राष्ट्रिय महिला लिग फुटबल आर्मीविरुद्ध एपीएफको जित

काठमाडौं । त्रिभुवन आर्मी फुटबल क्लबमाथि जित हासिल गर्दै नेपाल एपिएफ क्लब राष्ट्रिय महिला लिगको शीर्षस्थानमा ४ अंकको अग्रता बनाउन सफल भएको छ । पहिलो हाफमा २ गोलको मदतले एपिएफ २–० ले विजयी भएको हो । खेलको पाँचौ मिनेटमा अनिता केसीको पेनाल्टी बक्सबाहिरको प्रहारलाई आर्मीकी गोलरक्षक अन्जना रानामगरले दोस्रो प्रयासमा बचाईन् । १५औं मिनेटमा सपना लामाको हेडर बाहिरिदा आर्मी अग्रता लिनबाट चुक्यो । २१औं मिनेटमा सावित्रा भण्डारीको प्रहारलाई आर्मीकी गोलरक्षक अन्जना रानामगरले सहजै बचाईन् ।

२७औं अन्जली योन्जनले गोल गर्दै एपिएफलाई १–० को अग्रता दिलाईन् । उनले सावित्राले मिलाईदिएको पासलाई डिबक्सभित्रबाट दोस्रो बारमा गोल गर्दा अन्जनाले रोक्ने कुनै अवसर नै पाइनन् । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा सरु लिम्बुले गोल गर्दै एपिएफको अग्रता दोब्बर पारिन् । सावित्राको पासमा सरुले पेनाल्टी क्षेत्र भित्रबाट उत्कृष्ट फिनिस गरिन् । पहिलो हाफमा केहि फितलो देखिएको आर्मीले दोस्रो हाफमा प्रदर्शन सुधार गरेपनि खेलमा फर्कन सकेन ।

७५औं मिनेटमा सपना लामाको पासमा रश्मि घिसिङको प्रहारलाई एपिएफकी गोलरक्षक एन्जिला तुम्बाप्पो सुब्बाले बचाउदा आर्मीले गोलअन्तर कम गर्न सकेन । दोस्रो हाफमा बल पोसेसनमा जोड दिएको एपिएफले आफ्नो अग्रता जोगाउन ध्यान दिएको थियो । एपिएफले ३ खेलमा लगातार तीन जितसहित ९ अंक जोडेको छ । आर्मीको भने ३ खेलमा १ जित, १ बराबरी र १ हारसँगै ४ अंक रहेको छ ।

पुलिसको अर्को बराबरी
राष्ट्रिय महिला लिगमा अर्को खेल बराबरीमा टुंगिएको छ । नेपाल पुलिस क्लब र वालिङ नगरपालिकाबीच मंगलबारको खेल १–१ को बराबरीमा टुंगिएको हो । खेलमा पछि परेको पुलिस बराबरी गर्न सफल भएको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा वालिङका लागि मेथो इलुडाइ रुथ र पुलिसका लागि रेखा पौडेलले गोल गरेका थिए । खेलको आठौ मिनेटमा मेथो इलुडाई रथले एक डिफेन्डरलाई बिट गर्दै गरेको प्रहार पुलिसकी गोलरक्षक उषानाथले सहजै नियन्त्रणमा लिइन् ।

२९औं मिनेटमा पुलिसकी रेखाले वान भर्सेस वानको अवस्थामा प्रहार गर्न ढिला गर्दा सरिश्मा थापाले गोललाईन नजिकै बाट क्लियर गर्दै बचाईन् । लगत्तै अमृता जैशीको फ्रिकिकलाई वालिङका गोलरक्षक सावित्री किसानले रोकिन् । ३०औं मिनेटमा वालिङकी कियोमेग्ने जोमो भेनेसा नोइलीको लामो पासलाई टोेउटा नोईलीले नियन्त्रणमा लिन नसकेपनि मेथो इलुडाईले गरेको प्रहारलाई अमृताले गोललाई नजिकबाट क्लियर गरिन् ।

५१औं मिनेटमा टोउटा नोईलीको पेनाल्टी बक्स बाहिरको प्रहार पोष्ट नजिकै बाहिरियो । ५३औं मिनेटमा मेथो ले एकल प्रयासमा गोल गर्दै वालिङलाई अगाडि बढाइन् । ६५औं मिनेटमा रेखाले गोल गर्दै खेललाई १–१ बराबरीमा पुर्याएकी थिइन् । अमृताको फ्रिकिकमा गोलरक्षक सावित्री अघि बढेको अवस्थामा रेखाले सहजै गोल गरिन् । तेस्रो खेलमा यो पुलिसको दोस्रो बराबरीमा हो । टोलीले पहिलो खेलमा अर्को विभागिय टोली त्रिभुवन आर्मी फुटबल क्लबसँग गोलरहित बराबरी खेलेको थियो ।

प्रतिक्रिया