पुनःस्थापना नेपालको आन्तरिक मामिला : भारत

काठमाडौं । भारतले प्रतिनिधिसभा विघटनको निर्णय बदर गर्ने सर्वोच्च अदालतको फैसलालाई नेपालको आन्तरिक मामिला भएको भनेर टिप्पणी गरेको छ । प्रतिनिधिसभा पुनःस्थापनालाई आन्तरिक मामिला भने पनि नयाँ सरकार बनाउन निर्णायक भूमिकामा ठानिएको कांग्रेसका सभापतिसँग विहिवार नै नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले भेटवार्ता गरेका छन् । भारतको विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा फैसलाका सम्बन्धमा भारतको के प्रतिक्रिया छ ? भनि सोधिएको प्रश्नमा प्रवक्ता अनुराग श्रीवास्तवले यो मामिला नेपालको आन्तरिक भएको प्रतिक्रिया दिएका हुन् । ‘हामीले २३ फेब्रुअरीको नेपालको सर्वोच्च अदालतको फैसलालाई हेरेका छौं । हामीले विगत केही महिनादेखि नेपालको राजनीतिक घटनाक्रमलाई नजिकबाट हेरिरहेका छौं । हामीले पहिले पनि भन्दै आएको यो नेपालको आन्तरिक मामिला हो’, प्रवक्ता श्रीवास्तवले भने । साथै उनले यसअघि जस्तै नेपालले यस किसिमका आन्तरिक विषयलाई आफ्नो लोकतान्त्रिक पद्धति र प्रणालीमार्फत निर्णय गर्नेमा भारतको विश्वास रहेको समेत बताए ।

भारतले त्यसो भनिरहँदा नेपालमा भने क्वात्रा कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा थिए । भेटमा पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको बताइएको छ । राजदूत क्वात्राले अब कसरी अगाडी बढ्न भनेर जिज्ञासा राखेको कांग्रेस स्रोतले जानकारी दिएको छ । सरकारमा नगई अहिले तटस्थ बस्ने निर्णय गरेकै दिनको साँझ भएको यो भेटका विषयमा यद्यपी दुवै पक्षले खुलाउन चाहेका छैनन् । प्रधानमन्त्री केपी शर्मा ओलीले ५ पुसमा प्रतिनिधिसभा विघटन गर्ने निर्णय सम्बन्धमा पनि भारतले आन्तरिक मामिला नै भनेको थियो । विगतमा नेपालका सानातिना राजनीतिक घटनाक्रममा समेत आफ्नो धारणा सार्वजनिक गर्ने गरेको भारतले प्रधानमन्त्री ओलीले संसद् विघटन गर्ने निर्णय गरेको पाँच दिनसम्म पनि कुनै पनि प्रतिक्रिया जनाएको थिएन । ढिलो गरी आएको प्रतिक्रियामा पनि भारतले राजनीतिक घटनाक्रमलाई ‘नोट’ गरेको र आन्तरिक मामिला भनेको थियो ।

त्यतिबेला पनि संसद् विघटनलगायतका निर्णयहरु नेपालको आन्तरिक मामिला भएकाले लोकतान्त्रिक विधि अनुसार निर्णय गर्ने अधिकार पनि नेपालकै भएको बताएको थियो । नेपालको पछिल्लो घटनाक्रममा भारतको के प्रतिक्रिया छ भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले बिहीबारको नियमित पत्रकार सम्मेलनमै त्यस्तो प्रतिक्रिया दिएका थिए ।

प्रतिक्रिया