किन गुम्दैछ प्रहरीप्रति जनविश्वास ?

विन्दुकान्त घिमिरे

प्रवीण गुरुङ हत्या प्रकरणमा तत्कालीन शाहजादा पारस शाहलाई उन्मुक्ति दिन भुजेल थरका कुनै निर्दोषलाई उभ्याइए जस्तै, दुई दशकअघि काठमाडौंको त्यौड माविका प्रधानाध्यापक हरिभक्त लामिछाने हत्या प्रकरणका बास्तविक अपराधीले राजनीतिक पुहँच पु¥याएपछि ठमेलका एक जना सडक किशोरलाई उभ्याइए जस्तै घटना बाक्लैसँग दोहोरिए भने नेपाल प्रहरीको छवी समाप्त हुन्छ ।

भागरथी भट्ट बलात्कार तथा हत्या प्रकरणका अभियुक्तलाई प्रहरीले फागुन ५ गते बुधबार सार्वजनिक गरेको छ । तर, घटनाको रहस्य अझै बाहिर आउन सकेको छैन । प्रहरीले अभियुक्त भनेर सार्वजनिक गरेको दिनेश भट्ट नाम गरेको १६ वर्षीय किशोरविरुद्ध जाहेरी दिन पीडितको परिवार तयार भएको छ । भागरथीको शव पनि परिवारले दाहसंस्कार गरिसकेको छ । तर, १६ वर्षको किशोर एक्लैको मात्रै प्रयासले १७ वर्षकी किशोरीको बलात्कार संभव छैन भन्दै परिवारले अपराधमा अरू पनि संलग्न हुनसक्ने आशंका गरेको छ । १२ कक्षामा अध्ययनरत भागरथी गत माघ २१ गते दिउँसो साढे एक बजे विद्यालयबाट घरतर्फ प्रस्थान गरेकी थिइन्, तर बेलुका घर नपुगेपछि तत्काल उनको खोजी गरियो । भोलिपल्ट बाटोभन्दा केही मिटर तल जंगलको झाडीमा उनको शव भेटियो । परीक्षणका क्रममा बलात्कारपछि हत्या गरिएको पुष्टि भयो । स्थानीय प्रहरीले तत्काल छानविन गरे पनि अढाई वर्षअघि निर्मला हत्या प्रकरणजस्तै हुने आशंकामा डिआइजिपी उत्तम सुवेदीको नेतृत्वमा अनुसन्धानका लागि विशेष टोली फिल्डमा खटियो । अपराधी छिटो पत्ता लगाउन माग गर्दै स्थानीय क्षेत्रमा आन्दोलन भइरह्यो । करिब दुई साताको प्रयासपछि अनुसन्धान टोली सफलताको ज्यादै नजिक पुगेको छ ।

सामान्यतया यस्तो जघन्य अपराधको दोषी दुई साताभित्रै पत्ता लाग्नु नेपाल प्रहरीको सक्षमता हो । तर, स्थानीयवासीले भने त्यति पनि धैर्यता नराखी आन्दोलन गर्न थाले । स्थानीय क्षेत्रमा मात्रै होइन राजधानी काठमाडौंमा पनि आन्दोलन भयो । सलाई कोरेर चुरोट सल्काएजस्तो तत्कालै अपराधी पत्ता लगाउन सजिलो हुँदैन भन्ने कुरा नागरिक समाजले बुझेन । कञ्चनपुरको घटनाजस्तै आन्दोलनकै कारण अनुसन्धानमा अवरोध उत्पन्न हुने हो कि ? भन्ने अवस्थासमेत उत्पन्न भयो ।

विद्यालय र भागरथीको घर एक घण्टाको पैदल दुरीमा छ । भागरथीको शव भेटिएको ठाउँ विद्यालयबाट आधा घण्टाको पैदल दुरीमा छ । अभियुक्त दिनेशले दिएको वयानका आधारमा प्रहरीले उक्त घटना दिउँसो २ बजेको समयमा भएको जनाएको छ । दिनेश भट्टलाई विशेष निगरानीमा राखेर अनुसन्धान गरिनुमा प्रहरीले चार वटा कारण उल्लेख गरेको छ । पहिलो कारण हो, ‘दिउँसो २ बजे समयको आसपासमा दिनेश भट्टलाई त्यस क्षेत्रमा देखेको घटनास्थलको आसपासमा काम गर्ने मजदुरहरूले जनाउनु ।’ दोस्रो कारण हो, ‘हत्यारा पत्ता लगाउन भन्दै भएका नारा जुलुसमा दिनेश भट्ट थोरै समय मात्रै देखा पर्नु ।’ तेस्रो कारण हो, ‘तालिम प्राप्त कुकुर घटनास्थल लैजाँदा ठूलो संख्यामा मानिस उपस्थित हुँदा पनि दिनेश गाई–गोरु चराउन जानु ।’ चौथो कारण हो, ‘दिनेशको हुल्लडवाजी चरित्र ।’

