फुजी स्याउप्रति जुम्लाका किसान आकर्षित 

खलंगा । पछिल्लो समयमा खलंगाका किसान विदेशी फुजी स्याउप्रति आकर्षित भएका छन् । जिल्लामै उत्पादन हुने अर्गानिक जुम्ली स्याउभन्दा फुजी स्याउले राम्रो प्रतिफल दिने भएपछि जिल्लाका स्याउ किसान फुजी स्याउप्रति आकर्षित भएको जुम्ला एग्रो फर्मका सञ्चालक रेश्मा श्रेष्ठले जानकारी दिए ।

जिल्लामा फुजी स्याउखेती सफल भएसँगै जुम्ली एग्रो फर्म र हाम्रो सहकारी प्रालिले चार वर्षअघि १० वर्षका लागि चन्दननाथ मन्दिरको २० हजार वर्गमिटर क्षेत्रफल जग्गा भाडामा लिएर स्याउखेती सुरु गरेको थियो । सुरुआतमा ‘फुजी, गोल्डेन डेलिसियस, रेड चिप, गाला र जोर्डन गरी पाँच प्रकारका स्याउ लगाइएको उनले जानकारी दिए ।

जिल्लामा इटालियन फुजी जातको स्याउखेती सुरु भएको चार÷पाँच वर्ष भयो । फुजीखेती जुम्लामा सफल भएपछि स्थानीय किसान फुजी जातको स्याउखेतीमै आकर्षित भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ स्याउ सुपर जोन कार्यालयका कार्यालय प्रमुख नवराज भण्डारीले बताए ।

यस वर्ष जिल्लाको गुठीचौर गाउँपालिकाको गुठीचौर एग्रो फर्मले १ लाख ५० हजार वर्गमिटरमा ३० देखि ४० हजार फुजी स्याउको बिरुवा रोप्ने तयारी गरेको उनले जानकारी दिए । उनले भने, ‘तातोपानी गाउँपालिकाको हियाखोला गाउँका १ लाख ३० हजार वर्गमिटर क्षेत्रफलमा चार हजार फुजी जातको स्याउका बिरुवा रोप्ने तयारी रहेको छ ।’

स्याउखेतीमा कृषि कार्यालय र स्याउ सुपर जोनले बिरुवा र साना सिँचाइ घेरबारमा कार्यालयबाट किसानलाई अनुदान दिने स्याउ सुजरजोन कार्यालयले जनाएको छ । फुजी स्याउ प्रतिबिरुवा एक हजार, स्थानीय जातको स्याउको प्रतिबिरुवा ७० रुपैयाँ र ओखर प्रतिबिरुवा सात सय जिल्ला दररेट कायम गरेको छ । जिल्ला दररेट अनुसार किसानले प्रति बिरुवामा ५० प्रतिशत अनुदान प्राप्त गरेको परियोजनाले जनाएको छ ।

गुठीचौर एग्रो फर्मका सञ्चालक केसीबहादुर भण्डारीका अनुसार झण्डै १३ करोड लगानीमा फुजी जातको स्याउखेती गर्ने योजना रहेका जानकारी दिए । स्थानीयको जग्गामा २० वर्ष भाडामा लिएर फुजी स्याउखेती गर्न थालिएको उनले बताए । उनले भने, ‘स्याउखेतीका लागि भिरालो जमीनभन्दा समथरफाँट आवश्यक पर्ने भएकाले ५० प्रतिशत जमीन समथर बनाएको छ ।’ घेराबारको काम ८० प्रतिशत सम्पन्न भएको छ । फागुन–चैतमा सबै सम्पन्न गरी ३० देखि ४० हजार फुजी स्याउका बिरुवा रोप्ने तयारी अवस्थामा रहेको एग्रोफर्मका सञ्चालक भण्डारीले बताए । फुजी स्याउबाट आकर्षक आम्दानी भएपछि युवालाई पनि स्वरोजगार बनाउने उद्देश्यका साथ परियोजना सञ्चालन गर्न थालिएको एग्रोफर्मका सञ्चालक भण्डारीले बताए ।

जिल्लाभर १ सय १० वटा नर्सरीमध्ये ७५ नर्सरीले सक्रिय रूपमा स्याउका बिरुवा उत्पादन गरिएको सो परियोजनाले जनाएको छ । स्थानीय जातको स्याउका बिरुवा जिल्लामा सात लाख बिरुवा उत्पादन भए पनि स्याउ सुपरजोनको मापदण्डअनुसार ५० प्रतिशत बिरुवा काम नलाग्ने गुणस्तरहीन भेटिएको सुपरजोनका प्रमुखले जानकारी दिए ।

उनले भने, ‘गुणस्तरहीन बिरुवाले पाँच वर्षपछि किसानलाई घाटा हुने र किसान सचेत हुन आवश्यक छ ।’ जिल्लाभर ४ हजार ८ सय हेक्टरमा स्याउखेती थालिएकामा १ हजार ५ सय हेक्टरका स्याउले फल दिन कृषि विकास कार्यालयले जनाएको छ ।

प्रतिक्रिया