खोजखबर

प्रधानमन्त्री ओलीको राजीनामाबारे छलफल हुने

सौर्य अनलाइन २०७७ फागुन १२ गते १६:४१ मा प्रकाशित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सर्वोच्च अदालतको फैसलालाई सम्मान गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको नेकपा स्थायी कमिटी बैठकले सर्वोच्च अदालतले मङ्गलबार गरेको फैसलाको सम्मान गरी कार्यान्वयन गर्दै अगाडि बढ्ने निर्णय गरेको छ ।

बैठकपछि नेकपाका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले पार्टीले शक्तिपृथकीकरण, लोकतन्त्रका मूल्यमान्यता र विधिको शासनमा विश्वास गर्ने जनाउँदै संविधानको अन्तिम व्याख्या गर्ने अधिकार सर्वोच्च अदालतलाई हुने भएको भन्दै उसको फैसलालाई कार्यान्वयन गर्ने निर्णय गरिने जानकारी दिए ।

उनले सर्वोच्च अदालतको फैसला सधैँभरि अपेक्षित नहुने र अवाञ्छित परिमाण नै दिन्छन् भन्ने पनि नरहेको बताए । ‘हाम्रो चिन्ता र नेपाली जनताको चाहना स्थिर सरकार, स्थायी नीति र मुलुकमा बलियो राजनीतिक स्थायित्व नै रहेको छ, यी कुरालाई फैसलाले बल पुर्याउँछ वा मुलुक भोलिका दिनमा अस्थिरतातर्फ जान्छ भन्ने कुरा पर्खनुपर्दछ’, उनले बैठकपछि भने ।

पछिल्लो राजनीतिक घटनाक्रमबारे पार्टी केन्द्रीय कमिटी र संसदीय दलको बैठक बोलाइने र त्यसबाट आवश्यक सुझाव लिइने तथा नेकपाले देशका विभिन्न ठाउँमा राखेका कार्यक्रमको स्वरुप परिवर्तन गरेर निरन्तरता दिने निर्णय गरिएको जानकारी उनले दिए ।

संसदीय दलको नेताको हैसियतले प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाउने बैठक नै संसदीय दलको आधिकारिता हुने उनले बताए । संसद् निर्धारित समयमा नै आह्वान हुने पनि उहाँले जानकारी दिए ।

‘मुलुकमा फेरि राजनीतिक अस्थिरता, संसद्भित्र सैद्धान्तिक र नीतिहीन गठबन्धन बन्छ, त्यसैले पहिले जे कारणले संसदीय व्यवस्थाप्रति आलोचना र जनतामा वितृष्णा बढ्यो, त्यो स्थिति फेरि नहोस् भन्नाका लागि मुलुकले लिएको नीति र बाटो अवरुद्ध नहुने गरी सबै पक्षसंँग छलफल गर्छौँ’, उनले भने ।

राजीनामाबारे छलफल हुने

परराष्ट्रमन्त्री ज्ञवालीले प्रधानमन्त्री ओलीको राजीनाबारे विभिन्न दलसँंग छलफल मात्र के गर्ने भन्नेमा निष्कर्षमा पुगिने जानकारी दिए । उनले मुलुकलाई एउटा अन्योलमा राख्नुहुँदैन भन्ने पार्टीको भनाइ रहेको जनाउँदै प्रधानमन्त्रीले जे गर्दा देशका लागि उपयुक्त हुने हो त्यो आवश्यक परामर्शपछि गर्ने बताए ।

‘२०६७ साल असारमा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले राजीनामा दिँदा १७ पटक संसद्मा प्रधानमन्त्रीका लागि चुनाव गर्नुपर्यो,’ उनले भने, ‘मुलुकलाई त्यो ढङ्गले अन्योलमा राख्नुहुँदैन, त्यसपछाडिको परिदृश्य के हुने हुने भनेर प्रष्ट नपारिकन जिम्मेवार मान्छेले त्यत्तिकै जिम्मेवारीबाट पन्छिन मिल्दैन ।’

प्रवक्ता ज्ञवालीले पार्टी एकताका पक्षमा सधैँ रहेकोसमेत बताए । उनले पार्टीभित्र गम्भीर राजनीतिक मतभिन्नता भए पनि एकताबद्ध बनाएर लैजान सकियोस् भन्ने आफूहरुको प्रयास रहेको बताए । एकताको आधार सही विचार, नेतृत्व र सिद्धान्त भएको उनको भनाइ थियो । पार्टी स्थायी कमिटी बैठक बिहीबार पनि बस्ने छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय