लोकतन्त्रमा फेरी ग्रहण

पटकपटक ग्रहण लागे पनि नेपालमा दलीय व्यवस्था स्थापना भएको ७० वर्ष नाघेको छ । ०७ सालमा सम्पन्न जनक्रान्तिले मुलुकमा दलीय व्यवस्था स्थापना गरेको हो । दलीय व्यवस्था सुरु हुनुअघि नै स्थापना भएका दुई पार्टीहरू नेपालमा प्रमुख राजनीतिक शक्तिका रूपमा अहिले पनि क्रियाशील छन् । जसमध्ये नेपाली कांग्रेसको स्थापना ०५ सालमा भएको हो भने नेपाल कम्युनिस्ट पार्टीको स्थापना ०६ सालमा भएको हो । तर, दलीय व्यवस्थाअन्तर्गत मुलुक कसरी अघि बढिरहेको छ त ? भन्ने विश्लेषण गर्ने हो भने लगभग पौने एक शताब्दीदेखि क्रियाशील पार्टीहरू नेपालमा छन् भन्ने संकेत देखिँदैन । मुलुक कहालीलाग्दो दलदलमा फँसेको छ । शुक्रबार ७१औँ प्रजातन्त्र दिवसका अवसरमा आफ्नो गृहनगर जनकपुरमा आयोजित एक सार्वजनिक कार्यक्रममा पूर्वराष्ट्रपति डा. रामवरण यादवले भने, ‘अहिले सबैभन्दा ठूलो दल विभाजित भएको छ । अर्को दल कांग्रेसको अवस्था पनि ठीक छैन ।’ ‘सबैभन्दा ऐतिहासिक, लोकतन्त्र र समाजवादीको पर्यायवाची बनेको पार्टीको अवस्था के छ ? ठीक छ ?’ प्रश्न गर्दै पूर्वराष्ट्रपति डा. यादवले भने, ‘भोलि संसद् पुनःस्थापना नभए देश कुन बाटोमा जान्छ यो विद्वानलाई सोधुँला, त्यो म भन्न सक्दिनँ भन्दै लोकतन्त्रमा फेरि एकपटक ग्रहण लागेको हुँदा लोकतन्त्र रक्षाका लागि सबैले भूमिका खेल्नुपर्ने बेला आएको छ ।’

भूगोल र जनसंख्याको अनुपातलाई हेर्ने हो भने नेपालमा जति राजनीतिक पार्टीहरूको संख्या बहुदलीय शासन व्यवस्था अपनाएका विश्वका अरू मुलुकमा सायदै होला । पार्टीहरूको संख्या जति नै धेरै भए पनि करिव ८५ प्रतिशत जनमत नेपाली कांग्रेस र कम्युनिस्ट पार्टीहरूकै वरिपरि रहेको विभिन्न निर्वाचनद्वारा पुष्टि हुँदै आएको छ । स्थापना कालदेखि नै नेपाली कांग्रेस करिबकरिब एउटै छ भने कम्युनिस्ट पार्टीहरू विभिन्न चिरामा विभाजित छन् । कम्युनिस्ट पार्टीहरू छरिएर चुनावमा जा“दा नेपाली कांग्रेसले जित्ने र धु्रवीकरण भएर चुनावमा जाँदा कम्युनिस्ट पार्टीले जित्ने गरेको अनुभव पनि छ । ०४८ सालदेखि यताका निर्वाचनलाई हेर्ने हो भने मुलुकमा कम्युनिस्ट जनमत र नेपाली कांग्रेसको जनमत प्रायः स्थिर देखिएको छ । ०६४ सालपछि मधेसीदलहरूको उदय भएको छ । समग्रमा मूल्यांकन गर्ने हो भने नेपाली जनमत कम्युनिस्ट र कांग्रेस पार्टीकै पक्षमा देखिएको छ । यी दुई शक्तिहरू संस्थागत रूपमा अघि बढ्ने हो भने मात्रै बहुदलीय लोकतन्त्र संस्थागत हुन सक्छ, तर दुर्भाग्य यी दुवै शक्तिहरू आन्तरिक संघर्षमै रुमलिए ।

यतिबेला धेरैको ध्यान सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विभाजनका कारण उत्पन्न तरंगले ले खिचेको छ । अर्को महत्वपूर्ण पार्टी नेपाली कांग्रेसभित्र के भइरहेको छ ? भन्नेतर्फ न मिडियाको ध्यान गएको देखियो, न नागरिक समाजले ध्यान दिएको देखियो । उत्ताउलो आरोप प्रत्यारोपमा उत्रिएका कारण मात्रै नेकपाको रडाको ठूलोजस्तो देखिएको हो, तर नेपाली कांग्रेस भित्रको अवस्था कम छैन । पूर्वराष्ट्रपति डा. यादवले कांग्रेसको बारेमा जे टिप्पणी गरेका छन्, त्यो शतप्रतिशत सत्य हो । नेपाली कांग्रेसमा आन्तिरिक लोकतन्त्र समाप्त भएको अवस्था छ । आन्तरिक लोकतन्त्र कुनै पनि दलको प्राण हो । जब आन्तरिक लोकतन्त्र मासिन्छ तब दल प्राणविनाको शरीरजस्तै हुन्छ । नेपाली कांग्रेसले आफ्नो महाधिवेशनसमेत गर्न सकिरहेको छैन ।

अत्यन्त प्रतिकूल अवस्थामा समेत नेपाली कांग्रेसको महाधिवेशन रोकिएको थिएन, त्यसैले नेपाली कांग्रेसले करिब ६५ वर्षसम्म मुलुकको राजनीतिक मियोको भूमिका निर्वाह गर्दै आएको थियो । नेकपामा उत्पन्न अहिलेको संकटबाट मुलुकलाई पार लगाउनका लागि जनताले अपेक्षा गर्ने भनेको नेपाली कांग्रेसको भूमिकालाई नै हो । तर, नेपाली कांग्रेस आपैmँ गतिहीन भएको छ । ०४६ सालमा पुनस्र्थापित बहुदलीय व्यवस्था नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाकै हातबाट समाप्त गरिएको थियो । नेपाली कांग्रेसको मूलधारको अगुवाइमा ०६३ सालमा फिर्ता गरियो । तर, कांग्रेस सभापति देउवा वर्तमान शासन व्यवस्थाप्रतिसमेत इमानदार छैनन् कि ? भन्ने शंका फेरी उत्पन्न भएको छ ।

प्रतिक्रिया