पनि कुनै माया मोह नहुने, बच्चाको नियमित हेरचाह पनि गर्न मन नलाग्ने÷नगर्ने, निद्रा तथा खानामा गडबडी हुने, बढी रिसाउने÷झिंजिने, अत्यधिक भावुकताले गाँज्ने, रोइरहने, डराउने÷शंका गर्ने जस्ता समस्या देखा पर्न सक्छन् ।

सन् २००८ मा नेपालमै भएको एक अध्ययनले बच्चा पाउने उमेरका महिलाहरूको मृत्युको प्रमुख कारण ‘आत्महत्या’ भएको देखाएको छ । कम आयस्रोत, छोरीको जन्म, सासू र पतिको घरपरिवारसँगको सम्बन्धमा कठिनाइहरू, गर्भावस्थाको समयमा प्रतिकूल घटनाहरू घट्नु र शारीरिक सहायताको कमी आदि ‘पोस्टपार्टम डिप्रेसन’ को सुरुआतका लागि जोखिम कारकहरू हुन् । यसको अतिरिक्त, सुत्केरी अवस्थामा पहिला भएको मानसिक समस्याको लक्षणहरू पुनः बल्झिने सम्भावना हुने गर्छ । अन्य महत्वपूर्ण जोखिमका कारकहरूमा छोरा र छोरीबीच भेदभाव, महिलाको भूमिकामा घरायसी कामकाज र शिशु स्याहार, अत्यधिक कार्यभारहरू, विशेष गरी बहुपुस्ते परिवारमा जहाँ बुहारीलाई कम स्वायत्तता छ र लिंगमा आधारित हिंसा आदि पर्छन् ।

यसबाहेक, जब एक महिला मानसिक रोगी हुन्छिन्, स्वास्थ्य सेवा दिनमा प्रायः ढिलाइ गरिन्छ । बरु उनी आफैँलाई बिमारीको लागि दोषी मानिन्छ । मानसिक रोगकै कारणले महिलाहरूलाई पति र तिनको आफ्नै परिवारले त्याग्न सक्छ । त्यसो हुँदा अधिकांश महिला दिदीबहिनी ‘स्त्री’ हुनु र ‘मानसिक रोग’ हुनु दोहोरो श्राप पाएजस्तो विडम्बनाको सिकार भइरहेका छन् ।

रोकथामका उपाय
सबैभन्दा पहिलो कदम भनेको महिलाहरूलाई शिक्षा प्रदान गर्नु हो । शिक्षित हुनु भनेकै अधिकार र स्रोतहरूको जागरूकता, शोषण र अन्यायसँग लड्ने क्षमता विकास गर्नु हो । जसले महिलालाई आत्मनिर्भर एवं मनोवैज्ञानिक रूपमा सबल बन्न मद्दत पुग्छ । प्राथमिक स्वास्थ्य सेवाका कर्मचारीहरूले महिला मानसिक स्वास्थ्यको आवश्यकताप्रति संवेदनशील हुन आवश्यक छ र महिलाहरूलाई सहयोग पु¥याउन सशक्त रूपमा प्रशिक्षित हुन आवश्यक छ । महिलाहरूको पहुँच विशेष सेवाहरूसम्म हुन जरुरी छ, जस मध्ये महिला हिंसाविरुद्ध रक्षा गर्नका लागि आश्रय र उनीहरूलाई उचित मानसिक स्वास्थ्य सेवाहरू, यौन र प्रजनन स्वास्थ्य सेवाहरू, लागुपदार्थ÷जाँडरक्सी लगायतका दुव्र्यसनका निम्ति पुनस्र्थापना सेवाहरू, एचआइभी संक्रमितहरूलाई सेवाहरू आदि प्रमुख हुन् । यस्ता रणनीतिहरूको विकास गर्नु जरुरी हुन्छ, जसले महिलाहरूको सामाजिक स्थिति सुधार गर्नेछ, लैंगिक असमानताहरू हटाउनेछ, आर्थिक र राजनीतिक शक्ति प्रदान गर्दछ र अधिकारको जागरूकता बढाउँछ । हुन त धेरै कुरा नीति निर्माता र योजनाकारहरूमा निर्भर हुन्छ, तथापि महिलाहरूले पनि आफ्नो लागि अवाज उठाउन सिक्नु पर्दछ । संघीय गणतन्त्र नेपालको संविधानले कानुनी रूपमा महिला सबलीकरणको निम्ति धेरै प्रशंसनीय कुराहरू समेटेको छ तर अझै पनि महिला सबलीकरणका धेरै पक्षहरू व्यवहारिक कार्यान्वयनमा आउन बाँकी छ । त्यसको निम्ति पनि महिलाहरूले आवाज उठाउनै पर्छ ।

सञ्चार माध्यमलाई धेरै तरिकाले प्रयोग गर्न सकिन्छ । जस्तै, महिला मानसिक स्वास्थ्यप्रति सकारात्मक दृष्टिकोण र व्यवहारहरू बनाउने । पहिलो त त्यस्ता तस्बिरहरू, सन्देशहरू र कथाहरूलाई निगरानी, रोकथाम तथा हटाउन जरुरी छ, जसले महिला मानसिक स्वास्थ्यलाई नकारात्मक असर पु¥याइरहेको छ । दोस्रो त सञ्चार माध्यमबाट महिला मानसिक स्वास्थ्यसँग जोडिएका सामुदायिक समस्याहरू बारे जानकारी प्रदान गर्न सकिन्छ । साथै मानसिक रोग पनि अरू शारीरिक रोगहरू जस्तै निको हुन सक्छ र मानसिक स्वास्थ्य सेवाहरू कहाँ उपलब्ध छन् भन्नेबारे प्रचार गर्न सकिन्छ । (थापा, एमएससी मनोचिकित्सा नर्सिङसँग सम्बन्धिति हुनुहुन्छ)

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय