कांग्रेस सरकारमा जान अनिच्छुक !

काठमाडौं । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षको भूमिकामा रहेको नेपाली कांग्रेसले सरकारमा जान अनिच्छा देखाएको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को एक खेमा पुष्पकमल दाहाल–माधवकुमार नेपालले सत्ता सहकार्यको प्रस्ताव राखेपछि कांग्रेस छलफलमा जुटेको थियो । सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा विहिवार भएको पदाधिकारी र पूर्वपदाधिकारीको छलफलमा सरकारमा जान नहुने विचारहरु आएका छन् । जनताले कांग्रेसलाई पाँच वर्ष प्रतिपक्षमा बस्न म्यान्डेट दिएकाले अहिले नै सरकारमा जान नहुने विचारहरु आएका छन् । निर्वाचन आउन लामो समय नरहेकाले सरकार भन्दा महाधिवेशनमा केन्द्रीत हुनुपर्ने कुरा उठेपछि निर्णय हुन सकेन । तर, कांग्रेसले अहिले पनि सरकारका विषयमा नेकपा नै पहिलो जिम्मेवार पार्टी भएको ठहर भने गरेको छ ।

कांग्रेसले नेकपा फुट्यो भने मात्रै सरकारका विषयमा थप सोच्ने निर्णय भने एकमतले गरेको छ । केपी शर्मा ओली नेतृत्वको सरकार परिवर्तन गर्ने वा निरन्तरता दिने भन्ने विषय सत्तारुढ नेकपाकै हातमा रहेको भन्दै अहिले कुनै निष्कर्ष निकाल्नु हतारो हुने समीक्षा गरेको छ । सहमहामन्त्री डा. प्रकाशशरण महतले बल अहिले नेकपाकै कोर्टमा रहेको प्रतिक्रिया दिए । ‘सरकार राख्ने कि हटाउने भन्ने कुरा कांग्रेस भन्दा नेकपा नै निर्णायक हो । नेकपा विभाजन भएको हो कि होइन ? उहाँहरुको पहिले प्रष्ट हुनुपर्छ । अहिले नै कांग्रेसले निष्कर्ष निकाल्नु अपरिपक्व हुन्छ । हामीले बैठकमा राजनीतिक घटनाक्रमको समीक्षा गरेका छौं तर सरकारबारे अहिले हाम्रो कुनै धारणा हुन्न’, उनले भने । महतले संसदमा अविश्वास प्रस्ताव आयो भने त्यसबेलै छलफल हुने बताए । नेकपा कानूनी रुपमा विभाजित भइनसकेकाले कांग्रेसले थप निर्णय गर्न आवश्यक नरहेको बताएको छ ।

नेकपा विभाजन भईनसकेकाले अहिले दुवै खेमासँग सहकार्य नगरिने कांग्रेसले स्पष्ट पारेको छ । कांग्रेसका वरिष्‍ठ नेता रामचन्द्र पौडेलले नेकपा विभाजनको स्थिति प्रष्ट भइनसकेको अवस्थामा कांग्रेसले कुनै निर्णय नगर्ने बताए । संसदमा विषय आयो भने त्यहीं कांग्रेसले आफ्नो पोजिसन प्रष्ट पार्ने उनले जानकारी दिए । ‘छोरो नपाई कन्दी बाट्ने कुरा हुँदैन । नेकपाको कुरा के हो ? उनीहरु विभाजन भएका हुन् कि होइनन् ? यसबारेमा प्रष्ट हुनुपर्छ । भोलि संसदमा विषय आयो भने हामीले निर्णय गर्ने हो’, उनको भनाई थियो ।

