कोभिडले लैंगिक असमानता : विश्व बैंक

काठमाडौं । विश्व बैंकको एक अध्ययनले महिलाहरूलाई आर्थिक अवसर दिलाउन कानुनी अवरोध रहेको भन्दै कोभिड–१९ महामारीले लैंगिक असमानताको अवस्था झनै भयावह देखाएको छ । ‘वुमन बिजनेस एन्ड लज, २०२१’ नाम दिइएको उक्त प्रतिवेदनले सो कुराको खुलासा गरेको हो । प्रतिवेदनमा आर्थिक अवसरमा महिला समावेशीताका लागि आवश्यक सुधारहरू समेत उल्लेख गरिएको छ । औसतमा महिलाले एउटा पुरुषको तुलनामा तीनचौथाइ मात्र कानुनी अधिकार प्राप्त गरेको प्रतिवेदनमा छ । उक्त प्रतिवेदनले १ सय ९० देशमा आर्थिक अवसरमा महिलाको सहभागितालाई प्रभावित गर्ने विभिन्न आठ क्षेत्रका कानुन र नियमहरूको अध्ययन गरेको थियो ।

प्रतिवेदनमा विश्व बैंकका अध्यक्ष डेभिड माल्पसले नेपालको नाम उल्लेख नगरी महिलालाई विदेश यात्रामा समेत अवरोध गर्नु लैंगिक विभेदको उत्कर्ष भएको उल्लेख गरेका हुन । कतिपय देशमा महिलालाई पुरुष अभिभावकको रोहवरमा मात्र यात्रा गर्न पाउने प्रबन्ध समेत गरिएको, यस्ता कानुनले लैंगिक असमानता बढाउने माल्पसले भनेका छन । उनले महिलाहरूलाई अवसरबाट वञ्चित गर्ने र अवरोध गर्ने काम भएको टिप्पणी समेत गरेका छन् । महामारीको समयमा महिलालाई शिक्षण क्रियाकलापमा संलग्न हुन तथा रोजगारी जोगाउन कठिनाइ भएको साथै महिला हिंसाबाट प्रताडित भएको समेत बताइएको छ । ‘महिलालाई पुरुषलाई झैं समान खालको वित्तीय पहुँच तथा उत्तराधिकार कायम हुनुपर्छ र यसले मात्र कोभिड–१९ महामारी पछि अर्थतन्त्रको समावेशी र उत्थानशील पुनरुत्थान सम्भव छ ।’ माल्पसले भनेका छन् ।

धेरै देशमा महिलालाई नवप्रवर्तन तथा सरकारका विभिन्न पहलमा सहभागी गराउने प्रचलनसमेत नरहेको भन्दै विश्व बैंकका अध्यक्ष माल्पसले समुन्नत विकासका लाभ हासिल गर्नका लागि महिलालाई सबै खाले आर्थिक अवसरमा समावेश गराउनुपर्ने बताएको विश्वबैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । धेरै देशहरूले लैंगिक समानता कायम गर्ने सवालमा ठूलो फड्को मारेको दाबी गर्दै गर्दै महिलालाई कानुन र नियमले आर्थिक अवसरबाट वञ्चित गरेको र महामारीको समयमा उनीहरूले स्वास्थ्य सुरक्षा र आर्थिक सुरक्षामा ठूलो चुनौती देखापरेको विश्व बैंकको अध्ययनले देखाएको छ ।

प्रतिक्रिया