‘सहिद’

हरि बस्ताकोटी

आउँदैन भूकम्प
गगनचुम्बी महलहरूलाई सोधेर
बाजा बजाएर आउँदैन
समुद्रमा सुनामी
बगैचाका फूलहरू सम्झेर
फर्कन्न चैतेहुरी
जनक्रान्तिको बिगुल फुक्ने
रक्तबीज हो सहिद
जो,मातृभूमिका निम्ति
निलेर तातो गोली
बाँचिरहने युगयुगसम्म…!!

जब जब
गरिबी र दुःखले आकाश छुन्छ
अन्याय र अत्याचारले सीमा नाघ्छ
नेपाली मन जल्छ जसै
अनि सल्किन्छ क्रान्तिको डढेलो
जहाँ इन्धन बनेर
रातो रगत दन्किन्छ दन्दनी
मन अनि मस्तिष्क नै
बिस्फोट हुन्छन् बारुद बनेर
अनि, बलिदान गर्न तयार हुन्छन्
शान्तिपुन्ज बुद्धहरू
धरतीपुत्र अमर सहिद बनेर…!!

‘सहिद’
एउटा युगीन सत्य
बरु मर्न तयार झुक्न नजान्ने
संस्कार दिएको जाने
राष्ट्रिय एकताका प्रतीक
इतिहासका स्वर्णिम माला
युद्धमैदानमा फुल्ने
रंगीबिरंगी फूलहरू…!!

बुलिङटार गाउँपालिका
(नवलपुर–गण्डकी प्रदेश)

 

प्रतिक्रिया