स्वस्थानीको महिमा

आजबाट श्रीस्वस्थानी व्रत आरम्भ हुँदैछ । सानो भूगोल, थोरै जनसंख्या तर धेरै जातजाति तथा भाषाभाषी भए पनि हाम्रो देश नेपालका धेरैजसो चाडपर्व तथा संस्कृतिहरू मौलिक छन् । तिनै मौलिक चाडपर्व तथा संस्कृतिमध्ये एक हो, ‘श्री स्वस्थानी व्रत ।’ हरेक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्मको अवधिलाई श्रीस्वस्थानी व्रतको अवधि मानिन्छ । श्रीस्वस्थानी व्रत स्वेच्छिक मानिन्छ । इच्छा हुनेले बस्ने, इच्छा हुँदाहुँदै पनि समय तथा स्वस्थ्य अनुकूल नभए नबस्दा हुने मान्यता छ । तैपनि व्रत बस्नेहरूको संख्या निकै धेरै हुने गर्छ । व्रत बस्न नसके पनि यो अवधिभर सके दैनिक श्रीस्वस्थानी महिमा तथा व्रतकथाको पुस्तक आफू पनि वाचन गर्ने र अरूलाई पनि सुनाउने, नसके पुस्तकको पूजा गर्ने परम्परा छ ।

स्वस्थानीको व्रत परम्परा नेपाली संस्कृतिको अभिन्न अंग कहिलेदेखि भयो ? भन्ने एकिन नभए पनि नेपालमा सबैभन्दा धेरै बिक्री हुने धार्मिक पुस्तकको सूचीमा श्रीस्वस्थानी व्रतकथाको पुस्तकले हरेक वर्ष रेकर्ड राख्दै आएको छ । यसैगरी नेपालका अधिकांश चाडपर्व तथा संस्कृति कुनै निश्चित जात तथा समुदायमा केन्द्रित छन् । अधिकांश चाडपर्व तथा संस्कृति भक्तिमार्गमा केन्द्रित छन्, तर स्वस्थानी व्रत यस्तो संस्कृति हो जो सबै जातजाति तथा भाषाभाषीसम्म पुगेको छ । ज्ञानमार्ग र भक्तिमार्गका हिसाबले निकै सशक्त छ । छोटो पुस्तकमा धेरै ज्ञान–गुणका कुरा उल्लेख गरिएको छ ।

देश र समाजलाई योगदान पु¥याउने संस्कार तथा परम्पराको जगेर्ना गर्दै जाने र रुढीवादी संस्कार तथा संस्कृतिलाई परिमार्जन गर्ने क्रम निरन्तर अघि बढ्दै आएको पाइन्छ । यस हिसाबले पनि स्वस्थानीको महिमा हरेक वर्ष बढ्दै गएको छ । नेपालीमा मात्रै होइन आधुनिक विज्ञानको विकाससँगै विश्वमै धार्मिक आस्था हराउँदै गएको छ । तर, श्रीस्वस्थानी व्रत बस्ने तथा पुस्तक पढ्नेहरूको संख्या भने उल्लेख्य बढेको देखिन्छ । पुस्तक पसल तथा प्रकाशकहरूको मात्रै कुरा होइन स्थलगत रूपमा नांगो आँखाले हेर्दा पनि स्पष्ट देखिन्छ । साँखुको शालिनदीमा २५ वर्षअघि कति भक्तालु पुग्थे ? अहिले कति पुग्छन् ? भनेर तुलना गर्ने हो भने सबै कुरा स्पष्ट हुन्छ ।

सबै जात, समुदाय र भूगोलका नेपालीलाई साझा संस्कृतिका माध्यमबाट जोड्न श्रीस्वस्थानीले जति योगदान पु¥याएको छ त्यसको तुलनामा यो संस्कृतिको जगेर्नाका लागि राज्यको तर्फबाट, राजनीतिकतहबाट र धर्मगुरुहरूबाट खासै योगदान मिलेको देखिन्न । संसदको पूर्ण बैठकमै सांसदहरूले श्रीस्वस्थानी पुस्तक च्यात्नुपर्ने प्रस्ताव राखेको समेत सुनियो । श्रीस्वस्थानी व्रत कथाले महिलालाई विभेद गरेको भन्दै क्रान्तिकारी भाषण गर्ने नेतृहरूको संख्या पनि हाम्रो मुलुकमा अझै छ ।

सयौं वर्षअघि नेवारी भाषामा हस्तलिखत रूपमा प्रकाशित श्रीस्वस्थानी व्रतकथाको पुस्तक नेपाली भाषा छापिएको पनि निकै वर्ष बितिसकेको छ, तर यसको अनुसन्धानमा न त राज्य पक्षले ध्यान दिएको छ न त धर्म गुरुहरूले चासो दिएका छन् । जनबोलीको भाषामा लेखिएका कारण श्रीस्वस्थानीको पुस्तकले पुरोहित तथा पण्डितहरूको पेसा व्यवसायमा खासै टेवा नपु¥याएकोले पनि वास्ता नगरिएको हुनसक्छ ।

प्रतिक्रिया