दिनेशले साविती बयान दिइसकेका कारण प्रहरीको अनुसन्धानप्रति शंका गर्नुपर्ने ठाउँ धेरै छैन । तर, अपराधी एकिन हुन अझै दुई वटा चरण बाँकी नै छ । पहिलो चरण हो, ‘डिएनए परीक्षण ।’ बलत्कारको घटनामा त निकै बेर द्वन्द्व हुन्छ । त्यसमा पछि किशोर १६ वर्षको छ, किशोरी १७ वर्षकी छन् । मध्य दिउँसोको समय छ । त्यसैले बलात्कार गर्न तथा मार्नलाई कम्तिमा आधा घण्टा समय त लाग्यो होला नै । त्यसैले घटनास्थल र अभियुक्तको विधिविज्ञान परीक्षण प्रतिवेदन पछि बास्तविकता खुल्छ । देस्रो चरण हो, ‘अदालतमा अभियुक्तले दिने वयान ।’ प्रहरीले कुटपिट गरेर जबरजस्ती बक्न लगाएको हो वा होइन ? भन्ने निक्र्यौल गर्ने भनेको अदालतले हो । यदि विधिविज्ञान परीक्षण मिल्दोजुल्दो देखिएन भने पनि अभियुक्तले अदालतमा साविति वयान दियो भने अपराधीको किटानी हुन्छ ।

स्थानीय जनप्रतिनिधि एवं समाजका केही अगुवाहरूले अपराधी पत्ता लगाएको भन्दै अनुसन्धान टोलीमा संलग्न प्रहरीहरूलाई सम्मान गरेका छन् । तर, केहीले भने अन्तिम निक्र्यौल आउन बाँकी नै रहँदा सम्मान गर्नु हतार हुने विश्लेषण पनि गरेका छन् । जे होस् प्रहरीले अपराधी पत्ता लागेको सन्देश प्रवाह हुनु भनेको पनि धेरै सुखद् पक्ष हो । अपराध नियन्त्रणमा यस्ता सन्देशले ज्यादै राम्रो भूमिका खेल्छन् । प्रहरीको नजरबाट कुनै पनि हालतमा अपराधी उम्कन सक्दैन भन्ने सन्देश यो घटनाले प्रावह गरेको छ । निर्मला पन्त प्रकरणमा गुमेको प्रहरीको छवीलाई भागरथी प्रकरणले फिर्ता गरेको छ । यस अर्थमा अनुसन्धानमा संलग्न डिआइजी प्रकाश सुवेदी धन्यवादका पात्र छन् । नेपाल प्रहरीको गरिमा बढाइदिएका छन् । तर, केही प्रश्नहरू भने अझै अनुत्तरित छन् । मुख्य प्रश्न भनेको १६ वर्षको किशोरले १७ वर्षकी किशोरीलाई बलात्कार गर्न कुन परिस्थितिमा सक्छ ? बलात्कारपछि हत्याको प्रयोजन के हो ? त्यतिबेला भएको द्वन्द्वमा किशोरीले चिच्याएको वा प्रतिकार गरेको अवस्था थियो कि थिएन ? यी प्रश्नको उत्तर नआउँदै हतारहतारमा प्रहरीहरूलाई भव्य सम्मान गरिनुमा भयंकर रहस्य त छैन ? भन्ने अर्को प्रश्न पनि खडा भएको छ ।

कुनै बेला नेपाल प्रहरीको अपराध अनुसन्धानको कुशलता विश्वकै उत्कृष्ट १० वटा देशका प्रहरीको सूचीमा थियो । तर माओवादी द्वन्द्वपछि नेपाल प्रहरीको साख र कार्यकुशलता एकाएक घट्यो । तै पनि अहिलेसम्म नेपाल प्रहरीलाई स्वच्छ छवि तथा अपराध अनुसन्धानको मामिलामा दक्षिण एसियाकै उत्कृष्ठ मानिन्छ । मुलुकमा हुने गरेका कुल जघन्य अपराध मध्ये ९० प्रतिशतभन्दा बढी अपराधका घटनाका दोषीलाई नेपाल प्रहरीले बढीमा ६ महिनाभित्र पत्ता लगाएको देखिएको छ । विगतमा प्रहरीसँग जुन साधन स्रोत हुन्थ्यो, अपराधीसँग हुँदैनथ्यो, तर पछिल्ला दिनमा प्रहरीभन्दा अपराधीहरूसँग बढी साधन स्रोत र पहुँच हुन थालेको छ । जसका कारण नेपाल प्रहरीको साख खस्कने हो कि ? भन्ने चिन्ता देखिएको छ ।

किनकी विगतमा राजपरिवारका सदस्यबाहेक अन्य अपराधीहरूको निगरानी राख्न प्रहरी स्वतन्त्र थियो, तर अहिले दलका सामान्य झण्डे कार्यकर्ताहरूसमेत प्रहरीलाई सरुवा गर्न सक्ने हैसियतमा छन्, साधन र स्रोत उनीहरूसँग नै धेरै छ । त्यसैले नेपाल प्रहरीलाई आफ्नो साख जोगाइरहन सजिलो छैन । यो कठिन अवस्थामा नेपाल प्रहरीले ख्यान गर्नुपर्ने कुरा के हो भने राजनीतिक पहुँच भएको सक्कली अपराधीलाई उन्मुक्ति दिनका लागि कुनै निर्दोष नागरिकलाई अपराधी किटान गर्ने गल्ती नदोहोरियोस् । प्रवीण गुरुङ हत्या प्रकरणमा तत्कालीन शाहजादा पारस शाहलाई उन्मुक्ति दिन भुजेल थरका कुनै निर्दोषलाई उभ्याइए जस्तै, दुईदशकअघि काठमाडौंको त्यौड माविका प्रधानाध्यापक हरिभक्त लामिछाने हत्या प्रकरणका बास्तविक अपराधीले राजनीतिक पुहँच पु¥याएपछि ठमेलका एक जना सडक किशोरलाई उभ्याइए जस्तै घटना बाक्लैसँग दोहोरिए भने नेपाल प्रहरीको छवी समाप्त हुन्छ ।

प्रतिक्रिया