सफलराम विश्व स्कीका लागि छनोट

काठमाडौं । सफलराम श्रेष्ठ इटालीमा जारी एफआइएस अल्पाइन विश्व स्की च्याम्पियनसिपका लागि छनोट भएका छन् । च्याम्पियनसिपको स्लालोम छनोट चरणमा सहभागीमध्ये ४४ औं स्थानमा रहँदै सफलराम अन्तिम चरण पुग्न सफल भएका हुन् । शनिबार भएको छनोटमा एफआइएस ३३०.२१ अंक जोडेका थिए । च्याम्पियनसिपमा भाग लिन सफलराम झन्डै १० दिन अघि आयोजना स्थल पुगेका थिए । छनोट दुई चरणमा भएको थियो । पहिलो चरणमा सहभागी १ सय १२ मध्ये दोस्रो चरणका लागि ५० खेलाडी छनोट भएका थिए । ६२ खेलाडीले प्रतिस्पर्धा पूरा गर्न सकेनन् । पहिलो चरणमा ४९ औं स्थानमा रहँदै छनोट भएका सफलरामले दोस्रो चरणमा सुधार गरेका थिए ।

विश्व स्की संघको वेभसाइडमा उल्लेख भए अनुसार सफलराम दोस्रो चरणमा ४४ औं स्थानमा रहन सफल भएका थिए । सफलरामले आज मुख्य प्रतिस्पर्धामा प्रतिस्पर्धा गर्ने उनका बाबु समेत रहेको नेपाल स्की संघका अध्यक्ष जीवनराम श्रेष्ठले जानकारी दिए । दक्षिण एसियाली राष्ट्रबाट २ खेलाडी सहभागी थिए । जसमा भारतीय खेलाडी मोहम्मद आरिफ खानले प्रतिस्पर्धा पूरा गर्न सकेनन् । अब दक्षिण एसियाबाट सफलराममात्र प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया