देवघाट क्षेत्र विकास समितिका अध्यक्ष अधिकारीद्वारा पदभार ग्रहण

भरतपुर । देवघाट क्षेत्र विकास समितिका अध्यक्षमा बद्रीप्रसाद अधिकारीले पदभार ग्रहण गरेका छन् । एकसाता अघिमात्र उनलाई पर्यटन मन्त्रालयले अध्यक्षमा नियुक्त गरेको थियो । पदभार ग्रहण गर्दै अधिकारीले देवघाट क्षेत्रको विकासका लागि सबैसँग हातेमालो गरेर अगाडि बढ्ने बताए ।

देवघाटलाई धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकास गरेर अगाडि लैजाने भन्दै उनले देवघाटमा रहेका मठमन्दिर र आश्रमहरुको संरक्षण र प्रवर्द्धन गर्दै अगाडि बढ्ने बताए ।

उनले भने, ‘देवघाटमा रहेका स्थानीय तह, स्थानीयवासी र आश्रमसँग समन्वय गरेर अगाडि बढ्छु ।’ उनले देवघाटमा लामो समयदेखि समस्याका रूपमा रहेको जग्गा अतिक्रमणलाई पनि रोक्ने बताए ।

अतिक्रमण गर्ने व्यक्ति र संघ संस्थासँग बसेर छलफल गरी समस्या समाधानको बाटो रोज्ने योजना रहेको उनले बताए । देवघाटमा रहेको बाँदरको समस्यालाई व्यवस्थितरूपमा समाधान गर्ने र दाहासंस्कार स्थलमा छाडा छोडिएका गाईलाई पनि व्यवस्थित गरिने अधिकारीको भनाइ छ । उनले त्रिकोणात्मक झोलुङ्गे पुल निर्माणलाई अगाडि बढाइने प्रतिबद्धता जनाए ।

कार्यक्रममा निर्वतमान अधयक्ष शिवराज पौडेलले देवघाटको विकासका लागि नयाँ अध्यक्षलाई सहयोग गर्ने बताए । समितिले ठीक समयमा ठीक निर्णयका साथ काम गरिरहेको उनको भनाइ थियो ।

देवघाट गाउँ पालिकाका अध्यक्ष दुर्गबहादुर थापाले स्थानीय तहसँग सहकार्य गरेर काम गर्न आग्रह गरे । उनले देवघाट क्षेत्र विकासलाई गाउँपालिकाले सहयोग गरिरहेको भन्दै आउँदा दिनमा पनि सहयोग गर्ने बताए ।

प्रतिक्रिया