मतदाता नामावली अद्यावधिक गरिँदै

इलाम । आगामी वैशाख १७ र २७ गते तोकिएको प्रतिनिधिसभाको निर्वाचनको तयारी इलाममा पनि थालिएको छ । निर्वाचन आउन तीन महिना बाँकी रहँदा जिल्लामा मतदाता नामावली अद्यावधिक र मतदानस्थल तथा मतदान केन्द्रको अद्यावधिकमा जिल्ला निर्वाचन कार्यालय जुटेको छ । जसअन्तर्गत स्थानीय राजनीतिक दल, सुरक्षा निकाय, स्थानीय तहका जनप्रतिनिधिसँगको छलफललाई निरन्तरता दिइएको छ ।

मतदान केन्द्र तथा मतदानस्थल सिफारिस समितिको बैठकले इलाममा १० मतदान केन्द्र र आठ वटा नयाँ मतदानस्थल थप्न सिफारिस गरिएको छ । बैठकले सन्दकपुर गाउँपालिका–१ मा दुई, इलाम नगरपालिका–५ मा एक, माङसेबुङ गाउँपालिका–४ मा एक, रोङ गाउँपालिका–२ र ६ मा एक÷एक, फाकफोकथुम गाउँपालिका–४, ६ र ७ मा एक/एक मतदानस्थल थप गर्नका लागि निर्वाचन आयोगमा सिफारिस गरेको हो ।

त्यस्तै इलाम नगरपालिका–७ मा रहेको बाल मन्दिर आदर्श माविको मतदानस्थललाई महेन्द्ररत्न बहुमुखी क्याम्पसमा, वडा–९ को पोखरी प्राविको मतदानस्थललाई इलाम उच्च माविमा सार्ने प्रस्ताव गरेको छ । त्यस्तै, देउमाई नगरपालिका–२ को सिंहदेवी माविको मतदानस्थललाई रत्नबम प्रतिष्ठानको भवनमा र माङसेबुङ–१ स्थित गजुरमुखी महिला सहकारीको मतदानस्थललाई सोही वडा कार्यालयको भवनमा सार्ने गरी आयोगमा प्रस्ताव पठाएको निर्वाचन अधिकारी प्रेमकुमार काफ्लेले जानकारी दिए ।

निर्वाचनलाई लक्षित गरेर मतदाता नामावली अद्यावधिक गरिने भएको छ । १५ देखि २१ माघसम्म प्रत्येक स्थानीय तहमा मतदाता नामावली अद्यावधिक गरिने निर्वाचन अधिकारी काफ्लेले जानकारी दिए । मतदाता नामावली अद्यावधिकका लागि निर्वाचन आयोगले १५ माघमा मतदाता नामावली प्रकाशन गर्दैछ । नामावली सार्वजनिक भएपछि मतदाताले आफ्नो नामावली हुने, त्रुटी भए सच्याउने, दोहोरो परेको र मृत्यु भएकाको नामावली हटाउने, बसाइँसराइ र विवाह गरेर अन्त्य गएकाको हटाउने काम हुन्छ ।

विवाह र बसाइँसराइ गएकाले एक ठाउँमा भएको नामावली हटाए पनि अर्को ठाउँमा भने नयाँ नाम दर्ता गराउन सक्दैनन् । यसो गर्दा मतदान गर्ने अधिकारबाट वञ्चित हुने भन्दै जिल्लास्थित सरोकारवालाले निर्वाचन कार्यालयलाई ध्यान दिन आग्रह गरेका छन् । निर्वाचन कार्यालयका अनुसार आगामी निर्वाचनमा २०७७ साल पुस ५ गतेसम्म मतदाता नामावलीमा विवरण टिपाएका १८ वर्ष पुगेका नागरिकले मतदान गर्न पाउने भएका छन् ।

यसअघि २०७४ सालको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा २ लाख ४ हजार ५४ जना मतदाता थिए । गएको पुस मसान्तसम्ममा मतदाताको संख्या थपिएर दुई लाख १४ हजार ८ सय ३६ पुगको छ । करिब तीन वर्षमा १० हजार ७ सय ८२ मतदाता थपिए पनि मतदाता अद्यावधिक हुँदा केही संख्या कम हुनसक्छ । मतदाता अद्यावधिक गर्न प्रत्येक स्थानीय तहकामा एक÷एक जना कर्मचारी परिचालन भइसकेको छ । मतदाता नामावली अद्यावधिकपछि मतदाताको अन्तिम नामावली प्रकाशन हुनेछ ।

प्रतिक्रिया