कोभ्याक्सले साढे २२ लाख डोज खोप दिने

काठमाडौं । विश्व स्वास्थ्य संगठनले नेपाललाई साढे २२ लाख डोज कोरोनाविरुद्धको खोप उपलब्ध गराउने भएको छ । कोभ्याक्स अन्तर्गत आउने २२ लाख ५६ हजार डोज खोप वितरणको सुरुवात फेब्रुअरी अन्तिमबाट सुरु गर्ने जनाएको छ । नेपालले अहिले प्रयोग गरिरहेको खोप नै कोभ्याक्सले उपलब्ध गराउन लागेको हो । कोभ्याक्सको अन्तरिम वितरण योजनाअन्तर्गत नेपालले अक्सफोर्ड र एस्ट्राजेनेकाले संयुक्तरुपमा विकास गरेको तथा भारतको सिरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिसिल्ड खोप प्राप्त गर्ने भएको छ । भारतको सहयोगमा पाएको १० लाख डोज खोप अहिले नेपालका स्वास्थ्यकर्मीले प्रयोग गरिरहेका छन् ।

कोभ्याक्सले बुधबार ‘अन्तरिम वितरण पूर्बानुमान’ शिर्षक राखेर जारी गरेको वक्तब्यमा १४० राष्ट्रलाई पहिलो चरण अन्तगर्त ३३ करोड ६० लाख खोप वितरण गर्ने जनाएको छ । कोभ्याक्सका अनुसार उक्त वितरण ब्यवस्था बमोजिम नेपालले उक्त मात्रामा खोप पाउने भएका हुन् । विश्व स्वास्थ्य संगठनको पहलमा यूरोपेली आयोग र फ्रान्सले स्थापना गरेको ‘वान वल्र्ड प्रोटेक्टेड’ कार्यक्रमको अङग कोभ्याक्स हो । कोरोना विरुद्धको खोपमा सबै राष्ट्रको पहुँचका लागि कोभ्याक्सले करिब २४ करोड खोप आष्ट्रा जेनिका र अक्सफोर्ड विश्वविद्यालयले उत्पादन गर्ने खोप खरिद गर्ने सम्झौता गरेको छ । उक्त खोप एशिया क्षेत्रमा भारतको सिरम इन्स्टिच्युटले आपूर्ति गर्दैछ । ‘ग्लोबल अलायन्स फर भ्याक्सिन एण्ड इम्युनाइजेशन’(गाभी)ले नौ करोड ६० लाख खोप आष्ट्राजेनेकासँग पूर्ब सहमति बमोजिम उपलब्ध गराउनेछन् ।

त्यसैगरी, कोभ्याक्स कार्यक्रम अन्तगर्त नै जर्मनीको बायोएनटेक र फाइजरले समेत खोप आपूर्ति गर्नेछ । उक्त खोपको परिमाण थोरै मात्रै रहेको छ । कोभ्याक्सले कोभिड १९ को जोखिममा रहेका विश्वका करिब तीन प्रतिशत जनसंख्यालाई ध्यानमा राखेर उक्त खोप कार्यक्रम चलाउने जनाएको छ । आगामी छ महिनाभित्रै सबै राष्ट्रमा पहिलो चरण अन्तगर्त तीन प्रतिशत जनसंख्यामा खोपको पहुँच हुने उसले उल्लेख गरेको छ ।

कोभ्याक्सको खोप अभियानमा कोरोना विरुद्धको खोप उपलब्ध गराउन आग्रह गरेको राष्ट्रलाई मात्रै उक्त अभियानमा सहभागी गराइनेछ । यसअघि नेपालमा माघ १४ गतेदेखि खोप अभियान सुरु भएको हो । पहिलो चरण अन्तगर्त जोखिममा रहेका तीन प्रतिशत जनसंख्यालाई पुग्ने गरी दश लाख खोप लगाइदैछ । उक्त खोपको पहिलो मात्र शुक्रबारसम्म दिइसक्ने योजनाछ । भारतको पुणेस्थित सिरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिशिल्ड खोप हाल लगाइएको छ । भारतले छ राष्ट्रलाई अनुदानमा उपलब्ध गराउने गरेको प्रतिबद्धता बमोजिम नेपालले दश लाख कोभिड १९ विरुद्धको खोप पाएको थियो । सो संस्था सन् २०२० को अप्रिलमा गठन भएको थियो ।

प्रतिक्रिया