पुँजीगत खर्च १९ प्रतिशत मात्रै

काठमाडौं । चालु आर्थिक वर्षको ११ फागुनसम्म १९ दशलमव २९ प्रतिशत मात्रै पुँजीगत खर्च भएको छ । यो अवधिमा ३५ दशलमव ५६ प्रतिशत मात्रै बजेट खर्च भएको छ । रकममा ६८ अर्ब ६ करोड ५३ लाख रुपैयाँ मात्रै पुँजीगत खर्च भएको देखिएको छ । चालु आवमा ३ खर्ब ५२ अर्ब ९१ करोड ७५ लाख रुपैयाँ पुँजीगत खर्च गर्ने लक्ष्य सरकारले लिएको थियो ।

लक्ष्यअनुसार खर्च गर्न नसक्ने भएपछि बजेटको अर्धवार्षिक समीक्षामा यसको संशोधन गरिसकिएको छ । अर्थ मन्त्रालयले पुँजीगत खर्च संशोधन गरेर २ खर्ब ८३ अर्ब ४ करोड रुपैयाँ खर्च गर्ने लक्ष्य राखेको छ । अहिलेसम्म चालु खर्च भने ४४ दशलमव ६८ प्रतिशत खर्च भइसकेको छ । ९ खर्ब ४८ अर्ब ९४ करोड ६ लाख रुपैयाँ विनियोजन गरेको थियो । यसलाई पनि सरकारले बजेटको अर्धवार्षिक समीक्षा गर्दा संशोधन गरेको छ ।

सरकारको संशोधित अनुमानमा ९ खर्ब १४ अर्ब ७८ करोड रुपैयाँ मात्रै खर्च हुने अनुमान रहेको छ । वित्तीय व्यवस्थातर्फ १ खर्ब ४६ अर्ब ८६ करोड गरी कुल १३ खर्ब ४४ अर्ब ६८ करोड रुपैयाँ खर्च हुने संशोधित अनुमान छ । सरकारले विनियोजन गरेको १४ खर्ब ७४ अर्ब ६४ करोड ५४ लाख रुपैयाँ बजेटमा ९१ दशलमव १९ प्रतिशत मात्रै खर्च हुने अनुमान गरिएको थियो । खर्चको अवस्था हेर्दा संशोधित अनुमान पनि पूरा हुन सक्ने सम्भावना कम देखिन थालेको छ ।

मंगलबारसम्म सरकारले लक्ष्यको ५१ दशलमव ३४ प्रतिशत राजस्व संकलन गरेको छ । चालु आवमा सरकारले १० खर्ब ११ अर्ब ७५ करोड ८४ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो । यो अवधिमा सरकारले ५ खर्ब १९ अर्ब ४७ करोड १३ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । सरकारले कर राजस्व तर्फ लक्ष्यको ५२ दशलमव ३७, गैरकर राजस्वबाट ४१ दशमलब ८५ प्रतिशत राजस्व संकलन गरेको छ । अहिले दुईतिहाइको सरकारले गर्न नसकेको खर्च सरकार परिवर्तन भयो भने त्यो त्यो अनुपातमा बजेट खर्च हुने सम्भावना न्यून रहने विज्ञहरूले बताएका छन । नयाँ सरकार बने पनि लक्ष्यअुनसार पुँजीगत खर्च हुने सम्भावना कम हुने आँकलन गरिएको छ ।

प्रतिक्रिया