‘यो सरकार छ, सरकार रहन्छ’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजिनामा नदिने संकेत गरेका छन् । सर्वोच्च अदालतको संवैधानिक इजलासको फैसलालाई सामान्य भन्दै सरकार नफेरिने संकेत गरेका हुन् । प्रतिनिधि सभा विघटनको निर्णय सर्वोच्चले बदर गरेको भोलीपल्ट राजधानीमा नेपालको माटोको डिजिटल नक्सा सार्वजनिक कार्यक्रममा ओलीले भने, ‘हामी हाम्रो कर्तव्यमा जुट्छौँ र देश बनाउँछौँ । यो संकल्प निरन्तर अघि बढ्छ ।’ नेकपाकै अर्को समुह दाहाल–नेपाल समुहले राजिनामा माग गरिरहेका बेला उनले यो सरकार छ र रहन्छ भनेर आश्वास्त पार्ने प्रयास गरेका थिए । ‘अहिले यो सरकार छ । सरकार रहन्छ । विकासको काम अघि बढिरहेको छ । तपाईँहरू विकासको मार्गमा निश्चिन्त निस्फिक्री ढंगले अघि बढ्नूस्’, ओलीको भनाई थियो ।

आफू प्रधानमन्त्री छँदासम्म राम्रो काम गर्ने बताउँदै ओलीले अदालतको फैसलाले प्रभाव पारेको हो त होइन ? भन्ने प्रश्न गर्दै भने, ‘यो सामान्य कुरा हो । मेरा भाइहरुले लड्डु ख्वाइ ख्वाइ गरेका छन् । जिते भनेका छन्, के जिते मलाई थाहा छैन । लड्डु खाएर के पाउँछन् हेर्नु छ ?’ उनले उक्त समूहले पुनः आफ्नो राजीनामा माग्ने आफूलाई लागेको उल्लेख गर्दै जस्तोसुकै अवस्थामा पनि आफ्नो ‘देश विकासको संकल्प’ परिवर्तन नहुने उल्लेख गरे । यसैबीच, ओली पक्षीय स्थायी कमिटीले सर्वोच्चको आदेश अनुसार संसदको बैठक आव्हान गर्ने निर्णय गरेको छ । तर, ओलीको राजिनामाका विषयमा अहिले कुनै छलफल नै नभएको बताएको छ । सो समूहका प्रवक्ता प्रदीपकुमार ज्ञवालीका अनुसार बैठकले सर्वोच्च अदालतले गरेको फैसला कार्यान्वयन गर्ने निर्णय गरेको जानकारी दिए । ‘अहिलेको हकमा सर्वोच्च अदालतको फैसलालाई सम्मान र कार्यान्वयन गर्ने हामीले निर्णय गरेका छौँ ।’ अदालतले आदेश आएको १३ दिनभित्र प्रतिनिधिसभा बैठक बोलाउन माग गरेको छ ।

अदालतको फैसलालाई कार्यान्वयन गर्ने निर्णय गरे पनि मुलुकमा हुनसक्ने अस्थिरताबारे आफुहरुको मुख्य चासो रहेको ज्ञवालीले टिप्पणी गरे । उनका अनुसार बैठकले समग्र परिस्थितिबारे छलफल गर्न केन्द्रीय कमिटी र संसदीय दलको बैठक बोलाउने निर्णय पनि गरेको छ । प्रतिनिधिसभाको अधिवेशन निर्धारित समयमै बोलाइने बताउँदै नेता ज्ञवालीले त्यसपछिको दृश्य कस्तो हुन्छ भन्नेबारे सबै पक्षसँग छलफल गर्ने निर्णय समेत बुधवारको स्थायी कमिटी बैठकले गरेको छ । प्रधानमन्त्री ओलीले राजीनामा दिने वा नदिनेबारे पत्रकारहरूको जिज्ञासामा नेता ज्ञवालीले आवश्यक परामर्श गरी प्रधानमन्त्रीले ‘उपयुक्त’ निर्णय लिने जबाफ दिए । त्यस्तै बैठकले देशका विभिन्न ठाउँमा यसअघि निर्धारित पार्टीका कार्यक्रमहरूलाई निरन्तरता दिने निर्णय गरेको छ ।

प्रतिक्रिया