कविता

               तेजविलास अधिकारी

भोका जहान खाना मागिरहेछन्
लोभी भान्से गन्गनाइरहेछ
तरकारी डढिसक्यो
भान्से चाख्न व्यस्त छ
पेट भरिभरि ।
सडककै छेऊमा श्रमिक
भोक र जाडोमा
डल्लिरहेछ
लाखौँ नौजवान बेरोजगार
रल्लिरहेछ
भान्से
सबैलाई दुश्मन देख्छ
सबैबाट भाग्न खोज्छ
र भन्छ
म शान्ति खोज्दैछु
र भन्छ
म कल्याण खोज्दैछु
आफ्ना र आफूलाई
आसेपासे र भोलिलाई
भान्से साँचिरहेछु
बाँढिरहेछ देखादेख
तथापि उसका विरुद्ध
बोल्नेलाई भन्छ ऊ
माग्नेहरू बदमास हुन्
भोकाहरू चोर हुन् ।

अनौठो छ दृष्टि
भान्सेको अनि लाग्छ
उसका विपक्षमा बोल्न
उसका विपक्षमा लेखन
खोज्दा खोज्दै कतै
उसको प्रहार
कतै कुनै बेला
आइपुग्ला कि
आखिर
नबोले पनि भोकै
हुने भएपछि
बोलेरै मर्ने
प्रतिवाद गर्ने
जसो होला
उराल्ने समवेत स्वर ।

प्रतिक्रिया