शेयर बजारको कारोबारमा नयाँ रेकर्ड : झण्डै १० अर्ब रुपैयाँकाे किनबेच

काठमाडाैं । शेयर कारोबार रकममा नयाँ रेकर्ड बनेको छ । बिहीवार दुई सय नौ कम्पनीका दुई करोड २१ लाख कित्ता शेयर नौ अर्ब ८९ करोड ८४ लाख रुपैयाँमा कारोबार भएका छन् । यो रकम नेपालको शेयर बजारको इतिहासमा अहिलेसम्मकै धेरै हो । यसअघि सर्वाधिक नौ अर्ब ३७ करोड रुपैयाँको कारोबार भएको थियो ।

कारोबार रकमले रेकर्ड तोडे पनि नेप्से बिहीवार साढे १६ अङ्कले घटेको छ । नेप्से १६ दशमलव ५५ अङ्कले घटेर २४ सय २५ दशमलव २९ विन्दुमा झरेको छ । बिहीवार उत्पादन, माइक्रो फाइनान्स र निर्जीवन बीमाबाहेक अरू सबैजसो समूहको शेयर ओरालो लागेको छ । बैंक समूहको शेयर ४१ अङ्कले, होटलको २५ अङ्कले, विकास बैंकको ४३, जलविद्युतको २२, फाइनान्सको १८, अन्यको ११, जीवन बीमा समूहको शेयर ४२ अङ्कले घटेको छ ।

बिहीवार सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्सको ५७ करोड ८८ लाख रुपैयाँको शेयर किनबेच भएको छ । सिद्धार्थ इक्विटी फण्ड र हिमालय पार्टनरका शेयरधनीले सबैभन्दा धेरै ६ प्रतिशतभन्दा धेरै गुमाएका छन् । समग्र बजार घटे पनि सगरमाथा इन्स्योरेन्स र सूर्योदय लघुवित्तका लगानीकर्ताले भने १० प्रतिशत कमाएका छन् ।

प्रतिक्रिया