अब हिउँद वर्षा नै ढुक्क

 

नामअनुसारको कामले गर्दा मोरङको बक्राहा नदीबाट बर्सेनि जनजीवन प्रभावित हुने गरेको छ । वर्षातमा उर्लिएर आउने बाढीका कारण जनधनको क्षति हुन्छ । हेर्दा सामान्यजस्तो देखिने यस नदीबाट जमीन कटान र बस्ती डुबानमा पर्ने गरेको छ । नदीमा आउने बाढी र कटानको समस्यालाई समाधान गर्न बर्सेनि स्थानीयले दवाव दिदै आएका छन् । नदी नियन्त्रणको काम नभएका होइन, तर नदीमा उर्लिएर आउने बाढीको अगाडि त्यो प्रयासले काम गरेन । अनियन्त्रित बाढीका कारण स्थानीयले सास्ती खेप्दै आएका थिए । नदीले बर्सेनि दुःख दिन थालेपछि भर्खरै सरकारले कोसी तथा बक्राहा नदी व्यवस्थापन आयोजना कार्यालय विराटनगरमा स्थापना गरेको छ । यसबाट नदीको किनार तथा छेउछाउका वासिन्दा उत्साहित भएका छन् ।

पूर्वीउत्तर क्षेत्र उर्लावारी नगरपालिका–१ का सोमनाथ अधिकारीको घर नजीकै बक्राहा नदीमा बाँध लगाउने जानकारी पाएपछि उनी हर्षित छन् । शिरानबाट बगेर आउने यस नदीमा पानीको अत्यधिक वेग हुन्छ । उनका अनुसार नदीले बर्सेनि धार परिवर्तन गर्नाले कुन वर्ष के हुन्छ अनुमान लगाउन गाह्रो छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत कोशी तथा बक्राहा नदी व्यवस्थापन आयोजनाले यस वर्ष बक्राहालगायत जिल्लाका अन्य नदी गरी १५ स्थानमा तटबन्ध निर्माणको योजना बनाएको छ । चालू आर्थिक वर्षमा आयोजनाले बक्राहा, लोहन्द्रा, चिस्याङ र डाँसबक्राहा नदीमा तटबन्ध निर्माण गर्ने गरी प्रक्रिया अघि बढाइएको आयोजनाप्रमुख डिभिजन इन्जिनियर कैलाश श्रेष्ठले बताए ।

उनका अनुसार मिक्लाजुङ–६ मा तीन सय मिटर तटबन्ध निर्माणका लागि ९२ लाख, उर्लाबारी–३ र ८ मा ३ सय ५० मिटरका लागि १ करोड ६५ लाख रुपैयाँको बोलपत्र आह्वान भएको छ । यस्तै पथरीशनिश्चरे नगरपालिका–५ मा सय मिटरका लागि ५५ लाख, सुनवर्षी–६ कयाक्षी र ७ को चेतामा क्रमशः २ सय ७५ मिटर र ३ सय १५ मिटर तटबन्ध निर्माणका लागि २ करोड ५२ लाख रुपैयाँ विनियोजन भएको छ । रतुवामाई नगरपालिका–१ सोनापुरमा १ सय ८३ मिटर तटबन्ध निर्माणका लागि ८७ लाख ९६ हजार रुपैयाँ निकासा भएको छ । आयोजनाले यी आठ स्थानमा ६ करोड ६१ लाखको लागतमा १ हजार ५ सय २३ मिटर तटबन्ध निर्माण गर्नेेछ ।

बक्राहाबाहेक लोहन्द्रा खोला बग्ने बेलबारी–१ र ५, ग्रामथान गाउँपालिका–४, कटहरी गाउँपालिका–२, चिस्याङ बग्ने कानेपोखरी–५ र ८, रंगेली–८ र डाँसबक्राहा बग्ने पथरीशनिश्चरे–८, ९ र १० मा तटबन्ध गरिने आयोजनाले जनाएको छ । कोशी तथा बक्राहा नदी व्यवस्थापन आयोजनाले बक्राहा नदीका सात स्थान र अन्य तीनवटा खोलाका आठ स्थान गरी जम्मा १५ स्थानमा तटबन्ध निर्माणका लागि सहमतिपत्रमा हस्ताक्षर हुन बाँकी छ । गत वर्षको बाढीले बढी असर गरेका स्थान, स्थानीय र जनप्रतिनिधिको सुझावअनुसार तटबन्ध निर्माण गरिने स्थानको छनोट गरिएको आयोजनाका इन्जिनीयर रिन्जे गुरुङले बताए । नदीमा आएको बाढीका कारण गत वर्ष ७५ घर बगाइएको थियो । वर्षायाम शुरु हुनुअघि नै काम सम्पन्न गर्नेगरी काम अघि बढेको उनले बताए ।