नेता कृष्णप्रसाद सिटौलाले हतारमा निर्णय गर्न नहुने बताए । नेकपाका दाहाल–नेपाल समूह र ओली समूहले भेट्न खोज्यो भने दुवै पक्षसँग भेट्ने, छलफल गर्ने तर अहिले नै कुन पक्षलाई समर्थन गर्ने भन्ने निष्कर्ष ननिकाल्ने विषयमा एकमत भएको उनले बताए । ‘कांग्रेसले हतार गरेर निर्णय गर्नु काम छैन । संसद् पुनःस्थापनापछि नेकपा एक छ । उनीहरुको विवाद कसरी टुंगिन्छ । त्यसपछि हाम्रो भूमिका क्लियर गर्छौं’, उनले भने । त्यस्तै नेता अर्जुननरसिंह केसीले नेकपा अलग–अलग पार्टी नै बन्ने नि‍श्चित नभएसम्म कांग्रेस यो वा त्यो पक्षलाई समर्थन गर्ने भन्ने निर्णय नगर्ने विषयमा समझदारी भएको बताए । उनले नेकपा विभाजनको दिशा अगाडि बढेमा छुट्टै बैठक बसेर धारणा बनाउने बताए । नेकपा कुन आधिकारिकता भन्ने विषय निर्वाचन आयोगले टुंग्याउन बाँकी छ ।

पुस ५ गते प्रधानमन्त्री ओलीको सिफारिसमा भएको प्रतिनिधिसभा विघटनको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएपछि नयाँ सत्ता समीकरण बनाउने खेल सुरु हुँदै छ । नेकपा दाहाल–नेपाल समूहले संसद् बैठक सुरु भएपछि प्रधानमन्त्री ओलीलाई हटाउन खोजिरहेको छ भने ओलीले आफू प्रधानमन्त्रीमा निरन्तरताका लागि वा आफ्नो पक्षले सरकार सञ्‍चालनको प्रयास गर्ने कसरतमा देखिएका छन् । दाहाल–नेपाल समूहले भने कांग्रेस, जसपालगायत दलसँग सत्ता समिकरणका लागि संवाद समेत थालिसकेका छन् ।

जसपाले सोध्यो : तपाईहरु कुन पार्टीको ?
सत्तासमिकरणका लागि छलफल गर्न पेरिसडाँडामा पुगेको जसपाले दाहाल–नेपाललाई तपाईहरु कुन पार्टीको भनि जवाफ माग गरेको छ । प्रतिनिधिसभा पुनःस्थापना भएपछि अबको राजनीति र सत्ता समिकरणका विषयमा छलफल गर्न दुई पार्टीका शिर्षस्थ नेताहरु भेला भएका थिए । छलफलमा नेकपाको सो समुहका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाल तथा जसपाको तर्फबाट नेतात्रय महन्थ ठाकुर, राजेन्द्र महतो र राजेन्द्र श्रेष्ठ सहभागी थिए । दाहाले जसपाका नेताहरुलाई मिलेर अगाडी बढ्न आग्रह गरेका थिए । तर, महतोले त्यसका लागि आधार नभएको जवाफ दिएको बताए । ‘प्रचण्डजीले वर्तमान अवस्थामा सबै मिलेर जाऔँ भन्नुभयो । मैले चाहिँ कसरी बढ्ने हो, कोसँग मिल्ने हो, तपाईँको पार्टी कुन हो भन्ने प्रश्न गरेँ’, महतोले छलफलपछि भने ।

उनले तत्कालीन संविधानसभाबाट नयाँ संविधान जारी गरेका बेला सबै मिलेर धोका दिएको बताउदै भने, ‘त्यतिबेला पनि हामी संघर्षमा थियौँ, अहिले पनि संघर्षमा छौँ । सहकार्य कसरी हुन्छ ?’ नेता महतोले यसविषयमा दाहालले लटरपटर कुरा गर्नुभएको बताए । जसपाले प्रतिगमनमाथी भएको प्रतिगमन सच्चिए पनि प्रतिगमन अझै बाँकी रहेकाले सहकार्य हुन नसक्ने बताएको उनले भने । ‘प्रतिनिधिसभा विघटनलाई हामीले प्रतिगमनमाथि अर्को प्रतिगमन भनेका छौँ। सहकार्य गर्नका लागि त हाम्रो लागि प्रतिगमन सच्चिएकै छैन ।’ छलफलमा आफूहरूले आफ्ना कतिपय नेता, कार्यकर्तामाथि चलाइएका मुद्दा र जेलसजाय लगायतका विषय पनि उठाएको नेता महतोले बताए ।

प्रतिक्रिया