अष्ट्रेलियाविरुद्ध खेल्ने ३१ सदस्यीय टोली घोषणा

काठमाडौं । कतारमा हुने फिफा विश्वकप २०२२ को छनोट अन्तर्गत अष्ट्रेलियाविरुद्ध हुने खेलका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार तेस्रो चरणमा ३१ सदस्यीय टोली घोषणा गरेको छ । खेल चैत १७ गते दशरथ रंगशालामा हुनेछ । गत मंसिरमा विश्वकप छनोट खेललाई लक्षित गर्दै ५८ सदस्यीय टोलीको घोषणा गरेको थियो । त्यसपछि उक्त टोलीले तीन साता प्रशिक्षण गरेपछि १४ खेलाडी घटाउँदै ४३ खेलाडीको नाम दोस्रो चरणका लागि छनोट गरेको थियो । त्यसक्रममा चोट लागेका सुमन अर्याललाई भने फिट भएको अवस्थामा टोलीमा फर्काउने जानकारी एन्फाले दिएको थियो ।

शुक्रबार एन्फाले ३१ सदस्यीय टोली घोषणा गर्दा एन्फाले दोस्रो चरणबाट ३८ खेलाडीमात्र प्रशिक्षणमा रहेको जनायो । झन्डै ७ साता अवधिमा राष्ट्रिय टोलीले ३ साता पोखरामा रहेर प्रशिक्षण गरेको थियो । त्यसक्रममा मिडफिल्डर मिक्छेन तामाङ र पुजन उपरकोटी भने चोटका कारण बिचमा नै प्रशिक्षण छाड्न बाध्य भएका थिए । एन्फाले यसपटक घोषणा गरेको टोलीबाट अर्पण कार्की, सेसेहाङ आङदेम्बे, सरोज दाहाल, देवेन्द्र तामाङ, दिलेन लोक्तान, विकास तामाङ र सुवास गुरुङलाई बाहिर राखेको हो । देवेन्द्र र सुमन घाइते भएका कारण खेलका लागि फिट भएमा प्रशिक्षणमा सहभागी गराइने एन्फाले जनाएको छ । गोलरक्षक किरण चेम्जोङ र फरवार्ड अभिषेक रिजाल दुवै भारतको शीर्ष डिभिजन लिग, आइ–लिग खेल्न व्यस्त छन् । दुवै खेलाडी खेल हुनुभन्दा केहि दिन अघि मात्र नेपाल आइपुग्नेछन् । अब अन्तिम छनोटमा भने २३ खेलाडीको नाम रहनेछ ।

प्रशिक्षक बालगोपाल महर्जनले एउटा खेल स्थागित भएपनि टोलीको प्रशिक्षण योजना अनुसार नै अघि बढेको बताए । ‘हाम्रो प्रशिक्षण योजना अनुसार नै अघि बढेको छ । पोखरामा झन्डै तीन साता प्रशिक्षण राम्रो भयो । अब अन्तिम तयारी गर्न काठमाडौं फर्केका छौं,’ उनले भने । टोलीमा चोटको केहि समस्या रहेपनि विकल्पमा खेलाडी तयार रहेको महर्जनले बताए । ‘ अहिले टोलीमा प्रतिस्पर्धा एकदम बढेको छ । घाइते भएपनि अन्य खेलाडी उक्त स्थान लिन सक्षम छन् । घरेलु मैदानमा खेल भएकाले पनि हामी उच्च मनोबलका साथ खेल्नेछौं,’ उनले थपे ।

महर्जनले रोहित चन्दलाई यसपटक डिफेन्डरको रुपमा खेलाउने योजना रहेको बताए । ‘रोहित यसपटक डिफेन्डरकै भूमिकामा खेल्नेछन् । देवेन्द्र र अनन्त चोटका कारण संघर्ष गरिरहेका छन् । अनन्तको अब यो साता फर्कने सम्भावना छ । रोहितसँग खेल्न अन्य खेलाडी पनि तयार छन्,’ उनले भने ।

प्रतिक्रिया