माछा मारेर दैनिकी चलाउनेले राहत लिँदा करोडौँ राजश्व छलीको मुद्दा

चरीकोट । दोलखाको तामाकोशी गाउँपालिका–१ भिरकोट तामाकोशी किनारमा बसोबास गर्ने माझी माछा मारेर घर व्यवाहर चलाउने गर्छन् । दोलखामा थोरै सङ्ख्यामा रहेका विपन्न समुदायका माझीको आम्दानीको स्रोत भनेकै तामाकोशी नदीमा माछा मारेर बेच्ने हो ।

भिरकोटको नदीकिरामा सामान्य दैनिकी चलाइरहेका लक्ष्मण माझीलाई एकाएक करोडौँ राजश्व छली गरेको आरोपमा अदालतबाट पत्र आएपछि माझी समुदायमा त्रास फैलिएको छ ।

व्यापार व्यवसाय कम्पनी प्यान केही जानकारी नभएको व्यक्तिलाई राजश्व छली गरेको भन्दै अदालतबाट पत्र आएपछि यतिबेला लक्ष्मण माझी चिन्तित भएका छन् भने समुदायमा चिन्ता परेको छ ।

विसं २०७२ को गोर्खा भूकम्पले दोलखाको अधिकांश घर ध्वस्त भएका थिए । त्यही क्रममा जिल्लामा राहत वितरणका लागि भन्दै विभिन्न व्यक्ति तथा संस्था गाउँगाउँ पुग्ने गरेको र सोही क्रममा लक्ष्मण माझीको तराई मुलका एकजना व्यक्तिसँग भेट भएको उनी बताउँछन् । विपन्न परिवारको माझी समुदायलाई उक्त व्यक्तिले राहत उपलब्ध गराई दिने भन्दै ठगी गरेको पाइएको छ ।

भूकम्प गएको एक वर्षपछि गाउँमा कपडा बेच्ने एक जनासँग भेट भएको र आफूलाई ‘तपाईंको घर ढलेछ’ राहत उपलब्ध गराई दिने र काठमाडौं आउनुस भनेको पीडित माझीले बताए । माझी उनकै सम्पर्कबाट राहत लिनका लागि भन्दै तीन पटकसम्म काठमाडौं पुगेको र राहत भन्दै पटकपटक गरेर रु ३६ हजार ५०० उक्त व्यक्तिले आफूलाई दिएको माझीले बताए ।

सोही क्रममा चिनजाननै नभएका व्यक्तिले त्यही बेला पहिलो पटक नागरिकताको फोटोकपी लिए । फोटो खिचेर, फोटो पनि लिए । दोस्रो र तेस्रो पटक विभिन्न कागज बनाएर आफूलाई सहीछाप गर्न लगाएको माझी सम्झन्छन् । भूकम्पले ध्वस्त बनेको घर निर्माणका लागि राहत पाउने आशमा सबै कागजमा सहिछाप गरेको पाइन्छ ।

उक्त सहीछाप गराउने व्यक्तिको नाम घर ठेगाना केही जानकारी नभएको र देखेमा अनुहार चिन्ने माझी बताउँछन् । उक्त व्यक्तिले लक्ष्मण माझीको नाममा कम्पनी बनाएर करोडौँको कारोवार गरेको देखिएको छ ।

कम्पनीको बारेमा जानकारी नै नभएका र कम्पनी रजिष्टारको कार्यालयसमेत नटेकेका माझीको नाममा राजश्व छली गरेको अभियोग छ । लक्ष्मणको नाममा दर्ता भएको कम्पनीको पान नम्बरबाट रु पाँच करोड २० लाख राजश्व छली भएको भन्दै राजश्व अनुसन्धान विभागले अदालतमा अभियोग पत्र दर्ता गरेको थियो ।

राजश्व अनुसन्धान आयोगले राजश्व छलीसम्बन्धी मुद्दामा उच्च अदालत पाटनले गत मङ्सिर १६ गतेको फैसलाअनुसार प्रतिवादी लक्ष्मणलाई आफ्नो प्रमाणसहित हाजिरीका लागि आह्वान गरेको छ ।

परिवारको नाममा दुई रोपनीसमेत जग्गा नभएका माझीको परिवारको नाममा एक्कासि अदालतबाट हाजिर हुन पत्र आएपछि आफूसमेत अचम्मित भएको गाउँपालिका अध्यक्ष ईश्वरचन्द्र पोखरेलले बताए । सोही ठाउँका दिनेश माझी, देवेन्द्र माझी, नारायण माझी, शरण माझीलगायत व्यक्तिबाट नागरिकता लगेको उनीहरुले बताएका छन् ।

गरिबी निवारणका लागि राहत ल्याउनका लागि नागरिकता दिन भन्दै मागेको र सर्लाहीको मलङ्गवा बोलाएर होटलमा तीन दिनसम्म राखेर फर्कने बेला ११ हजारका दरले दुई जनालाई खर्च दिएको अर्का पीडित वीरबहादुर माझीले बताए । उक्त व्यक्तिले काठमाडौं तथा तराईमा बोलाएर धेरै माझीको नागरिकता लगेको हुँदा अन्य माझीसमेत चिन्तित भएका छन् ।

राहत दिने भन्दै आफूहरु अपरिचित व्यक्तिबाट ठगिएको भन्दै माझीहरुले जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका छन् । आफूलाई राहातको आश्वासन दिएर ठगी गर्ने खोजी गरी लिन आग्रह गर्दै यतिबेला माझी ती व्यक्तिको खोजीमा लागेका छन् ।

प्रतिक्रिया