खेतीयोग्य जमीनलाई नदीको कटानबाट जोगाउन वर्षायाम अघि नै निर्माण सम्पन्न गर्ने गरी छुट्टाछुट्टै निर्माणका लागि प्याकेजमा बोलपत्र आह्वान गरिएको आयोजनाले जनाएको छ । बक्राहा, लोहन्द्रा, चिस्याङ र डाँस–बक्राहाले नदीमा आएको बाढीले बढी क्षति गर्दै आएका छन् । नदीले बर्सेनि लाखौँ मूल्य बराबरको धानबाली नष्ट गरेर उब्जाउ जग्गा बगरमा परिणत हुने गरेको छ । बाढीका कारण सयौैँ घर नष्ट हुनु र हजारौँ घर डुबानमा पार्ने गरेको छ । उर्लाबारी नगरपालिका–१ का नरबहादुर विश्वकर्माको खोला छेउमा घर भएकाले वर्षातको समयमा आउने बाढीले त्रसित भएर रातभरि जाग्राम बस्नु परेको दुःख सुनाए । उनले भने, ‘बक्राहा नदीमा आउने बाढीले मेरो केही खेती बगरमा परिणत भएको छ । यसबाट जोगिन सरकारले ठोस योजना बनाउपर्छ ।’

जिल्लाको सबैभन्दा दुर्गम स्थान मिक्लाजुङ निवासी राधा निरौलाले भनिन, ‘मानिसले दिएको दुःख सहन सकिन्छ, खोलाले दिएको दुःख सहन गाह्रो छ । खोलाले एकै पटक सबै थोक बगाएर लैजान्छ ।’ सोही स्थानका न्यौपाने बस्तीमा पनि बक्राहा नदी गाउँघरमै पसेर दुःख दिएको बिर्सन नपाउँदै फेरि त्यही दुःखको चपेटामा पर्ने गरेकाले यहाँका बासिन्दा हिउँदमा भने ढुक्क भएर घरमा बस्छन् । मिक्लाजुङ–६ का देवी निरौलाले खोलाभन्दा बस्ती तल भएकाले यस क्षेत्रमा जोखिम धेरै भएको बताइन् । बाढी आउनासाथ बस्तीमा पसिहाल्दा दिगो व्यवस्थापन गर्न धेरै पटक सम्बन्धित निकायमा गुनासो गर्दै आएको बताइन् ।

बस्ती विस्तार हुनु र खोला साँघुरिँदै गएपछि बस्ती झन् बढी जोखिममा पर्ने गरेको आयोजनाको अध्ययन रहेको छ । आयोजनाका इन्जिनियर रिन्जे गुरुङले स्वतन्त्ररूपमा बग्ने नदी मानिसका कारण खुम्ँिचदै गएकाले समस्या बढेको बताए । एउटा तटबन्धले ४० देखि ५० हेक्टर जमीनलाई बाढीको क्षतिबाट जोगाउन सकिने उनले बताए ।
जिल्लामा सबैभन्दा बढी दुःख दिने बक्राहा नदीलाई नियन्त्रण एवं व्यवस्थित गर्न आगामी वर्षदेखि एसियाली विकास बैंक (एडिबी)ले पनि लगानी गर्ने योजना बनाएको आयोजनाले जनाएको छ । दीर्घकालीन समस्याको स्थायीरुपमा समाधानका लागि नदी नियन्त्रणका लागि सर्भेको काम भइरहेको छ ।

बक्राहा नदीको समस्या समाधानका लागि योजनाबद्धरूपमा काम गर्न आवश्यक रहेको नदी क्षेत्रका प्रभावित वासिन्दाले बताए । उर्लाबारी–१ का वीरबहादुर माझीले बक्राहा नदीले खेतीयोग्य जमीन सबै लग्दा भूमिहीन हुनु परेको गुनासो गरे । उनले खोला छेउ लागेपछि खोलाको बीचमा बिरुवा लगाएर बाली लगाउन सुरु गरे पनि केही वर्षपछि हुर्किएका बिरुवासमेत बाढीले बगाएर लगेको बताए । उनले भने, ‘नदी व्यवस्थापन भएपछि खोलामा पसेको जग्गा फेरि प्राप्त गर्न सक्थे र मेरो दिनचर्या पनि परिवर्तन हुनसक्थ्यो ।’

प्रतिक्रिया