कोरोनाविरुद्धको खोप अभियान आजबाट

काठमाडौं । नेपालमा आजबाट कोरोनाविरुद्धको खोप अभियान शुरु गरिदैछ । देशव्यापी रुपमा आयोजना हुने खोप अभियान अन्तर्गत पहिलो चरणमा ४ लाख ३० हजार जनाले लगाउने छन् । उनिहरुसबै फ्रन्टलाइनरमा खटिएका व्यक्ति रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । भारतमा ७० प्रतिशत प्रभावकारी देखिएको सो खोपका १० लाख डोज भारतले सहयोग बापत्त उपलब्ध गराएको हो । अभियानको प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाट भर्चुअल रूपमा शुरु गर्नेछन् । काठमाडौंका ११ अस्पतालबाट यो अभियान थालनी हुने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् । पहिलो खोप लगाउने निर्णय गर्ने अधिकार हरेक अस्पताललाई दिइएको छ । ११ वटा अस्पताल प्रत्यक्ष जुम विधिबाट जोडिनेछन् र एकैपटक खोप लगाउन थालिनेछ ।

प्रधानमन्त्रीले खोप अभियान शुरु गर्नुअघि राष्ट्रपति विद्यादेवी भण्डारीले पठाएको सन्देश पढ्नेछन् । अभियान शुभारम्भ भएलगत्तै देशभरका अस्पतालहरूबाट खोप लगाउन थालिने प्रवक्ता डा. गौतमले बताए । स्वास्थ्य सेवा विभागको खोप महाशाखा प्रमुख डा. झलक शर्मा गौतमले काठमाडौंका ११ वटा अस्पतालबाट एकैसाथ खोप अभियान शुरु गरिने जानकारी दिए । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, वीर अस्पताल, आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र अस्पताल कीर्तिपुर, पाटन अस्पताल, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल, त्रिवि शिक्षण अस्पताल, भक्तपुर अस्पताल, शहीद धर्मभक्त अंग प्रत्यारोपण केन्द्र, काठमाडौं मेडिकल कलेज, सशस्त्र प्रहरी अस्पताल र शहीद गंगालाल अस्पतालबाट एकैसाथ खोप अभियान शुरू हुनेछ ।

खोप अभियानमामा सात प्रदेश र काठमाडौं उपत्यकाका गरी ६२ वटा अस्पताल र ७७ जिल्लाका तीन सयभन्दा बढी केन्द्रबाट खोप अभियान शुरु हुनेछ । कोरोना भाइरसविरुद्धकको खोप लगाउँदा राज्यले नै उपचार गर्नेछ । त्यसका लागि विभिन्न अस्पतालमा उपचार व्यवस्था मिलाइएको मन्त्रालयका प्रवक्ता डा. गौतमले बताए । तर खोप लगाउनका लागि भर्नुपर्ने कार्डमा भने खोप लगाएर केही भएको खण्डमा स्वयं नै जिम्मेवार हुनुपर्ने उल्लेख गरिएको छ ।

‘नेपाल सरकारबाट कोभिड–१९ विरुद्धमा उपलब्ध भएको खोप मैले मेरो राजीखुशी लिएको छु र पछि कुनै भवितव्य परी केही भएमा कोही कसैलाई दोष नदिई म स्वयं जिम्मेवार हुनेछु’, खोप लिनेलाई विवरण भर्न दिइने खोप कार्डमा लेखिएको छ । मन्त्रालयले भने कुनै समस्या देखिएको खण्डमा राज्यले नै उपचार गर्ने जनाएको छ । खोप ऐन, २०७२ मा समेत खोप लगाएपछि हुनसक्ने अनपेक्षित घटनाको तत्काल अनुसन्धान गर्न अनपेक्षित घटना अनुसन्धान समिति रहने व्यवस्था गरिएको छ ।

खोप लिएको व्यक्तिको स्वास्थ्यमा गम्भीर असर परेको कुरा अनुसन्धान समितिले ठहर गरेमा सो खोप जुन निकाय वा संस्थाबाट दिइएको हो, सो निकाय वा संस्थाले उपचार गरी क्षतिपूर्तिसमेत दिनुपर्ने व्यवस्था छ । तर अहिलेको नेपालमा खोप उपलब्ध गराउने भारतीय कम्पनीले ‘कोभिशिल्ड’ले भने त्यसको जिम्मेवारी नलिने प्रष्ट पारेको छ । पहिलो चरणमा फ्रन्टलाइनरलाई लगाउँदा उनीहरूमा कुनै असर देखियो भने सम्बन्धित अस्पतालमै उपचार गर्ने गरी व्यवस्था मिलाइएको प्रवक्ता गौतमको भनाइ छ ।

खोपको शुभारम्भ समारोहमा सातै प्रदेशमा रहेका ६२ अस्पताल र १२० भन्दा बढी खोप केन्द्रबाट सूचीकृत व्यक्तिलाई एकै साथ खोप दिइने छ । यस्तै यही माघ १८ गतेभित्र ७७ जिल्लाका ३०० खोप केन्द्रमार्फत खोप प्रदान गरिने खोप शाखाको तयारी छ । स्वास्थ्य मन्त्रालयले पहिलो चरणको खोप अभियान शुरु गरेको १० दिनभित्र अभियान सम्पन्न गर्ने जनाएको छ ।

पहिले चरणमा फोहरमैला व्यवस्थापनमा खटिने फोहर संकलक तथा चालक, एम्बुलेन्स तथा शववाहन चालक र सहचालक, प्रत्यक्ष उपचारको सेवा दिने वा खोप व्यवस्थापनमा खटिने स्वास्थ्यकर्मी, खोप केन्द्र खटिने सुरक्षाकर्मी तथा स्वयंसेवक, शव व्यवस्थापनमा खटिने व्यक्ति, स्वास्थ्य स्वयंसेविका, अन्तर्राष्ट्रिय प्रवेशविन्दुमा कार्यरत स्वास्थ्यकर्मी र अन्य कर्मचारी, वृद्धाश्रमका व्यक्ति तथा हेरचाहमा खटिने कर्मचारी एवं कारागारका कैदी र सुरक्षाकर्मीलाई खोप दिइनेछ । नेपालमा अहिले कोभिड–१९ को संक्रमण दुई लाख ७० हजार ९२ जनामा देखिएको छ । संक्रमणबाट दुई हजार १७ जनाको निधन भइसकेको छ ।

प्रतिक्रिया